पहाडमा त्यस्तो केही हुन्छ र?

पारदर्शी आँखा


 विनय तामाङले जीटीए-2 सम्हालेदेखि नै पहाडमा पुलिस एट्रोसिटिस् बढ्न थालेको हो। विमल गुरुङ, रोशन गिरीहरूको भोटर लिस्टबाट नाम काट्नु, जुरन राईहरूलाई हतियार बोकेको आरोपमा पक्रिनु, पत्रकारहरूका घरमा पुलिस पस्नु,  शहीदको नाममा बत्ती बाल्न नपाउनु, जनसभा गर्न अनुमति नपाउनु, नेताहरूको घर कुड्की गर्नु, फेसबुकमा सत्ता विरुद्ध पोस्ट गर्नेहरूलाई मुद्दा हाल्नु जस्ता घटना यो भन्दाअघि कहिल्यै नभएको हो।


पुकार पारदर्शी


“निमा तामाङको घरको सामानले पो बनाउँछ क्या हो युनिभर्सिटी? लग्यो त जम्मै।”

जीटीए पूर्व सभासद् निमा तामाङको घर पुलिसले कुड्की गरे लगत्तै साहित्यकार सुवास सोताङको फेसबुक स्टाटस यस्तो आयो। एकातिर दार्जीलिङ आएर मुख्यमन्त्री ममता व्यानर्जीले स्टेट युनिभर्सिटीको शिलान्यास गर्नु र अर्कोतिर पुलिसले सोफा चौकी, भाँडा वर्तन, लुगाफाटादेखि दैलो-खिड्की भत्काएर निमा तामाङको घर कुड्की लाएपछि सुवास सोताङको यस्तो स्टाटस आउनु सान्दर्भिक थियो। हुन पनि निमा तामाङको घरको टेबल-चौकी, लुगा-फाटा, फ्रिज, बिस्कुट, साबुन, टुथ ब्रस धरि पुलिसले लगेको पहाडको राजनैतिक इतिहासमा पहिलो घटना हो यो।

गुण्डागिरी शासन

विनय तामाङले जीटीए-2 सम्हालेदेखि नै पहाडमा पुलिस एट्रोसिटिस् बढ्न थालेको हो। विमल गुरुङ, रोशन गिरीहरूको भोटर लिस्टबाट नाम काट्नु, जुरन राईहरूलाई हतियार बोकेको आरोपमा पक्रिनु, पत्रकारहरूका घरमा पुलिस पस्नु,  शहीदको नाममा बत्ती बाल्न नपाउनु, जनसभा गर्न अनुमति नपाउनु, नेताहरूको घर कुड्की गर्नु, फेसबुकमा सत्ता विरुद्ध पोस्ट गर्नेहरूलाई मुद्दा हाल्नु जस्ता घटना यो भन्दाअघि कहिल्यै नभएको हो।

जनताको घर घर पुलिस गएर धम्काउने, यातना दिने काम त सामान्य भइसक्यो। ‘बरु विमल गुरुङको पालामा धेरै स्वतन्त्रता थियो, जे बोल्न नि पाइन्थ्यो’, अहिले यसै भन्ने गर्छन् कालेबुङका पत्रकारहरू। तर गुरूङको पालामा पनि कतिसम्मको स्वतन्त्रता थियो भन्ने कुरा मदन तामाङ हत्याकाण्डले स्पष्ट पार्छ।

पोहोर आन्दोलन अवधि 17 जुलाईको दिन दार्जीलिङमा सिआरपीएफको बुलेट लागेर तीनजना गोर्खा शहीद भएका थिए। यसवर्ष 17 जुलाई आउन केही दिनअघि गोजमुमो भूमिगत नेता विमल गुरुङले दियो बालेर शहीदहरूलाई श्रद्धाञ्जली अर्पण गरिदिने सबै गोर्खे सन्तानलाई अपिल गरे।

तर 17 जुलाई आउन तीन दिन अगावै दुवै जिल्लाका पुलिस प्रशासन सक्रिय रह्यो। ठाउँ-ठाउँमा ब्यारिकेट राखी प्रत्येक वाहन छानबिन गऱ्यो। विमल समर्थक कोही भेटिहाले पक्रिने उनीहरूको प्लान। जुन प्रयास असफल रह्यो।

राज्य चाहन्थ्यो, कोही विमल समर्थक नेता वा जनताले शहीदको नाममा ममबत्ती नबालून्। तर आखिर जनता जनता नै हुन्। शहीदहरूका नाममा ममबत्ती बाली छाडे। आ-आफ्ना घर अथवा कुनै सुरक्षित ठाउँमा।

राज्यले पुलिसलाई यसो गर्नु लाउनुको कारण हो, विमलले तानेको जनताको इमोसन दबाएर विमलको राजनैतिक पतन गर्नु। ताकि राज्यको विरुद्ध खडा भएर कहिल्यै उठ्न नसकोस् विमल गुरुङ। तर यसो हुन नदिने पक्षमा छन् धेर जनता।

राज्यले दिएको सुविधाहरूमा जनता सन्तुष्ट छैनन्। न कि राज्यले भन्दै गरेको शान्तिमा मुक्ति छ। यस्तो लाग्छ, शान्तिको ग्यास च्याम्बरभित्र थुनिएका छन् जनता। कोही कोही बोल्नै सकेका छैनन्। तर आखिर कहिलेसम्म?  यो सवालको जवाफ यही हो कि जनताले भोगिरहेको राजनैतिक उकुसमुकुस एक दिन जनता आफैले तोड्नेछन्। किनकि गणतान्त्रिक देशमा अन्तिम शक्ति भनेको जनता नै हुन्।

कमजोर प्रतिपक्षी

विनय तामाङ भनेको जून हुन्। जसले आफ्नै परिवारलाई पनि एक खिड्की उज्यालो बाँड्न राज्यलाई सोध्नुपर्छ। यस्ता नैतिक रूपमा गरिब नेताबाट पहाडले मूल्यवान् वस्तुको अपेक्षा राख्नु मूर्खता हुनेछ।

खासमा प्रतिपक्षीहरू उति बेलै बलियो भइदिएको भए, सचेत भइदिएको भए विनय तामाङहरूले मनपरी गर्ने थिएनन्। प्रतिपक्षी अर्थात् प्रतिपक्षी राजनैतिक दलहरू त हो नै, त्यसबाहेक सिभिल सोसाइटी, पत्रकार, सङ्घ संस्था, बुद्धिजीवी, सचेत जनता पनि कमजोर भइदिए। प्रतिपक्षीहरूले अब पनि विनयहरूको मनपरी विरुद्ध औँला उठाउन सकेनन् भने श्वास फेर्न हम्मे पर्नेछ पहाडमा। यस कारण प्रतिपक्षी समयमै सचेत बनून।

बगमफुसे विकास

विनयको पालामा स्टेट युनिभर्सिटी आयो। विकासको बाटोमा यो एउटा राम्रो पक्ष हो। यो बाहेक उनले भनिरहेको अरू विकास त बगमफुसे कुरा हुन्। व्यवस्था चलाएर बसेपछि विकास गर्नु त उनको दायित्वभित्रको कुरा हो। उनले भन्ने गरेको विकास त सत्ताका खेलाडीको सानो समूहलाई धनी बनाउने र ठेकेदारहरूको ठुलो समूहलाई पाल्ने प्रक्रिया मात्रै हो। किनकि मनबाट विनयसित धेरजसो जनता छैनन्। जनता बटुल्न उनले पैसाको खोलो बगाउनैपर्ने हुन्छ।

खासमा विनय तामाङसित विकास गर्ने निश्चित दर्शन र सिद्धान्त नै छैन। बगमफुसे विकासको कुरा गर्ने सत्तालोभी सबै पार्टीहरू यस्तै हुन्छ। राजनैतिक विश्लेषक युग पाठकको शब्दमा “कोपिला फक्रेर फुल बनिने प्रक्रियालाई विकास भनिने हो। समाजको विकास पनि यस्तै अर्ग्यानिक प्रक्रिया हो। जसको आयाम जनतातिर फर्केको हुन्छ।”

समाज बनिने भनेको मान्छेहरूको अन्तर्सम्बन्धले हो। जुन समाजको विकास प्रक्रिया मान्छेभित्रैबाट निर्माण हुन्छ। मान्छे-मान्छेबिचको आत्मीय सम्बन्ध, श्रमको उपयोग गर्ने रचनात्मक ज्ञानको विकास चाहिँ वास्तवमा अर्ग्यानिक विकास हो। मान्छेको अगाडी विकल्प होस्, जीवन बाँच्न आशा जगाउने, शिक्षित हुने र न्यूनतम जीवन स्तरमा चाहिने कुरा लिएर बाँच्ने प्रक्रिया विकासको मर्म हो।

खै जीटीएमा विकासको यस्तो दर्शन? पहिला पहाड जस्तोथियो, अहिले पनि उस्तै छ। पहाडमा विकासको सम्भावनाहरू के के छ र रोजगारको अवसरहरूको निर्माण कसरी गर्न सकिन्छ भन्ने ज्ञान समेत नभएका विकासविद् विनय तामाङले विकास भनेर कुन विकासको कुरो गरिरहेका हुन्? अर्ग्यानिक विकासको दर्शन निश्चित नगरी विकासको हावासिङ सपना जीटीएले नदेखाउन्। बरु ठेकेदारहरू उकास्ने पुँजी जनतालाई दिनु, विकास जनता आफैले गरिहाल्छन्।

चुनावी मन्थन

19 सितम्बर 2018 को दिन जीटीएको मियाद सकियो। गत वर्ष आन्दोलनको कारण जीटीएको चुनाउ गराउन नसकेपछि राज्यले जीटीएको मियाद 6 महिना बढाएर विनय तामाङलाई चेयरमेन पदमा नियुक्त गरेको थियो। पहिलो मियाद सकिएपछि राज्यले दोस्रो चोटी मियाद बढाएको थियो। जुन मियाद 19 सितम्बरमा समाप्त भएको हो।

यो प्रक्रियालाई पहाडको विपक्ष दलहरूले गैरकानुनीको संज्ञा दिँदै विधानसभामा ऐन संशोधन गरिए मात्रै जीटीएको मियाद बढाउन सकिने कुरा गरिरहेका छन्।

किन बढायो त जीटीएको मियाद?

जीटीएको चुनाउ गराउनुको सट्टा राज्यले मियाद बढाउनुको एउटै कारण हुनसक्छ, कि विनयहरूसित जनाधार छैन। राज्यसित मिल्ने भनेको विनयहरू नै हुन्। यस कारण जीटीएको चुनाउ गराइए विनयहरू सजिलै चौकीबाट उछिटिनेछन्। र राज्यलाई शून्य हात लाग्नेछ।

 2019 – को हावा

नजिकै छ लोकसभा चुनाउ। एउटा सांसद सिटका निम्ति राजनैतिक खिचडी पाक्न सुरु भइसकेको छ पहाडमा। यसपालि भाजपाले 11 वटा जनजातिको मुद्दा र टिएमसीले विकासको मुद्दामा गोटी फ्याँक्ने सम्भावना छ।

चुनाउअघि विमल गुरुङलाई पहाड भित्र्याउने दाउमा छ भाजपा। भाजपासित पहाड रिसाएको छ र उतैबाट उम्मेद्वार पठाइए एउटै सिट पनि गुमाइनेछ भन्ने बुझिसकेको भाजपाले विमल गुरुङलाई नै गोटी बनाउन सक्छ भन्ने अडकल सायदै खेर नजाला। अर्कोतिर टिएमसीले डा. पी. डी. भोटियालाई टिकट दिने हल्ला छ।

सोसियल मिडियामा अहिलेसम्म गाली खाइरहेका विनय तामाङले जस्तै कसरतले पनि विजय बात लाग्दैन भन्ने बुझिसकेपछि कङ्ग्रेसले मोर्चासित सहयोगको बात बढाए चुनाउमा सघाउने भनिसके।

यद्यपि मोर्चाले कसलाई प्रार्थीको रूपमा खडा गर्ने भन्नेमा मुख फोरिहालेका छैन। हिल कङ्ग्रेसले आफ्नै उम्मेद्वार दिने घोषणै गरिसक्यो। कालेबुङ कृषक कल्याण सङ्गठन पनि चुनाउमा होमिने भन्दैछ। जन आन्दोलन पार्टी त चुनावी कसरतमा लागि परेको देखिँदैछ नै।

निष्कर्ष

चुनाउ जो कोहीले लड्नै सक्छन्। चाहे त्यो दलीय होस वा निर्दलीय प्रार्थी। संसदीय राजनीतिको चौकीमा यसपालि जनताले यस्तो भूमि पुत्र उम्मेद्वार रुचाउनुपर्ने, जसले संसदमा पहाडको दीर्घमियादी मुद्दा मात्रै उठाउन सक्छन्। खासमा चुनाव र जनप्रतिनिधिले मात्र कुनै ठोस समाधान ल्याउनु सक्दैन।

इमानदार दिगो रहने प्रार्थी छानेर संसद् पठाइयो भने केही हदसम्म आवाज माथि पुग्नसक्छ। नत्र डम्बर चोक र चोक बजारबाट दिल्लीतिर फर्केर भुक्नु सिवाय अर्को विकल्प रहने छैन। बगमफुसे विकास र राष्ट्रियता उन्मुक्तिको देखावटीदेखि बाहिर गएर जनताले पनि सही अर्थमा यही चाहनाहरूलाई जित्न स्पष्ट विचार र सम्झौताहीन सङ्घर्षमा ओर्लिने अठोट लिनुपर्छ। त्यससित धेर किसिमले थिचिएका जनताका आवाज सुनिनेगरी चुनाउ हुनु यसपाली जरुरी छ। त्यस्तो केही हुन्छ र?

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया