बल्लबल्ल शान्त भएको पहाडमा जिटिए चुनाउले अशान्ति गर्छ, चुनाउ हुनुहुँदैन : मन घिसिङ

‘भाजपाले पहाडका जनतासित विश्वासघात गरेको छ। भाजपासित पहाड रिसाएको छ। फकाउनु हो भने संसदमा गोर्खाल्याण्डको बिल पारित गर्नुपर्छ, लोकसभा चुनाउको घोषणा हुने वित्तिकै राष्ट्रीय दलहरू पहाड आउन थाल्छन्। हेरौं, पहाडबारे यी दलहरूले के के सोचेका रहेछन्। त्यसपछि कसो गर्नुपर्ने हो गरौंला।’


 

दार्जीलिङ, 29 नोभेम्बर


गोर्खा राष्ट्रिय मुक्ति मोर्चाको केन्द्रिय समिति भङ्ग गरिएको छ। तर हिजो पार्टी सञ्चालन कमिटी भने गठन गरिएको छ। सङ्गठन विस्तारको निम्ति नै यो सञ्चालन समिति बनाइएको गोरामुमोले बताएको छ।

‘पार्टीको चरित्रमा परिवर्तन आउनेछ। साङ्गाठानिकस्वरुपमा पनि फरक आउने छ,’

डा. जाकिर हुसैन रोडस्थित गोरामुमो केन्द्रिय कार्यालयमा पत्रकारहरूलाई सम्बोधन गर्दै गोरामुमो अध्यक्ष मन घिसिङले भने, ‘त्यही कारण नै यो सञ्चालन समिति बनाइएको हो।’

उनले बताएअनुसार यो समितिमा मन घिसिङ, केशव लामा, भीम सुब्बा, एनबी छेत्री, महेन्द्र छेत्री, पारस गुरुङ, वीएम लामा, भक्त जैरू, पीसी अग्रवाल, बिके राई, नीरज जिम्बा, अजय एडवर्ड, किशोर गुरुङ, एमजी सुब्बा, मौरिस कालीकोटे, निमा लामा, चुँड़ामणि खड्का छन्।

‘यही सञ्चालन समितिले नै केन्द्रिय समिति पनि बनाउनेछ,’ घिसिङले भने। यसैअवसरमा लोकसभा चुनाउबारे उनीहरूले चर्चा पनि गरे। आइतबार सञ्चालन समितिको बैठक हुने पनि उनले जनाएका छन्।

उनलाई पत्रकारहरूले जिटिए र लोकसभा चुनाउबारे विभिन्न प्रश्न गरेका थिए। ‘जिटिए त पहाडका जनताले खारेज गरिसकेको कुरा हो,’ उनले भने, ‘अघिल्लोपल्ट भएको आन्दोलनमा अहिले जिटिएको चौकीमा बसेका नेताहरूले जिटिएको दस्तावेज जलाएर जिटिए खारिज गरेका हुन्। त्यसबेला उनीहरूले भनेका थिए, जिटिए असंवैधानिक व्यवस्था हो।’

घिसिङले अचम्म पनि माने कि कसरी विनय तामाङ जिटिएको दस्तावेज जलाएर, जिटिएलाई असंवैधानिक भनेर पनि आज त्यसैको चौकीमा बस्न सकेका होलान्।

‘काम लाग्ने कुरा होइन भनेरै जनताले खारेज गरिसकेको व्यवस्था हो जिटिए,’ घिसिङले थपे, ‘चुनाउलाई लिएर मुख्यमन्त्री कार्यालयबाट कुनै नोटिस आएको छैन। 2017 मा पहाड अशान्त थियो। शान्त गर्न गोरामुमोले पनि भूमिका निभाएको थियो। जिटिए चुनाउले पहाडमा अशान्ति गर्छ, यो चुनाउ हुनुहुँदैन।’

भाजपाले झुटो आश्वासन दिएर गोर्खाल्याण्ड पक्षको भोटलाई दुरुपयोग गरेको अनि झुटो आश्वासनमा अल्झाएको भन्दै घिसिङले लोकसभा चुनाउमा भाजपालाई जनताले नरुचाउनेसमेत बताए।

‘भाजपाले पहाडका जनतासित विश्वासघात गरेको छ। भाजपासित पहाड रिसाएको छ। फकाउनु हो भने संसदमा गोर्खाल्याण्डको बिल पारित गर्नुपर्छ,’ उनले भने, ‘लोकसभा चुनाउको घोषणा हुने वित्तिकै राष्ट्रीय दलहरू पहाड आउन थाल्छन्। हेरौं, पहाडबारे यी दलहरूले के के सोचेका रहेछन्। त्यसपछि कसो गर्नुपर्ने हो गरौंला।’

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया