हिमालय तराई डुवर्स स्पोर्ट्स फेस्टिबल अन्तर्गत एक दिवसीय फुटबल प्रतियोगिता सम्पन्न

कालिझोडा, 1 दिसम्बर


कालेबुङ जिल्ला पुलिस प्रशासनको तत्वधानमा टिस्टा खेल मैदानमा आज हिमालय तराई डुवर्स स्पोर्ट्स फेस्टिबल अन्तर्गत एक दिवसीय फुटबल प्रतियोगिता सम्पन्न भयो। टिस्टा पुलिस पोस्ट अनि टिस्टा खेलकुद समितिको संयुक्त सञ्चालनमा सम्पन्न भएको फुटबल प्रतियोगितामा हाइवे 10 को सब युनिटका छ वटा क्लबहरूको सहभागिता थियो।

प्रतियोगिता कार्यक्रमको अध्यक्ष खेलकुद समितिका सभापति ललित छेत्री थिए। कार्यक्रमको मुख्य अतिथिको रूपमा कलेबुङ जिल्ला अतिरिक्त पुलिस अधिक्षक(अप्रेशन) राकेश सिंह उपस्थित रहेका थिए भने अन्य अतिथिहरूमा रम्बी थाना ओसी दावा शेर्पा,मङ्पङ पोष्ट्का ओसी तरुन पोख्रेल ,टिस्टा प्राथमिक चिकित्सालयका मेडिकल अफिसर पलास सिकदर,बिट अधिकारी प्राण जित सिंह,टिस्टा ओसी सरन सार्की ,खेलकुद समितिका प्रतिनिधिवर्ग लगायत टिस्टाका वरिष्ठ नागरिकहरू उपस्थित रहेका थिए।

सम्पन्न प्रतियोगिताको पहिलो खेला युनाइटेड स्पोर्टीङ फुटबल क्लब बनाम टिस्टा रङ्गित रिभर राफ्टिङ वेलफेयर एसोसिएसन माझ सम्पन्न भएको थियो। यसरीनै अन्य चारवटा युनिटहरूको प्रतिस्पर्धा गरेर युनाइटेड युथ एसोसिएसन टिस्टा बनाम टिस्टा खेलकुद समिति माझ फाइनल खेल सम्पन्न भएको थियो।

जसमा टिस्टा खेलकुद समितिले युनाइटेड युथ एसोसिएसन टिस्टालाई जितेर फाइनल बिजेता बन्न सफल बनेका थिए। ओसी सरन सार्कीले कुलतमा लागेका युवाहरूलाई सुमार्गको दिशा प्रदान गर्न उक्त खेलाको आयोजना गरिएको बताएका छन्।

उनले भने, ‘हाइवे क्षेत्रका युवा खेलाडीहरूलाई फुटबलप्रति प्रोत्साहन गर्न पनि यसरी फुटबल खेलाइएको हो।’ यसरी सम्पन्न भएको फुटबल प्रतियोगिताको समापन समारोहको मुख्य अतिथिको रूपमा पुलिस अधिक्षक ध्रुव ज्योती दे उपस्थित रहेका थिए भने उसरी नै कालेबुङ थाना आईसी सुभाशिष चाकीको पनि उपस्थिति रहेको थियो। बिजेता अनि उपबिजेता दुवै दलहरूलाई अतिथिहरूको बाहुलीबाट पुरस्कारहरू प्रदान गरिएको थियो।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया