सोसल मिडियामा बन्दना राईको निन्दा


दार्जीलिङ, 1 दिसम्बर


खबरम्यागजिनका सम्पादक मनोज बोगटी, विद्यार्थी प्रतिक रुम्बा अनि प्राध्यापक विमल खवासमाथि बन्दना राईले लगाएको भनिएको मुद्दाबारे सोसल मिडियामा निन्दा हुन थालेको छ। एक्टिभिष्ट एवं कवि टिका भाइले राईले आफ्नो विचारमाथि प्रश्न उठदा मात्र पनि पुलिस र कानूनको सहारा लिने हो भने राई र सबैभन्दा तानाशाह शाषकमाझ केही फरक नरहनेसमेत फेसबुकमा स्टाटस लेखेका  छन्।

‘तर्कको जवाब स्वस्थ तर्कले दिन सकिए त्यसले समाजमा गणतान्त्रिक मूल्यलाई स्थापित गर्नुसहित समाजलाई विचारको फराकिलो गोरेटोतिर लिएर जान्छ। सम्पादक, एक विद्यार्थी अनि एक प्राध्यापकमाथि बन्दना राई लगायत साथीहरू रहेको ‘गोर्खा दिल्ली’ समूहबाट कानूनी मुद्दा थोप्ने कार्यलाई गणतान्त्रिक पदक्षेप मान्न सकिन्न अपितु यो एकप्रकार विपरीत विचारहरूलाई निषेध गर्ने थरीको अगणतान्त्रिक उपाय र धम्की हो,’ राईले लेखेका छन्, ‘यस थरीको ‘गोर्खा दिल्ली’-को कार्वाहीप्रति मेरो असहमति र विरोध प्रकट गर्दछु। हाम्रो जाति र समाजमा यस थरिको ‘दम्भ’ संस्कृतिले शीर नउठाओस्।’

हस्तक्षेपी कवि राजा पुनियानीले पनि फेसबुकमा स्टाटस हाल्दै भनेका छन्, ‘एक विद्यार्थी, एक प्रोफेसर र एक पत्रकार-कविलाई अभिव्यक्तिको जोखिमको पाठ पढ़ाउन खोजिएको भर्खरैको ताजा काण्डले कम से कम म छक्क परिरहेको छैन। किनभने यो चटकभित्रको नियतलाई स्पष्टसँग बुझ्न सकिएको छ।

जेएनयुका विद्यार्थी दावा शेर्पा, मरिना राई, निकी राईहरूको समूहले पनि बन्दना राईले हालेको मुद्दाप्रति भर्त्सना जनाएका छन्। उनीहरूले यो खाले अभ्यासलाई अगणतान्त्रिक बताएका छन्।

मनोज बोगटीले खुल्ला पत्र छापेको अनि विमल खवास र प्रतिक रुम्बाले त्यसलाई सेयर गरेको भन्दै राईले लगाएको मुद्दाको विपक्षमा एक्टिभिष्ट पूर्णिमा थामी पनि उभिएकी छन्। ‘विचारको मतान्तर हुनसक्छ र यसमा बहसलाई स्थान दिइएको हुनपर्छ। प्रजातान्त्रिक देश छ भनी हामी गर्व गर्छौ भने आफ्नो विचार शिष्टताको सीमाभित्र बसी अभिव्यक्त गर्न पाउनु हाम्रो अधिकार हो,’ उनले लेखेकी छन्,  ‘बन्दना राईलाई लेखिएको खुल्ला पत्रलाई बहसको निम्ति फेसबुकमा सेयर गरेकोमा प्रतिक रुम्बा, मनोज बोगटीमाथि मुद्दा दर्ता गरिएको छ ! वैचारिक मतान्तरलाई स्वीकारै गर्न नसक्नु अगणतान्त्रिक  हुनु हो र उनीबाट यो अपेक्षा पनि थिएन! यस्तो निन्दनीय कृत्यलाई प्रतिवाद जनाउँदै खुल्लापत्र सेयर गर्दैछु।’

युवा सिनेमेटोग्राफर पल्लवी सिङ्घकले त बन्दना राईले सस्तो चर्चा कमाउन गरिएको फण्डा बताएका छन्। सार्वजनिक बौद्धिक बीपी बजगाईँले त बन्दना राईको छिचिमिरे राजनैतिक सपना सल्बलाउँदा यस्तो काम गरेको हुनसक्ने बताएका छन्। उनले यस्ता विचारहरूलाई उठ्न अघि नै नष्ट गर्नुपर्ने सङ्केत पनि दिएका छन्।

लालीगुराँस समूहले पनि बन्दनाको कृत्यमाथि भर्त्सना जनाएको छ। ‘खुल्ला पत्र लेखेर बहस निम्त्याउनु गणतान्त्रिक पद्धति हो,’ लाली गुराँस समूहले भनेको छ, बहस दबाउने काम नितान्तै अगणतान्त्रिक अभ्यास हो, यसको विरोध जनाउँछौँ।’

 

 

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया