गायक महेश सेवाको गजल एल्बम सौगात विमोचित : नेपाली गजलको सङ्गीतमा एकरूपता आउन ठोस निर्णयमा आउनुपर्छ- मणिकमल छेत्री

खरसाङ, 26 नोभेम्बर


नेपाली साङ्गीतिक जगतमा नाम चलेको गायक महेश सेवाको गजल एल्बम सौगातको आइतबार तीनधारेमा विमोचन गरियो। सौगातमा गोविन्द फुँयालका पाँचवटा गजलहरू छन्। अमेरिका बस्ने फुँयालका गजलहरूमा स्वर दिएका हुन्, महेश सेवाले। सङ्गीत भने कर्म ग्याल्छेन बमजनले दिएका छन्।  राष्ट्रीय शिक्षक सम्मान प्रापक हरिप्रसाद छेत्रीको अध्यक्षता र वरिष्ठ सङ्गीतकार मणिकमल छेत्रीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा यही एल्बमको विमोचन गरिएको हो।

कार्यक्रममा विशिष्ट अतिथिको रूपमा सङ्गीतकार कर्म ग्याल्छेन बमजन, स्रष्टा विचन्द्र प्रधान, गायक थुप्देन भोटिया, कर्म शेर्पा, एबीएन च्यानलको मालिक विजय चामलिङ लगायत अन्यको उपस्थित थियो।

गायक महेश सेवाको भक्कानो, आलाप, रूमानी धुनलगायतको एल्बम चर्चित छन्। उनले चौथो एल्बमकोरूपमा सौगात बजारमा ल्याएका हुन्। तीनधारेमा नेपाली साङ्गीतिक क्षेत्रका वरिष्ठ व्यक्तिहरूका बीच सभाध्यक्ष हरिप्रसाद छेत्री, प्रमुख अतिथि सङ्गीतकार मणिकमल छेत्री,  सङ्गीतकार कर्म ग्याल्छेन बमजन, गायक महेश सेवा र तिनकी माता पूर्ण सेवाको बाहुलीबाट यो एल्बम लोकार्पण गरियो।

8 वर्षको उमेरमा तीनधारेको महात्मा गान्धी हलमा महेश सेवाले ‘तिमी नभए जिन्दगानी काँड़ासरी’ नामक गीत गाएर साङ्गीतिक संसारमा छिरेका थिए। सङ्गीत संसारमा नाम कमाए। क्षेत्रलाई विश्वमा चिनाए। चौथो एल्बम सौगात फेरि त्यही मञ्च जहाँ पहिलोपल्ट मञ्च चढेका थिए, त्यहीँ चौथो  एल्बम लोकार्पण गर्दा सेवालाई निक्कै हर्षित देखिन्थ्यो।

युवराज सुन्दासले सञ्चालन गरेको कार्यक्रममा स्वागत वक्तव्य आयोजक समितिको संयोजक सुप्रेम छेत्रीले राखेका थिए। यस कार्यक्रम विशेषगरी साङ्गीतिक बनेको थियो। साहित्य र सङ्गीतका स्रष्टा एंव सर्जकहरू भएको तीनधारेको भूमिमा आजको कार्यक्रम सङ्गीतमय बनेको थियो। कार्यक्रममा म्युजिक तीनधारेको साङ्गीतिक प्रस्तुतिमाझ गायकहरू राकेश लामा, बरूण रसाईली, कर्म मोक्तान, सन्तोष लामा र ऋषिका छेत्रीले आफ्नो गायन प्रस्तुती दिएका थिए।

सौगात विमोचन भएपछि यसबाट गायक महेश सेवाले दुइवटा गजल गायन पनि गरेका थिए। कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ सङ्गीतकार मणिकमल छेत्रीले धेरै गायक गायिकाहरूका लागि प्रेरणाको स्रोत बनिसकेका गायक महेश सेवाबाट साङ्गीतिक कोसेली यसरी नै आइरहोस् भन्दै तिनीबाट समाजले योगदान पाइरहेको होस् भनी कामना गरे।

उनले अघि भने-‘गजल नेपाली साङ्गीतिक क्षेत्रमा आएको बेसी भएको छैन, गजल लेखनमा अलिक बेसी भएपनि नेपाली गजलको सङ्गीतमा भने एकरूपता आएको छैन, नेपाली गजलको सङ्गीतमा एकरूपता आउन ठोस निर्णय आएको हुनुपर्छ।’
उनले गजल र सङ्गीत मनोरञ्जनको साधन मात्रै नभएर सबैको जीवनमा महत्वपूर्ण काम गरिरहेको हुन्छ भन्दै सङ्गीतको सुरहरूको उतार चढाउबिना भाषा मीठो नहुने बताए।  ‘सङ्गीतको सुरबिना नमीठो हुन्छ अनि लयबिना हामी केही गर्न सक्दैनौं,’ उनले भने। सङ्गीतकार छेत्रीले बिहान उठेकोदेखि सुतेकोसम्म सङ्गीतलाई अञ्जानमै सबैले प्रयोग गरिरहेका हुने ,सङ्गीत बिग्रँदा प्रलय हुने अर्थात् सुर र लयमा नगाउँदा प्रलय हुने भन्दै उनले सङ्गीत गहन विषय रहेको र सिकेर सकिने कुरा रहेको बताए।

कार्यक्रममा सौगात एल्बमको सङ्गीतकार कर्म ग्याल्छेन बमजनलाई आयोजक समिति तीनधारेको तर्फबाट सम्वर्द्धना पनि गरियो । यस अवसरमा सभाध्यक्षद्वारा खदार्पण अनि प्रमुख अतिथिद्वारा नेपाली टोपी अनि विशिष्ट अतिथि बिजय चामलिङद्वारा शल ओढ़ाएर सम्वर्द्धना पत्र प्रदान गरियो।

गायक एंव सङ्गीतकार कर्म ग्याल्छेनद्वारा कार्यक्रममा आफ्ना गायन प्रस्तुति पनि दिएका थिए। कार्यक्रममा विमोचित गजल एल्बम सौगातमाथि समालोचक एंव विश्लेषक बीपी बजगाईंद्वारा समीक्षात्मक टिप्पणी राखिएको थियो।

कार्यक्रममा धन्यवाद ज्ञापन गीतकार सुकुमार बराईलीले राखे। कार्यक्रममा प्रमोद गिरी, मनोज गिरी, बीपी बजगाईं, राजा पुनियानी, मनोज बोगटी, सुरज रोसुरी, कैलाश सुब्बा, शैलेन्द्र समदर्शी लगायत विभिन्न क्षेत्रबाट साहित्य र सङ्गीतका हस्तीहरू उपस्थित थिए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया