अहलुवालियालाई मोर्चाले सोध्यो, खै सांसद कोष?

कालेबुङ, 26 नोभेम्बर


‘ठूल्ठूला परियोजनाहरूबारे हामी सोद्धैनौ। दार्जीलिङ सांसद एस. एस. आहलुवालियालाई हामी यही प्रश्न गर्छौ कि पाँच वर्षको सांसद कोष उनले कहाँ खनाए?’, गोजमुमो कालेबुङ जिल्ला प्रवक्ता भुवन पी. खनालले दार्जीलिङ सांसद अहलुवालियालाई यस्तो प्रश्न तेर्साए।

स्मरण गराइन्छ, दार्जीलिङ सांसद आहलुवालियाले हिजो सिलगढीबाट ‘पहाडका जनता विमल गुरुङसित छन्। विनय तामाङसित जनाधार छैन। उनले केवल पुलिसको भरमा राजनीति गरिरहेका छन्’, भनेका थिए। यसै वयानको प्रतिक्रिया स्वरूप आज एक पत्रकार सम्मेलन डाकेर पाँच वर्षको सांसद कोष सार्वजनिक गरिनुपर्ने माग गरेका हुन्।

खनाल अनुसार पहाड आउनुको भयले अहलुवालियाले विमलको पक्षमा बोलिरहेका छन्। यहीबाट सांसद आहलुवालिया र भाजपाको नीति स्पष्ट हुन्छ।

पहाडका जनताको मुद्दाको वकालत गर्छु भनेर दार्जीलिङ सांसद एस. एस. आहलुवालिया केवल टुरिस्ट भएर पहाड घुम्न आएको गोजयुमो सचिव अमिर वस्नेतले आरोप लगाए।

‘हाम्रो मान्छेको मृत्यु हुँदा सांसद ढिमिक्क देखा परेनन्,’ वस्नेतले भने, ‘सहानुभूतिको एक शब्द बोलेनन्। भारतको कतिपय राज्यमा सर्पले डसेर किसानको मृत्यु हुँदा समेत सांसद पुग्छन्। तर यहाँ दर्जनौं मान्छेको मृत्यु हुँदा मलामी समेत नआउने एमपी अहिले विमल गुरुङको पक्षमा बोलिरहेका छन्।’

उनले सांसद अहलुवालियालाई चुनौति दिँदै भने, ‘यदि अहलुवालियाले आफ्नो पक्षमा जनता छ भन्ने लाग्छ भने पहाड चढेर देखाउन्। उनी अहिले विमल गुरुङको पक्षमा बोलिरहेका छन्। तर विमल गुरुङहरू भूमिगत हुनुको कारण सांसद र भाजपाको मिसगाइड हो। भाजपा र सांसदले विमलहरूलाई सही गाइड गाइड गरिदिएको भए विमलहरू भूमिगत हुनपर्ने थिएन र आन्दोलन पनि टुङ्गोमा पुग्ने थियो।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया