विनय तामाङ व्यक्ति मात्र हुन्, पहाडमा जनता त विमलसितै छन्-अहलुवालिया

सिलगढी, 26 नोभेम्बर


दार्जीलिङका सांसद एसएस अहलुवालिया केही दिन सिलगढी थिए। तर पहाड चढेनन्। भने, ‘आवश्यक परे चढ्छु दार्जीलिङ। म दार्जीलिङ नचढेको कारण त्यहाँ गणतन्त्र नभएर हो।’ चुनाउलाई केन्द्रमा राखेर अहलुवालियाले दार्जीलिङ पहाडबारे टिप्पणी पनि गरे।

उनीअनुसार पहाडका विनय तामाङ राजनैतिकरूपले कोही पनि होइनन्। तामाङ केवल जिटीएको विओए अध्यक्ष हुन्। पहाडका गोजमुमो नेता त विमल गुरुङ नै हुन्। विनय तामाङ व्यक्ति मात्र हुन्। उनीसित बङ्गालको पुलिस छ। त्यति नै हो। तर जनता त विमल गुरुङसितै छन्।

उनी त्यही जनतासित निरन्तर सम्पर्कमा रहको दाबी पनि गर्छन्। सिलगढीमा भाजपाको पथ यात्रा निस्किनेछ। त्यसको तयारीको लागि उनी सिलगढी आएका हुन्। यसैबीच पहाडबारे पनि उनले मत प्रकट गरे। उनीअनुसार पहाडका मानिसहरू उनलाई भेट्न आइरहेकै छन्। विनय तामाङ र बङ्गाल सरकारले पहाड पस्न नदिने अनेकौं प्रपञ्च गरेकोले उनी पहाड चढ्न नसकेको मात्रै हो। तर सही समयमा उनी पहाड चढ्ने नै छन्।

चुनाउकै सन्दर्भमा पनि अहलुवालिया स्पष्ट छन्, ‘पहाडमा जित्न विनय तामाङको खाँचो नै छैन। विमल गुरुङ काफी छन्। विनय तामाङसित न त जनता छन् न त उनी जनप्रिय छन्। जनतालाई भड्खालोमा हालेर बसेका मानिस हुन्। यस्ता मानिसहरूको खाँचो हामीलाई छैन।’

पहाडका भाजपा भूमिपुत्र उम्मेदवार चाहान्छ। तर अहलुवालियाको भनाई अर्कै छ। ‘देशमा जन्मिएका सबै त भूमिपुत्रै हुन्,’ भन्छन् उनी, ‘पहाडबासी भन्ने कुरा अर्कै कुरा हो। तर भाइचुइ भोटिया र महेन्द्र पी. लामाको नियति सबैलाई थाहा छ।’

विनय तामाङहरूले निरन्तर गरिरहेको आलोचनाबारे बोल्दै अहलुवालियाले विनय तामाङसित चुनाउ लड्ने क्षमता नरहेको बताए। ‘सक्छन् भने विनय तामाङ लोकसभा चुनाउमा उठुन्, र जितेर देखाउन्,’ भन्छन् अहलुवालिया।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया