नथुला सीमा व्यापारको 12औं प्रकरण सम्पन्न : चिनियाँ प्रतिनिधिले राखे समय सीमा र आयत-निर्यात सूची बढाउऩे प्रस्ताव

गान्तोक, 29 नोभेम्बर।


भारत चीनबीच सिक्किमको 14,200 फिटको उॅंच्चाईमा रहेको नथुला भन्ज्याङबाट हुने सीमा व्यापारको 12औं वर्षको व्यापार आज विहीबार समाप्त भयो। हप्तामा चार दिन हुने सीमा व्यापार पछिल्लो वर्षहरूमा भन्दा यो वर्ष सुचारू रूपमा र वृहत रूपमा भएको थियो। पछिल्लो वर्श डोकलाम झमेलाले गर्दा हुन नसकेको व्यापार यो वर्षको शुरूआत महिनादेखि नै सुचारू रूपमा चलेको र यसलाई अझ विस्तार गर्नुपर्ने चिनिया सरकारको प्रतिनिधिहरूले आजको समापन कार्यक्रममा सुझाउ पनि दिएका छन्।

सिक्किम सरकारको उद्योग तथा वाणिज्य विभागका सचिव एसके प्रधानको नेतृत्व नथुला भन्ज्याङ पुगेका सिक्किम सरकारका अधिकारीहरूका टोलीसित चिनिया अधिकारीहरूको टोलीबीच नथुला गेटमा संक्षिप्त भलाकुसारीको क्रममा चिनिया पक्षले हप्तामा चार दिन हुने व्यापारको समय सीमा बढाइनु पर्ने साथै मई महिनादेखि नोभेम्बर महिनाको अन्तसम्म हुने व्यापारलाई पनि बढाइनुपर्ने माग राखेको उद्योग तथा वाणिज्य विभागका संयुक्त निदेशक एन.जसवंतले बताए। चिनिया प्रतिनिधिहरूले खुबै उत्साहपूर्वक आज समापन कार्यक्रममा सहभागी हुन आएर आफ्ना प्रस्तावहरू राखेको अनि आयात निर्यातको सामान सूची पनि समय सापेक्ष गरिनुपर्ने प्रस्ताव लिएर आएको उनले बताए।

सिक्किम सरकारको पक्षबाट चिनिया प्रतिनिधिहरूले राखेको सबै प्रस्तावलाई राज्य सरकारसित चर्चा गरेर केन्द्र सरकारमा पठाउने तथा यो विषय केन्द्र सरकारको परराष्ट्र नीतिसित सम्बन्धित भएकाले चिनिया प्रतिनिधिहरूलाई पनि आफ्नो राष्ट्रको तर्फबाट भारतलाई आवश्यक सुझाउ र प्रस्तावहरू पठाइदिने सिक्किमका प्रतिनिधि अधिकारीहरूले उनले जनाए।

यो वर्ष भारतको पक्षबाट सिक्किमे व्यापारीहरू लगभग 800 जनाले ट्रेड लाइसेन्स जारी गरेको जानकारी अतिरिक्त जिल्लापाल जेसी नामग्याले बताए।

पछिल्लो वर्षहरूमा झैं यो वर्ष सिक्किमे व्यापारीहरूले नै राम्रो निर्यात गर्न सफल भएको छ। गत अक्टोबर महिनासम्म आयात 2 करोड 76 लाख 98 हजार 90 रूपियॉं तथा निर्यातमा 37 करोड 50 लाख 38 हजार 654 रूपियॉंको व्यापार गरेका छन्। यद्यपि, नोभेम्बर महिनाको विस्तृत जानकारी आएको खण्डमा यो आंकडा बढ्ने छ। आधिकारिक रूपमा चलिरहेको वैध व्यापार करोडौं रूपियॉंमा भएको भए पनि अन्तरराष्ट्रिय स्तरमा हुने सीमा व्यापारमा अवैध तस्करीको पनि चाप बढ्न थालेको छ। जसको उदाहरण गत महिना नथुला घाटीमा चीन तर्फ लॉंदै गरेको समुद्री घोडाको सुकुटी 56 किलो जफत गरिएको घटनाले पुष्टि गर्दछ। अन्तरराष्ट्रिय सीमा व्यापारको विस्तारसितै अवैध तस्करीको घटनाहरूलाई पनि निगरानीमा लिन आवश्यक रहेको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया