किन बन्दना राई भर्सेस मनोज बोगटी?

बहस


उनले चाहेको भए आफ्नो समझदारीको परिचय दिँदै असन्तुष्टि र असहमतिहरूलाई अन्य बिकल्पद्वारा समाधानको बाटो खोज्न सक्थिन्। आफुले भन्न सक्ने हिम्मत राखेपछि अरूको सुन्न सक्ने क्षमता पनि राख्नु पर्छ। आफुलाई गलत लागेको कुरामा चुप बस्नु पर्छ भन्ने होइन तर आफ्नो क्षमताको उपयोग त्यहाँ गर्नु पऱ्यो जहाँ गर्दा वास्तवमै प्रभावकारी साबित हुन सकोस्।


बबिता मादेन


त्यसो त हामी गोर्खाहरू कुनै न कुनै मुद्दालाई पक्रेर सँधै चर्चित भइरहने आदत नै लागिसकेको छ र यदि मुद्दाबिहिन भयौं भने पनि दुनियाँ भरको कुराहरू खोतली-खोतली त्यसैभित्र आफूलाई व्यस्त राख्नुमा आनन्द मान्छौं। मसलादार खबरहरू सधैं चासोको बिषय हुन्छ तर कतिपय यस्तै विषयहरूले आफ्नो समाजलाई कति नकारात्मक प्रभाव पारिरहेको हुन्छ भन्ने कुरा हामी सोच्दैनौं। विगत केही दिन यता बन्दना राई भर्सेस मनोज बोगटीबिचको मुद्दाले निक्कै तुल पक्रिएर गइरहेको देखिँदैछ।

विशेष सामाजिक सरोकारबाट शुरूवात भएको यो झमेला आज जुन अवस्थामा आइपुगेको छ, समाज र एउटा स्वस्थ परिवेशको निम्ति कदाचित स्वागतयोग्य छैन। सही अनि समाजपयोगी धारणाबाट उठेका कुराहरू आज यहाँ आइपुग्दा गलत र समाजबिरोधी कारककोरूपमा देखापर्नु थालेको छ, जुन कुरा अत्यन्तै चिन्ताको विषय पनि हो।

गोर्खाल्यान्ड एक्टिभिष्टको रूपमा चिनिएकी दिल्लीमा बस्ने बन्दना राईलाई गत वर्षको गोर्खाल्यान्ड आन्दोलनले ह्वात्तै हाइलाइटमा ल्याएको हो। गोर्खे जाति  अनि भारतमा गोर्खाको आइडिन्टिटीमाथि काम गरिरहेकी बन्दना राई सामाजिक कार्यकर्ता विशेष गरेर नारी सुरक्षालाई लिएर कार्य गरिरहेकी पनि हामीले सोसियल मिडिया मार्फत जान्दै आएका छौँ।

तीन महिनाअघि एउटा भिडियो अपलोड गरेर उनले दिल्लीमा रहेका कतिपय हाम्रा गोर्खे युवा युवतीहरूको अवस्था र यसप्रति टीका-टिप्पणी, चिन्ता, लाखेस् आदिआदि विस्तृत रूपमा वर्णन गरेकी थिइन। हामी पहाड र पहाड कै छेउछाउ तराइतिर बस्नेहरूका निम्ति दिल्ली टाढाका कुरा हो तथापि प्रायः नै दिल्लीमा भइरहेको आपराधिक गतिविधिहरूबाट अनभिज्ञ छनौं।

विशेष गरेर छोरीहरूको निम्ति दिल्ली उग्र रूपमा असुरक्षित हुँदैगइरहेको हामीले देखिरहेका छौं, सुनिरहेका छौं। र बन्दना राई दिल्ली मै बसेर यसै क्षेत्रमा पनि कार्य गर्दै आइरहेकी हुनाले पहाडबाट जाने हाम्रा केही नानीहरू के कस्ता प्रकारले जीवन यापन गरिरहेका छन् भन्ने कुरा धेर जानकारी हुन स्वभाविक हो।

यो सत्य हो कि दिल्लीमा बस्ने हाम्रा नानीहरू सबै कुलतमा हिँडेका छैनन्। कतिले त्यहाँ दुःख गरेर पहाडमा आफ्नो परिजनको बाँस र गाँसको बन्दोबस्त गरिरहेका छन् भने कति हाम्रा नानीहरूले धेरै राम्रो शिक्षा आर्जन गरि जातिलाई गर्वित पनि तुल्याइरहेका छन्। तर हाम्रै समुदायभित्रका कतिले यस्ता अनैतिक कार्यहरूमा लिप्त रही जाति कै नाम बदनाम गरिरहेको पनि तपाईं हामी सबैको आँखा अघि छ।

यो साँचो हो कसैको पहिरणमाथि प्रतिबन्ध लगाउन सकिँदैन र यो सम्भव पनि छैन अनि कसैको पहिरणमाथि टिप्पणी गर्ने कसैलाई अधिकार पनि हुँदैन। तर आफ्नो समुदायभित्र भइरहेको विसङ्गति अनि यस्तै कारणबाट हुने दुर्घटना र यस्तो दुर्घटना हुनबाट सतर्क गराउने लाखेसहरू चैं कसरी पितृसत्तात्मक सोच भयो यो मैले बुझ्न नसकेको कुरा हो।

बन्दना राईले यसैलाई तार्गेट गरेर भिडियो अपलोड गरिन्, उनको इरादा सही र व्यक्त गर्ने तरिका गलत हुनैसक्छ तर कहिलेकाँही परिस्थिति यो हदसम्म बेकाबु हुँदा प्रत्यक्षदर्शीहरूले पक्रिएर दुई थप्पड हान्नु पर्ने स्थितिसम्म पुग्छ।

सबै कुरालाई हेर्ने दुईवटा पाटाहरू हुन्छन् त्यसैले एउटा पीडित अभिभावकको दृष्टिकोणबाट हेर्दा यो कुरा गलत कदापी देखिन्न। आफूलाई एउटा अभिभावकको रूपमा राखेर आजभोलिका अट्टेरी नानीहरूलाई सही बाटोमा ल्याउन कोही बेला हप्काई धप्काई गर्नु पर्ने पनि हुन्छ तर यसलाई तानाशाही र आफ्नो बिचार जबर्जस्ती अरू माथि थोपेको भन्नू चाहिँ गलत हो।

तर यो पनि हो, कुनै ठाउँमा यस्तो कुलतीहरूले हङ्गामा गर्छ त त्यसमा हाम्रा नानीहरू समावेश हुँदैछन् भने त्यो ठाउँमा यस्तो गतिविधि रोक्ने काम गर्नुपर्छ। एउटा घटना देखाएर दार्जीलिङका सबै नारीहरूलाई मुछ्नु पनि हुँदैन। बरु यसबारे दार्जीलिङ वा नर्थ इष्टका हरेक विद्यालय, विश्व विद्यालयमा विभिन्न ठाउँका उदाहरण अघि राखेर सचेतना कार्यक्रम राख्न सकिन्थ्यो।

अभिभावकहरूलाई लिएर विमर्श गर्न सकिन्थ्यो। दिल्लीका कुन कुन ठाउँमा कस्ता कस्ता गतिविधिहरू छन्, त्यसबारे पुस्तिका निकालेर प्रचारप्रसार गर्न सकिन्थ्यो तर सबैलाई एकै ठाउँ मुछेर जुन टोन र अभिभावकत्व दर्साएर बोलिएको छ, कहीँ न कहीं समय सान्दर्भिक भएन।

यद्धपि, क्रियाको प्रतिक्रिया स्वरूप दिल्ली कै सचेत नागरिकवर्गबाट आएको एक्सन अनि यसैको रिएक्सनले आज अनलाइन न्युज पोर्टलका एक पत्रकार र दुइ निर्दोष पाठकहरूलाई न्यायलयको ढोकासम्म पुऱ्याएको हल्ला छ। कुरा बहसको थियो, हामी गणतान्त्रिक देशका बासिन्दा हौं। सबैलाई सबै कुरा मन नपर्न सक्छ तर आफ्नो असन्तुष्टि व्यक्त गर्न मिडियाको सहारा लिन भन्दा अघि एकार्कासँग बातचितको माध्यमबाट पनि मुद्दालाई सुल्झाउन सकिन्थ्यो।

अर्को कुरा, विषय यति नै संवेदनशील थियो भने भिडियो रिलिज भएको तीन महिनापछि मात्र किन प्रतिक्रिया आयो? हुन सक्छ उनीहरू धेरै अघिबाटै सम्बन्धित विषय माथि बोल्दै आइरहेका होलान् तर पहाडमा भर्खरै मात्र चर्चामा आयो जब कि अवस्था अहिले पहाड जिटीए र लोकसभा चुनाउबारे निर्णायक मोडमा आइपुगेको छ।

यस्तोमा अनुमान लगाउनेले चर्चाको उद्देश्यलाई अर्कै तर्फ मोड्न सक्ने सम्भावनालाई पनि नकार्न सकिन्न। अर्को महत्वपूर्ण अनि सर्वसाधारणले पचाउन नसकेको कुरा उक्त दुई विरोधीको विवादमा एकजना पत्रकार र दुई निर्दोषहरू बिचमा कसरी आयो?

खबर सार्वजनिक गर्ने माध्यमलाई कठघरामा उभ्याइनु कुनै पनि हालतमा र कसैलाई पनि मान्य हुने कुरा होइन। हामी देखिरहेका छौं विभिन्न नेसनल न्युज च्यानलहरूले ठूला ठूला मुद्दा र संवेदनशील विषयहरूलाई सार्वजनिक गरिरहेका छन्। त्यसको विरूद्ध मुद्दा ठोकेको देखेका छैनौं। कुनै कुनै च्यानललाई दोष्याइएका होलान् तर त्यो पनि पछि गएर अमान्य ठहर भएका हुन्छन्।

बन्दना राईले आफ्नो र बिरोधीको बीचमा जुन प्रकारले एउटा पत्रकार अनि दुइ आम नागरिकलाई घिसाएर न्यायलयसम्म पुऱ्याउन खोज्दैछिन् यो चैं पक्का गणतन्त्र र व्यक्तिगत अधिकारको विरूद्धमा छ। पहाडमा बोल्नु र लेख्नुमाथि सत्ताको तानाशाह हाबी भइरहेको बेला के अब अभिव्यक्तिको आजादी आफ्नैहरूबाट असुरक्षित हुने भयो त?

कम से कम आम नागरिकलाई कुनै पोस्टमा लाइक र सेयर गर्ने अधिकारबाट त राज्य सरकारले पनि बन्चित गराएको छैन भने यसलाई अपराध ठानी मुद्दा हाल्नु न्यायसङ्गत होला?  सचेत वर्गले बिचार गरून्। हामीले चिन्दै आएको बन्दना राई एकजना साहसी नारी, गोर्खाल्यान्डको सिपाही, सामाजिक कार्यकर्ता अनि वकिल हुन् तर उनले जुन प्रकारको आधारहिन मूल्यमाथि कानुनी कार्वाही अप्नाइन, यो कार्यले आफ्नो पदको दुरूपयोग गरेको बुझिन्छ।

मान्छेले ख्याति आर्जन गरेपछि जुन मान प्रतिष्ठा र सम्मान कमाउँछ त्यो उसको व्यक्तिगत उपलब्धिमा मात्र गणना हुँदैन उसले कमाएको मान प्रतिष्ठा समाजको सामुहिक सम्पत्तिको रूपमा आफै रूपान्तरित हुन्छ। यसोस्ले आज उनको क्रियाकलापले समाजको प्रतिष्ठा आफ्नो बौद्धिकता र आम नागरिकले उनीप्रति गरेको भरोसामाथि पनि कुठराघात र प्रश्नचिह्न खडा भएको देखिन्छ।

उनले चाहेको भए आफ्नो समझदारीको परिचय दिँदै असन्तुष्टि र असहमतिहरूलाई अन्य बिकल्पद्वारा समाधानको बाटो खोज्न सक्थिन्। आफुले भन्न सक्ने हिम्मत राखेपछि अरूको सुन्न सक्ने क्षमता पनि राख्नु पर्छ। आफुलाई गलत लागेको कुरामा चुप बस्नु पर्छ भन्ने होइन तर आफ्नो क्षमताको उपयोग त्यहाँ गर्नु पऱ्यो जहाँ गर्दा वास्तवमै प्रभावकारी साबित हुन सकोस्।

हामी चाहान्छौं यो कुरा अझ तन्किएर नजाउन्। कुरालाई एक आपसमा बातचितद्वारा सुल्झाउने पहल गरून्। चाहे जो कोही पनि गलत होस् तर गल्ती मान्छेबाटै हुन्छ र कहिलेकाहीँ हामीले आफ्नो बडप्पन देखाउँदै गल्तीलाई सुध्रिने र सुधार्ने मौका पनि दिनुपर्छ। त्यसै पनि यो एक आपसमा लड्ने समय होइन। आवेशमा आएर प्रायः नै हामी गलत निर्णयहरू लिन्छौ तर कतिपय गल्तीहरू पछि पश्चताप गरेर मात्र पखाल्न सकिन्न। एउटा विद्यार्थीमाथि मुद्दाको छाप लाग्नु भनेको उसको भबिष्य अनिश्चित हुनु हो। रिस राग र द्धेषको भावनाले अरूको भलो हुन्न तर आफ्नो पनि फाइदा हुँदैन।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares