राज्य सरकारले दार्जीलिङलाई आगोको भुप्रो बनाउने प्रयास गर्दैछ : विमल गुरुङ

आम नागरिकलाई केवल बोलेको, लेखेको आरोपमा पुलिसले फोन गरेर, धम्काएर राज्य प्रायोजित आतङ्क फैल्याउने काम हुँदैछ। पुलिसले पहाड, तराई अनि डुवर्समा गणतन्त्रलाई मारेर राज्यको सत्तारूढ़ पार्टीको क्याडरको काम गर्दैछ, आम नागरिकका सम्वैधानिक मौलिक अधिकारहरू सबै खोसिएका छन्। मैले पहाड विस्तारै आगोको भुप्रोमा परिणत हुने प्रबल सम्भावना देखिरहेको छु।’


दार्जीलिङ, 30 नोभेम्बर


गोजमुमो अध्यक्ष विमल गुरुङले पुलिसको अत्याचारले सिमा नाघेको बताएका छन्। उनले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘शहीदको बरुण भुजेलको घर समेत कुड्की गऱ्यो। मानवताको हत्या भयो, अन्याय र अत्याचारले सीमा नाघ्यो। भारत सङ्घीय राज्य समुहले बनेको देश हो। राष्ट्रप्रेम भएको कुनै पनि राज्य तथा देशवासीले भारतको सङ्घीयतालाई तोड्न चाहँदैन अनि आफ्नै राष्ट्रको विरुद्धमा शत्रु देशहरूको निम्ति आफ्नो माटोलाई उर्वर कसैले बनाउँदैन। तर कोर्टको आदेशको आडमा कानुनलाई कुल्चिएर जुन प्रकारले दार्जीलिङ पहाडमा जनभावनालाई दबाउने प्रयास राज्यले गर्दैछ, त्यसले दार्जीलिङलाई विस्तारै आगोको भुप्रो बनाउँदैछ।’

गुरुङले जसरी काश्मिरलाई अन्तर्राष्ट्रिय स्तरमा भारतको शत्रुले रणभूमि बनाउने प्रयास गर्दैछ, त्यो भोलि पहाडमा हुँदैन भन्न सकिँदैन’ भनेका छन्।

उनले अझ भनेका छन्, ‘मेरा  सभासद निमा तामाङ, प्रकाश गुरुङ,  समीर सुब्बा अनि शहीद बरुण भुजेलको घर कुड्की गरेर परिवारको सदस्य समेतलाई सजायको भागिदार बनाउनु, नानीको लिटोदेखि घरको बहुमूल्य सबै सामानहरू लानु, लगेको सामानहरूको सही सीजर लिस्ट नबनाउनु, घर तोडफोड गर्नु आदि संसारमा कहीं पनि नभएको कानुन हो।’

गुरुङअनुसार आज देशबाट फरार खतरनाक आरोपीहरूको समेतको परिवारको घरहरू यसरी कुड्की गर्ने, तोडफोड गर्ने, सम्पत्ति सबै लाने काम भएको छैन। यस्ता धेरै मामिला भारतको सर्वोच्च अदालतमा लम्बित छन्, तर बङ्गालमा जस्तो अदालती आदेश आएको छैन।

उनीअनुसार बिरामी स्वास्नीलाई अस्पतालमा भेट्न जाँदै गरेको मान्छेलाई पुलिसले पक्राउ गरेर उसको हातमा अवैध हतियार आफै राखिदिएर मुद्दा लगाउनु जस्ता घटनाहरू पहाड, तराई अनि डुवर्समा आम भएका छन्।

‘आम नागरिकलाई केवल बोलेको, लेखेको आरोपमा पुलिसले फोन गरेर, धम्काएर राज्य प्रायोजित आतङ्क फैल्याउने काम हुँदैछ। पुलिसले पहाड, तराई अनि डुवर्समा गणतन्त्रलाई मारेर राज्यको सत्तारूढ़ पार्टीको क्याडरको काम गर्दैछ,’ गुरुङले भनेका छन्, ‘आम नागरिकका सम्वैधानिक मौलिक अधिकारहरू सबै खोसिएका छन्। मैले पहाड विस्तारै आगोको भुप्रोमा परिणत हुने प्रबल सम्भावना देखिरहेको छु।’

यता राज्यको बङ्गलादेशी अनुप्रवेशकारीसँगको लगाव रहेको अनि आफ्नै देशको नागरिकसँग गरिएको अनैतिक व्यवहारले राज्यको सत्तारूढ़ पार्टीको साँठगाँठ विदेशी शक्तिसँग पनि हुनसक्ने सम्भावनालाई वर्तमान गतिविधिहरूले झनै गहिरो बनाइरहेको पनि गुरुङले बताएका छन्।

‘पहाड, तराई अनि डुवर्स चार-चारवटा अन्तर्राष्ट्रिय सीमानाले घेरिएको चिकन नेक क्षेत्र हो अनि यहाँ पुलिस अत्याचारको विरोधमा हिंसा फैलिए त्यसले राष्ट्रको हfत पटक्कै गर्दैन। यसैले पानीले शीर छोपीसक्यो,’  उनले भनेका छन्, ‘अब केन्द्र सरकारले यसमाथि विचार गरेर संविधानको धारा ३५२ देखि ३६० अन्तर्गत राष्ट्रिय सुरक्षाको हीतमा एक्शन लिने समय आएको छ।  म, बिमल गुरुङ, पहाडका जनतालाई सूर्य उदाउनेछ भन्ने वचन दिँदै राज्यको उक्साईमा नलागेर शान्ति कायम राखिदिन अनुरोध गर्दछु।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया