शीतकालीन संसद सत्रमा जनजातिको बील ल्याए स्वागत गर्छौं,  झूटो आश्वासनमात्रै दिएको खण्डमा देशभरिका गोर्खाहरूलाई लिएर भाजपाविरूद्ध सड़कमा उत्रन्छौं- विनय तामाङ

दार्जीलिङ, 30 नोभेम्बर


11 वटा जातगोष्ठीलाई जनजातिको मान्यता प्रदान गर्ने मुद्दामा भाजपाले दार्जीलिङ पहाड़मा राजनैतिक रोटी सेक्ने घृणित कार्य नगरोस् भनी गोर्खा जनमुक्ति मोर्चा एकपल्ट फेरि चेतावनी दिएको छ। आरपी वाइबाहरूद्वारा आज फेरि केन्द्रिय जनजाति मन्त्रालयका मन्त्री जुअल ओरमलाई यस मुद्दालाई लिएर ज्ञापन चड़ाइएको प्रेस रिलिज  जारी गरिएको छ, जो पूर्णरूपमा विमल गुरूङ अनि भाजपाको राजनैतिक चलखेल रहेको विनय तामाङले जनाएका छन्।

‘जनजातिको मुद्दालाई सदनमा पेश गर्नुको लागि भाजपालाई अझै कतिवटा ज्ञापनहरू चढाउनुपर्ने हो भनी म भाजपालाई प्रश्न गर्न चाहन्छु। गोर्खाहरूलाई जनजातिको मान्यका प्रदान गर्ने वाचा भाजपाले धेरै अघि नै गरेको हो,’ तामाङले भनेका छन्, ‘प्रधानमन्त्री नरेन्द्र मोदी स्वंयले 2016 को विधानसभा चुनाउको समय सार्वजनिकरूपमा 11 वटा जातगोष्ठीलाई जनजातिको मान्यता प्रदान गर्ने वचन दिएका हुन्। तर प्रधानमन्त्रीले वचन दिएको 3 वर्ष नाघिसक्दा पनि अहिलेसम्म किन यसबारे केही पहल गरिएको छैन? यति लामो अवधिसम्म भाजपाले वचन पूरा गर्नुको साटो यस मुद्दालाई लिएर राजनैतिक रोटी सेक्ने काममात्रै गरिरहेका छन्?’

तामाङले चुनाउको समयमात्रै गोर्खाहरूको याद आउने भाजपाले यस मुद्दालाई पनि चुनाउको समयमात्रै चर्चामा ल्याउनु अति खेदजनक कुरो रहेको बताएका छन्। ‘गोर्खाहरूको विश्वास अनि जनभावनालाई चुनावी मुद्दा बनाएर गोर्खाहरूलाई विश्वासघात गर्ने भाजपालाई कुनै अधिकार छैन,’ उनले भनेका छन्, ‘भाजपा नेताहरूमा यदि कुनै नैतिकता रहेको छ भने यस मुद्दालाई चुनावी व्यापार नबनाएर यथाशीघ्र सदनमा बील पेश गरून्।’

उनले गोर्खाहरू अब भाजपाको झूटो आश्वासन एवं राजनैतिक मायाजालमा कदापि नफसिँने बताउँदै भाजपाले अविलम्ब जनजातिको मुद्दालाई सदनमा पेश गर्नुपर्ने अन्यथा गोर्खा जनमुक्ति मोर्चा देशभरिका गोर्खाहरूलाई लिएर सड़क आन्दोलनमा उत्रिनु बाध्य हुने पनि तामाङले बताएका छन्।

‘आरपी वाईबाहरूलाई पनि उक्त राजनैतिक नाटक बन्द गरेर भाजपालाई 11 जनजातिको मुद्दामा यथाशीघ्र पहल शुरू गर्न दबाउ दिने हामी सुझाउ दिँदछौं,’ तामाङले भनेका छन्, ‘विमल गुरूङ अनि भाजपाले हरेक चुनाउमा देखाउने गरेको राजनैतिक नाटकको स्क्रीप्ट जनताले सबै पढ़िसकेका छन्। यसैले यसपल्ट ज्ञापन र आश्वासनको नाटकबाजी बन्द गरेर जनताको चाहना पूरा गर्ने दिशामा पहल गर्नुपर्ने सुझाउ हामी दिन चाहन्छौं।’

तामाङले गत 17 सेप्टेम्बर 2017 मा जारी भएको एउटा आरटीआईको जवाबले पश्चिम बङ्गाल सरकारले 2014 देखि नै जम्मा दुईपल्ट यस मुद्दामाथि सिफारिश केन्द्र सरकारलाई पठाइसकेको तर दुवैपल्ट रेजिस्ट्रार जेनरल अफ इण्डियाले राज्य सरकारको उक्त सिफारिश खारेज गरिदिएको सार्वजनिक भइसकेको पनि उल्लेख गरेका छन्। ‘यसर्थ भाजपाले यदि यो शीतकालीन संसद सत्रमा जनजातिको बील प्रस्तुत गर्छन् भने हामी खुलेर उनीहरूको स्वागत गर्नेछौं तर यसपल्ट पनि झूटो आश्वासनमात्रै दिएको खण्डमा देशभरिका गोर्खाहरूलाई लिएर गोर्खा जनमुक्ति मोर्चा भाजपाविरूद्ध सड़कमा उर्लिने चेतावनी पनि हामी दिँदछौं,’ तामाङले भनेका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया