खबरम्यागजिन, मनोज बोगटी, विमल खवास अनि प्रतिक रुम्बामाथि बन्दना राईले लगाइन मुद्दा : भनिन्- ‘खबरम्यागजिनले गर्दा मलाई दिल्लीमा मार्न सक्छ’ : मनोज बोगटीले भने-‘लेख छाप्दा अपराध हुन्छ भने जेल जान तयार छु’

  ‘त्यो लेख बहसको विषय थियो। हामीले सबै पक्षको विचारलाई प्राथमिकता दिनुपर्छ। विद्यार्थीहरूले लेखेको त्यो लेख धेरै अर्थमा गम्भीर छ। त्यसमा मुद्दा लगाउनुपर्ने, गाली गर्नुपर्ने त्यस्तै केही छैन। लेखमा पितृसत्तात्मक विचारधाराको कारण नै महिलाहरू असुरक्षित रहेको विषयको उठान गरिएको छ। बन्दना राईले त्यो सोचको पक्षमा वकालत गरेको लेखले उठाएको विषय हो।  यो त बहस गर्ने कुरा हो, मुद्दा लगाएको हो भने केही छैन, खबरम्यागजिन मुद्दा लड्न तयार छ। बन्दना राईले लेखेर त्यसको जवाब दिन सक्थिइन् तर त्यसो नगरेर मुद्दा हालिन्। उनी वैचारिकरूपले कति कमजोर छन् भन्ने कुरा यहीबाट बुझिन्छ, लेखकहरूको नाम छाप्नु नछाप्नु ठूलो कुरा होइन। लेखले सम्प्रेषण गर्ने विचार र त्यसको गम्भीरता प्रमुख कुरा हो। खबरम्यागजिनले विचारशीलहरूको लेखलाई बढो प्राथमिकतासित छाप्छ। यो पनि त्यस्तै लेख हो। सबैले पढुन् र बुझुन्। कानूनीरूपमा खबरम्यागजिनले अपराध गरेको ठहरियो भने जेल जान म तयार छु।’


कालेबुङ, 30 नोभेम्बर


आफूलाई गोर्खाल्याण्ड एक्टिभिष्ट बताउने दिल्ली बस्ने बन्दना राईले खबरम्यागजिनडट कमलगायत यसका सम्पादक मनोज बोगटी, खबरम्यागजिनका पाठक विमल खवास अनि प्रतिक रुम्बामाथि दिल्लीको साकेत थानामा मुद्दा दर्ता गरेकी बताएकी छन्।

तीन महिनाअघि बन्दना राईले फेसबुकमा दिल्लीमा दार्जीलिङ पहाडका युवतीहरू राती मदमदिरा पिएर घुमेको अनि झगडा गरेको भन्दै एउटा लाइभ भिडियो अपलोड गरेकी थिइन्। दिल्ली पढ्न गएका र दिल्लीमा बसेर काम गरिरहेका दार्जीलिङका केही विद्यार्थीहरूले त्यसबारे प्रतिक्रिया गर्दै बन्दना राईको विचार निक्कै पतृसत्तात्मक रहेको र फर्मान सुनाउनभन्दा धेर गोर्खा महिलाहरूलाई दिल्लीमा सुरक्षितरूपले हिँड्डुल गर्ने परिस्थिति निर्माण गर्नुपर्ने सुझाव दिएको लेख खबरम्यागजिनलाई पठाइएको थियो।

त्यस लेखमा सबैको नाम हाल्न नसक्ने भएकोले विद्यार्थीहरूसितको सहमतिमा नै खबरम्यागजिनले सचेत जनता भनेर प्रतिक्रिया प्रकाशित गरेको थियो। खबरम्यागजिनलाई प्रतिक्रियाले बोकेको मुद्दा निक्कै संवेदनशील लागेकोले पनि यसलाई प्राथमिकतासित प्रकाशित गर्नुपर्छ भन्ने लागेको खबरम्यागजिनका सम्पादक मनोज बोगटीले बताएका छन्।

‘बन्दना राईका केही कुराहरू सही रहे पनि केही कुराहरूमा आपत्ति जनाइएको प्रतिक्रियाले समाजमा एउटा बहस निर्माण गरोस् र समस्याबारे कुनै सुनिश्चित निष्कर्ष निस्कियोस् भनेर त्यो लेख प्रकाशित गरेको हुँ,’ बोगटीले भने। खबरम्यागजिनमा प्रकाशित त्यही लेखले सामाजिक घृणा उत्पन्न गरेको भन्दै साकेत थानामा बन्दना राईले प्राथमिकी दर्ता गरेको बताइएको छ।

उक्त लेख प्रकाशित भएपछि लेखलाई आफ्नो फेसबुकमा सेयर गर्ने खबरम्यागजिनका पाठक विमल खवास अनि प्रतिक रुम्बाविरुद्ध पनि राईले थानामा प्राथमिकी दर्ता गरेकी हुन्।

‘खबरम्यागजिनले यस्तो कुरा छाप्यो, जुन कुरा मेरो मुटु हो, मुटु निकाल्यो भने के हुन्छ?,’ खबरम्यागजिनसित बोल्दै बन्दना राईले भनिन्, ‘खबरम्यागजिन त के यो म्याटर छाप्यो भने त म टाइम्स अफ इण्डियालाई पनि मुद्दा लगाउन सक्छु।’

राईले उक्त प्रतिक्रिया लेखले उनको प्रतिष्ठामा घात गरेको अनि लेखले सामाजिक घृणा र साम्प्रादायिक हिंसा उत्पन्न गरेको आरोप लगाएकी छन्। ‘त्यो लेखको कारण म दिल्लीमा असुरक्षित बनेकी छु,’ उनले भनिन्, ‘मलाई दिल्लीमा त्यो लेखको कारण मार्न पनि सक्छ।’ उनले आफूले भिडियोमा बोलेको कुरा हजारौं मानिसको सुरक्षाको विषय रहेको बताइन्।

‘लेख छापेर खबरम्यागजिनले दिल्लीमा नारीहरूमाथि हुने बलात्कार, हत्या र अपराधलाई बढावा दिएको छ। मनोज बोगटी, विमल खवास र प्रतिक रुम्बाले दिल्लीमा गोर्खाहरूमाथि हुने क्राइमको जिम्मावारी लिनुपर्छ,’ उनले अझ भनिन्,  ‘मेरो काम हो मान्छे बचाउनु। त्यो लेख निक्कै संवेदनशील कुरा हो, म राजनीतिमा आउँछु भनेर 10 वर्षदेखि मैले काम गरेको छैन। तर मलाई असुरक्षित हुनेगरी त्यो लेख खबरम्यागजिनले छापेको छ।’

उनले आफूले मुद्दा दर्ता गरेको अनि आरोपीहरू अब दिल्ली आएर मुद्दा लड्नुपर्ने पनि बताइन्। ‘कुरा अघि बढिसकेको छ। न्यायालय पुगिसकेको छ,’ उनले थपिन्, टयस अघि पनि धेरैलाई जेल पठाइसकेको छु। मैले मुद्दा हालिसकें अब उनीहरूले पनि दिल्लीमा वकिल राखुन्, लडुन्, जो गलत छ, उसले दण्ड पाउँछ। न्यायालयमा भेटौं।’

उनले आफू राजनीतिज्ञ नरहेको र समाजसेवी रहेको भन्दै त्यही काममा खबरम्यागजिनले खलल पुऱ्याएको आरोप पनि लगाइन्। ‘मनोज बोगटीले छाप्न अघि एकपल्ट मलाई सोध्न पर्थ्यो,’ उनले थपिन्,  ‘खाएको विख पो लाग्छ। मेरो कुरालाई तोडमोड गरिएको छ। उनीहरूको यो सोचको कारण दिल्लीमा मलाई थ्रेट छ। मलाई कसैले माऱ्यो भने?’

उनले कसैलाई पनि छोटो लूगा लगाउने निर्देश जारी नगरेको तर छोटो लुगा लगाएर आधारातमा रक्सी पिएर गोर्खा युवतीहरूलाई नहिँड्नु मात्र भनेको भन्दै यस मुद्दामा उचस्तरीय जाँच हुने र सबैसित अब न्यायालयमा नै भेट्ने बताइन्।

‘मैले ज्यान त्यागेर काम गरिरहेको छु। तर त्यो लेखले साम्प्रादायिक हिंसा उत्पन्न गरेको छ। मेरो ज्यान जोखिममा पारेको छ, बरु मुद्दा लड्छु, जो सही छ उसैले जित्छ’, उनले भनिन्, ‘मेरो त अघिपछि कोही छैनन्, सुर्ता पनि छैन। म गलत छु भने जेलमा हाल्दा पनि हुन्छ। म त लेखक हुँ, बरु जेल हाल्यो भने किताब पो लेख्छु।’

यता खबरम्यागजिनका सम्पादक मनोज बोगटीले भने, ‘त्यो लेख बहसको विषय थियो। हामीले सबै पक्षको विचारलाई प्राथमिकता दिनुपर्छ। विद्यार्थीहरूले लेखेको त्यो लेख धेरै अर्थमा गम्भीर छ। त्यसमा मुद्दा लगाउनुपर्ने, गाली गर्नुपर्ने त्यस्तै केही छैन। लेखमा पितृसत्तात्मक विचारधाराको कारण नै महिलाहरू असुरक्षित रहेको विषयको उठान गरिएको छ। बन्दना राईले त्यो सोचको पक्षमा वकालत गरेको लेखले उठाएको विषय हो।  यो त बहस गर्ने कुरा हो, मुद्दा लगाएको हो भने केही छैन, खबरम्यागजिन मुद्दा लड्न तयार छ।’

उनले समाजका अन्तरविरोधहरूलाई सतहमा ल्याउने र त्यसमाथि बहसको वातावरण बनाउने र उत्तम समाजको निर्माणको लागि खबरम्यागजिनले सबै विचारलाई बराबर ठाउँ दिने पनि बताए।

‘बन्दना राईले लेखेर त्यसको जवाब दिन सक्थिइन् तर त्यसो नगरेर मुद्दा हालिन्। उनी वैचारिकरूपले कति कमजोर छन् भन्ने कुरा यहीबाट बुझिन्छ,’ उनले भने, ‘लेखकहरूको नाम छाप्नु नछाप्नु ठूलो कुरा होइन। लेखले सम्प्रेषण गर्ने विचार र त्यसको गम्भीरता प्रमुख कुरा हो। खबरम्यागजिनले विचारशीलहरूको लेखलाई बढो प्राथमिकतासित छाप्छ। यो पनि त्यस्तै लेख हो। सबैले पढुन् र बुझुन्। कानूनीरूपमा खबरम्यागजिनले अपराध गरेको ठहरियो भने जेल जान म तयार छु।’

 

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया