652 शिक्षक नियुक्त गरिने

कालेबुङ, 2 दिसम्बर


पहाडका प्राथमिक पाठशालाहरूमा 652 जना शिक्षक नियुक्त गरिने जीटीए प्राथमिक शिक्षा विभाग अध्यक्ष छिरिङ दहालले आश्वस्त पारिन्। हिल तराई प्राथमिक शिक्षक सङ्गठनको पहिलो स्थापना दिवस कार्यक्रममा आएकी दहालले प्राथमिक पाठशालाहरूमा 652 जना शिक्षक नियुक्ति गरिने बताएकी हुन्। प्राथमिक पाठशालाहरूमा 652 जनाको रिक्त पद सन् 2015 मा नै अनुमोदित पद रहेको तर जीटीए र राज्य सरकारको खिँचातानीले नियुक्ति हुन नसकेको उनले खुलाइन्।

त्यसताक राज्य अनि जीटीएबिच राम्रो तालमेल नहुँदा कुनै काम हुन नसकेको दहालले बताइन्। ती अनुमोदित रिक्त पद 2015 सम्मको रहेकाले अहिले आएर 2018 सम्म कति शिक्षकहरूको मृत्यु भइसकेको अनि अवकाश ग्रहण भएपछि रिक्त पदहरूको सङ्ख्या 8 सयभन्दा अधिक भइसकेको उनले बताइन्।

आगामी 3 दिसम्बरका दिन जीटीए बोर्डको वैठकमा रिक्त पदहरूमा शिक्षक नियुक्तिबारे बहस हुने दाहालले बताइन्। जीटीएले अधिसूचना जारी गरिएपछि नियुक्ति प्रक्रिया अघि बडाउने उनले जनाइन्।

प्राथमिक पाठशालामा नियुक्ति प्रक्रिया लामो रहेको जनाउँदै उनले नयाँ शैक्षिक सत्र सुरु हुन अघि शिक्षक नियुक्तिको प्रयास गरिने बताइन्।

शिक्षक नियुक्ति मनपरी नगर्ने र नियुक्ति गर्न टेट परीक्षा बस्नुपर्ने एनसीटीको नियम रहेको तिनले बताइन्। सबै नियमहरू शिरोपर गरी सक्षम शिक्षकहरू नियुक्ति गर्ने कोशिस भइरहेको तिनले जनाइन्। सक्षम शिक्षक नियुक्ति गरिए मात्र प्राथमिक शिक्षामा सुधार आउने मत तिनले साझा गरिन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया