विमल गुरुङ समर्थक बिरेन भुजेलको कोठामा पुलिसको छापा:  टिभी, टेबल र पलङ समेत लग्यो पुलिसले( हेर्नुहोस् भिडियोसितै)

कालेबुङ, 28 नोभेम्बर: अन्तत: आज शहीद वरूण भुजेलका भाइ बिरेन भुजेल बस्ने कोठा पनि पुलिसले खाली गऱ्यो। यहाँको इस्टमेन रोडमा अवस्थित बिरेन भुजेलको घर कुड्की गर्न पुगेको पुलिसले उक्त घर बिरेनको बाबु भरत भुजेलको नाममा रहेको भेट्टाएपछि जम्मै घर कुड्की गर्न सकेन। यद्यपि बिरेन सुत्ने कोठा भने खाली गऱ्यो। आज दिउँसो पुगेको पुलिसको एउटा टोलीले बिरेनको कोठाबाट टिभी, टेबल र पलङसमेत कुड्की गरेको छ।

अलग गोर्खाल्याण्ड आन्दोलनअवधि न्यायिक हिरासतमा मृत्यु भएका बरूण भुजेलका भाइ बिरेन भुजेल विमल गुरुङ समर्थित गोजमुमो कार्यकर्ता हुन्। आन्दोलनकालका विभिन्न मामिलाहरूमा धेरैवटा गैरजमानती मुद्दा लागेका विरेनलाई धेरै महिनादेखि पुलिसले खोजी गरिरहेको थियो। न्यायालयले आत्मसमर्पण गर्न बिरेनलाई नोटिस पठाएपनि उनले आत्मसमर्पण नगरेको कारण आज पुलिसले बिरेनको कोठामा छापा मारेर सर-सामानहरू कुढ्की गरेको पुलिस सूत्रले जनाएको छ। विगतको आन्दोलनदेखि भूमिगत बनेका विरेनविरूद्ध भारतीय दण्ड संहिताको धारा 147, 148, 149, 323, 324, 326, 307, 427, 506 अन्तर्गत मुद्दा दर्ता छ।

स्मरण गराइन्छ, विगतका आन्दोलनहरूलाई केन्द्र गर्दै विभिन्न गैरजमानती मुद्दा लागेका विमल गुरुङ अनि उनका नजिकका समर्थकहरूको खोजीसितै पुलिसले घरसमेत कुड्की गरिरहेको छ। यसअघि कालेबुङमा पूर्व सभासद् निमा तामाङको घर कुड्की गरिएको थियो भने आज बिरेन भुजेलको सम्पत्ति कुड्की गरेको हो।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया