म त अझै पनि भन्छु, स्वस्थ बहस गरौं

रोमिला थापरको किताब छ, भारत में पब्लिक इन्टेलेक्चुवल, त्यसमा उनले बुद्धिजीवीहरूलाई जनहितको लागि जुट्न प्रेरित गरेका छन्। (दिल्लीको वाणी प्रकाशनले छापेको किताब हो, खोजेर पढ्दा हुन्छ) भन्छिन्, ‘उनीहरू प्रश्न उठाउन् तर प्रश्नको प्रकृति, स्वाभाव र लक्ष्यबारे थाहा गरुन्। किन, कस्तो र कहिले प्रश्न गर्ने, त्यो पनि हेक्का राखुन्। प्रश्न गर्न नछोडौं, किन भने जसले प्रश्न गर्दैनन् उ विचार पुर्ने शक्तिमा रुपान्तर हुन्छ।’ विचार पुऱ्यो भने के हुन्छ? समाज भड्खालोमा पर्छ। अन्तर्यमा समाज बचाउँछु भनेर एक्टिभिज्म गर्नेलाई फेरि विचार पुर्ने, विचारलाई मुद्दा हाल्ने, कैदी बनाउने, जेल पठाउने सोच नै कसरी आउँछ हँ? तपाईँहरू नै सोच्नुस्, यस्तोमा बन्दना राई बौद्धिक बहसबाट भाग्नु र प्रश्न गर्नेहरूलाई ‘मुद्दा’ थोप्नुको अर्थ के हुन्छ? यतिखेर मलाई एडवर्ड सइदको एउटा लाइनको याद आइरहेछ। उनी भन्छन्, ‘संसारमा बौद्धिकहरूका निम्ति कुनै चुनौती छ भने, ती व्यावसायिकहरू हुन्। उनीहरूको विज्ञताले सिर्जनशीलता र खोजप्रतिको उर्जा नष्ट गरिरहन्छ।’ अब तपाईँहरू नै सोच्नुहोस्, बन्दना राईले गरिरहेको पब्लिक डिस्कोर्स हो कि दादागिरी?


मनोज बोगटी


पब्लिक डिस्कोर्स कि दादागिरी?

बन्दना राईलाई जेएनयुलगायत अन्य युनिभर्सिटी विद्यार्थीहरूसितै दिल्लीमा बस्ने नारीहरूले सामुहिकरूपमा लेखेको खुल्ला पत्र पढ्दै थिएँ। पत्र निक्कै गम्भीर थियो। गम्भीर यसकारण कि ती पत्र लेख्ने बहिनीहरू दिल्लीमा नै बस्छन्। पढ्छन्।  उनीहरूले बन्दनाको भिडियो खबरदारीबारे विमर्श गर्न तीन महिना लगाए।

बन्दना राईले भिडियोमा भन्न खोजेको त राम्रो थियो होला। कोही बेला सिमित ज्ञान, अत्तिउच्चताभाष र स्वार्थी महत्वाकांक्षा आफ्नै लागि पासो बन्छ। बन्दनाको भिडियो सुन्दा धेरैलाई त ठिकै हो भन्ने लाग्छ। तर धेरैलाई लाग्दैन। वैचारिकरूपले समृद्धहरूलाई बन्दनाको बयान निक्कै काँचो लाग्छ।  भुक्तभोगीहरूलाई उपयुक्त पनि।

बन्दना  राम्रै गरौं भन्ने सोचले बोलेका होलान्, तर उनले अनेक कारणले दिल्ली बस्ने दार्जीलिङका (नर्थइष्टका नारीहरूबारे त उनको अझ निक्कै तल्लोस्तरको बुझाई छ) समग्र छोरीचेलीहरूलाई थर्काएकी छन्।

रातपरेपछि छोटो लुगा लगाएर, सिग्रेट पिउँदै, रक्सी धोक्दै, लट्ठारिएर नहिँडिदिने, झगडा नपरी दिने, लोकतमासा नगरीदिने, त्यसो गर्दा बन्दना राई झैं धेरै सभ्य महिलाहरूलाई दिल्लीले हेर्ने दृष्टिकोण खराब बनेको, नेपालीहरूलाई धन्देवाली भनिरहेकोजस्ता अनेकौं कुराहरू उनले गरेकी छन्।

त्यो कुरा ती विद्यार्थीहरूलाई पच्य भएन। स्वाभाविक पनि हो। र त्यसबारे ‘भाँती पुऱ्याएर बहस गरौं’ भनेर पठाएको पत्र धरै अर्थमा काम लाग्दो थियो। नारीमुक्ति, सङ्घर्ष र समस्याहरूका वैकल्पिक व्यवस्थापनको लागि बहसको बाटो गएर निष्कर्षको बिन्दुमा पुगौं भन्ने अपेक्षाले लेखेको पत्रलाई मैले नछाप्नु त पटक्कै मिलेन।

सामाजिक सरोकारको कुरामा लेखकहरूसितको सुझबुझमा सार्वजनिक पत्र प्रकाशन गर्न मिल्छ। यस्तोमा लेखकको नाम नै हुनुपर्छ भन्ने हुँदैन पनि।  मान हानी नगरी, शिष्टतासित विषयवस्तुलाई गम्भीर छलफलमा लैजाने उद्देश्य राखिएको त्यो पत्र यसकारण पनि प्रकाशित गरें, कि त्यो केवल बन्दना राई र ती विद्यार्थीहरूबीचको समस्या मात्र थिएन।

त्यो त साझा सरोकारको मुद्दा थियो। कुनै पनि समस्या देखाएर नारीहरूलाई दैलो थुनेर राख्ने निष्कर्ष कसैले निकाल्छ भने त्यो पितृसत्ताले थोपेको मनोवैज्ञानिक प्रभाव हो। पितृसत्ताका चरित्र र आयामबारे अध्ययन गर्नेलाई सिकाइरहन परेन।

बन्दना राईमा त्यही प्रभाव देखियो। कुनै पनि गम्भीर विषयमा फ्यातुलो प्रस्तुति भयो भने त्यसले खतरनाक परिणामहरू निम्त्याउँछन्। यसकारण गम्भीर कुरा गर्नेले त्यसबारे बोल्दै गर्दा त्यसले उपार्जन गर्न सक्ने सवालहरूमा पनि सतर्कता अप्नाउनु जरुरी बन्छ। सतर्कता उसले अप्नाउँछ, जो गम्भीर छन्। बौद्धिक छन्। सचेत छन्। सतर्कता नअप्नाउनेहरू सस्तो प्रचारका भोगीहरू हुन्। फण्डामा विश्वास गर्ने हुन्। भाइरल हुने र छाइरहने सोच काम नलाग्ने अभ्यास हुन्। कोही पनि सँधै सेलिब्रिटी बनिरहन सक्दैनन्। कामले मानिसलाई समाजमा उचाल्छ।

बन्दना राईले त्यो गम्भीरता देखाएनन्, र नै प्रश्नहरू उठे। र खुल्ला पत्र लेखियो।

खुल्लापत्र लेख्नेहरू मुनिर्कोमा छोटो लुगा लगाएर घुम्न पाउनुपर्छ, सिगरेट पिउन पाउनुपर्छ, रक्सी खाएर रातीराती डुल्न पाउनपर्छ, लोकतमासा गर्न पाउनुपर्छ, झगडा गर्न पाउनुपर्छ भनेर माग गर्ने विद्यार्थीहरू होइनन्।  उनीहरू फर्मान होइन, समस्याको जडसम्म पुगेर नारीलाई कँज्याउने जुनै पनि स्वरूपको सत्ता विरुद्ध काम गरौं भनेर सोच्ने विद्यार्थीहरू हुन्।

दिल्लीमा बन्दनाले भनेजस्तो उच्शृङ्खलता छैन भन्न सकिन्न। त्यो दिल्लीको मुनिर्को र बसन्त गाउँ चोकको मात्र समस्या होइन। त्यो विश्वभरिकै समस्या हो। सिलगडीतिर पनि यस्तै उच्शृङ्खलता देख्न पाइन्छ। यो समाजको एक पाटो हो। तर मुनिर्को र बसन्त गाउँमा देखिने उच्शृङ्खलताको दोष सारा दार्जीलिङे वा नर्थइष्टका नारीहरूलाई दिन मिलेन।

भिडियोबाट यस्ता घटनाहरूको जानकारी दिनुसम्म त ठिकै हो, बन्दना राईले उदाहरणहरू देखाएर सतर्क गराउनुसम्म पनि ठिकै हो। तर ती चोकचोकका यस्तो उच्शृङ्खलताले नै दिल्लीका नेपालीहरूको छबी कलङ्कित बनेको भन्नु, उप्रान्त यसो गरेमा अभिभावकसमेतलाई भन्दिन्छु भन्नु, छोटो लुगा लगाएर दिल्लीमा नघुम्नु भन्नु निक्कै हदको बठ्याईं हो।

बठ्याईले सामाधान हुँदैन। सामाधान त मुनिर्को र बसन्त गाउँहरूमा जम्ने अड्डालाई हटाउने योजना प्रशासनलाई उपलब्ध गराउनु हो। सामाधान नारीलाई घरमा थुन्नु होइन। सबैवर्ग र चरित्रका नारीहरूलाई खुल्लासित घुम्ने, बस्ने, हिँड्ने, बोल्ने समाज निर्माणतिर उन्मुख हुनु पो समाधानतिर जानु हो त। त्यसको निम्ति काम गर्नु पो एक्टिभिज्म त।

दार्जीलिङका हरेक स्कूल, कलेज,युनिभर्सिटीमा यस्ता उच्शृङ्खलता न्युनीकरणबारे निरन्तर बहस, सेनिमार, कार्यशाला वा चेतना शिविरहरू गरिनु पो एक्टिभिज्म हो।

विद्यार्थीबाहेक पनि अभिभावकहरूलाई लिएर निरन्तर छुट्टै विमर्श, छलफल र सचेतना शिविर गरिनु र यस्ता सिटीहरूतिर बन्दनाले भनेजस्ता देखिने अड्डेवाजहरूलाई नियन्त्रणमा ल्याउने उपाय निकाल्नु पो एक्टिभिज्म।

यो काम एकपल्ट गरेर हुने होइन। यसकारण त एक्टिभिज्म चाहिएको हो। निरन्तरताको लागि। यो पनि त साँचो हो कि विदयार्थीहरूलाई बन्दनाको तर्क मन नपर्नै सक्छ। यसकारण उनीहरूले सार्वजनिकरूपले खुल्ला पत्र लेखे। विमति राखे। केही ठाउँ असहमति राखे। प्रश्न उठाए।

विमति राख्नु, असहमति प्रकट गर्नु वा प्रश्न उठाउनु गणतन्त्रको सौन्दर्य हो। यो सौन्दर्य रहेन भने गणतन्त्र रहँदैन। गणतन्त्रका सौन्दर्यका अनेकौं आयाम छन्। चरित्रहरू छन्। मलाई थाहा छैन, बन्दना राईलाई यसबारे थाहापत्तो पनि छ कि छैन। यद्धपि ती विद्यार्थीहरूले त बौद्धिक समाज निर्माणका विचारलाई संस्थागत गर्ने प्रयास गरिरहेका छन्। उनीहरू अन्तरविरोध केलाउने अभ्यास गरिरहेका छन्।

बन्दनाज्यु, मुनिर्कोमा सिगरेट उडाउँदै, गाँजा तान्दै रक्सी पिउँदै हिँड्ने तपाईँले देखेका विद्यार्थीहरू मात्रै त बस्दैनन् है भन्ने उदाहरण त यो खुल्ला पत्र लेख्ने विद्यार्थीहरू पनि हुन्, होइन र? हेर्नुस् त, दिल्लीमा त समाजका अन्तरविरोध केलाऔं, तपाईँजस्ता एक्टिभिष्टहरू पनि सैद्धान्तिक, व्यावहारिक र वैचारिकरूपले कसरी स्खलित बन्छन्, त्यसलाई केलाएर बहसको मेसो बनाऔं भन्ने विद्यार्थीहरू पनि बस्दारहेछन् नी।

उनीहरुले गरेका प्रश्नलाई सम्मान नगर्ने र? यतिका बौद्धिक, विचारशील र सचेत गोर्खे चेलीहरू अचेल कहाँ पाउनु? यस्ता विद्यार्थीहरूको संरक्षण पो गर्नु पर्ने होइन र? तपाईँ अगुवा भएपछि सानोभन्दा सानो प्रश्नको पनि जवाबदेहिता हुनुपर्दैन र? तपाईँको जिम्मेवारी प्रश्नको जवाब दिनु हो कि मुद्दा लगाउनु? यो त निकम्मा एक्टिभिज्म भएन र भन्या?

तपाईँ भिडियोमा केही उच्शृङ्खल गोर्खे चेलीहरूको करामत वयान गर्दै गर्दा तपाईँले भुलेको पाटो नै यी नै विद्यार्थीहरू त हुन्।

जो निरन्तर केही सोचिरहेकै हुन्छन्। प्रश्न नगर्ने मानिस त मुर्दा हुन्। यी विद्यार्थीहरू मुर्दा होइनन्। उनीहरू जिउँदा छन् र जिउँदा प्रश्नहरू तपाईँलाई गरेका हुन्। याद राख्नुहोस्, जिउँदा प्रश्नरूले नै समाजलाई जिउँदो राख्छ।

उनीहरूले यसकारण प्रश्न उठाएका हुन् ताकी बौद्धिक समाजले, लेखकहरूले, नारीवादी, प्रगतिवादी, मार्क्सवादी, कम्युनिष्ट होस् कि दक्षिणपन्थी, कट्टरपन्थी, सामान्य चिन्तक, विचारक र बुद्धिजीवी होस्, सचेत, पत्रकार, गायक, सङ्गीतकार, उकिल होस् कि विद्यार्थी, अभिभावक वा एक्टिभिष्ट होस्, सबैले यसलाई बहसकोरूपमा लिउन् र निष्कर्ष निकालुन्।

तर बहस गर्ने पो कसले? यति हुँदासमेत केही बहस गर्नैपर्छ भन्ने बोधसमेत नभएका लेखक बौद्धिकहरूको समाज हो यो। यी विद्यार्थीहरूले कमसेकम बहस त गरे।

यद्धपि, यो नेपाली समाजले गर्नुपर्ने बौद्धिक अभ्यास हो। जो ती खुल्ला पत्र लेख्ने विद्यार्थीहरूले गरिरहेका छन्। यसै पनि हाम्रो समाजमा सार्वजनिक बौद्धिक (पब्लिक इन्टेलेक्चुवल) छैनन्।

बरु इन्टेलेजेन्सियाहरू छ्यापछ्याप्ति छन्। जो सत्ता स्वार्थको निम्ति बुद्धि विलास गर्छन्। यस्तोमा पब्लिक डिस्कोर्सको अपेक्षा राख्नु गाह्रो कुरा हो। रोमिला थापरको किताब छ, भारत में पब्लिक इन्टेलेक्चुवल, त्यसमा उनले बुद्धिजीवीहरूलाई जनहितको लागि जुट्न प्रेरित गरेका छन्। (दिल्लीको वाणी प्रकाशनले छापेको किताब हो, खोजेर पढ्दा हुन्छ)

भन्छिन्, ‘उनीहरू प्रश्न उठाउन् तर प्रश्नको प्रकृति, स्वाभाव र लक्ष्यबारे थाहा गरुन्। किन, कस्तो र कहिले प्रश्न गर्ने, त्यो पनि हेक्का राखुन्। प्रश्न गर्न नछोडौं, किन भने जसले प्रश्न गर्दैनन् उ विचार पुर्ने शक्तिमा रुपान्तर हुन्छ।’

विचार पुऱ्यो भने के हुन्छ? समाज भड्खालोमा पर्छ। अन्तर्यमा समाज बचाउँछु भनेर एक्टिभिज्म गर्नेलाई फेरि विचार पुर्ने, विचारलाई मुद्दा हाल्ने, कैदी बनाउने, जेल पठाउने सोच नै कसरी आउँछ हँ?

तपाईँहरू नै सोच्नुस्, यस्तोमा बन्दना राई बौद्धिक बहसबाट भाग्नु र प्रश्न गर्नेहरूलाई ‘मुद्दा’ थोप्नुको अर्थ के हुन्छ? यतिखेर मलाई एडवर्ड सइदको एउटा लाइनको याद आइरहेछ। उनी भन्छन्, ‘संसारमा बौद्धिकहरूका निम्ति कुनै चुनौती छ भने, ती व्यावसायिकहरू हुन्। उनीहरूको विज्ञताले सिर्जनशीलता र खोजप्रतिको उर्जा नष्ट गरिरहन्छ।’

अब तपाईँहरू नै सोच्नुहोस्, बन्दना राईले गरिरहेको पब्लिक डिस्कोर्स हो कि दादागिरी?

0

मुद्दा र सवाल

त्यो खुल्लापत्र प्रकाशित गरिराखेर म सिलगढीबाट कालेबुङ लागें। चित्रे पुग्दा गोर्खालिगका नेता प्रताप खातीको फोन आयो। उनी शुरुमा नै झोंक्किए।

सोधे, ‘के गरेको भाइ, त्यस्तो पनि गर्न पाउँछ। के छापेको त्यो लेखक बिनाको खुल्लापत्र?’

मैले भने, ‘पाउँछ दाजु, यो त बहसको कुरा हो नि’

फेरि सोधे,  ‘अञ्जनीले लेखेको हो?’

मैले भने, ‘होइन दाजु, विद्यार्थीहरूले लेखेका हुन्।’

उनले भने, ‘हुँदैन है भाइ, मुद्दा लाग्छ नि, त्यो पनि दिल्लीबाट।’

मैले पनि भने, ‘ठिकै छ दाजु, मुद्दा नै सही। लगाउनुहोस्।’

(कता बन्दना राईलाई  लेखेको खुल्ला पत्र, कता प्रताप खातीको फोन। अचम्मै छ बा।  मैले कनेक्सन निक्कै ढिलो बुझें। र अहिले थाहा भयो, मुद्दाको डिजाइनर को हुन् भनेर। खातीको बन्दनालाई सांसद बनाउने सपना पूरा होस्। त्यो सपनामा मनोज बोगटीले बाधा हाल्दैन। मनोज बोगटीले उम्मेदवारहरूको आन्द्रा भुँडी चाँही केलाउनेछ। त्यत्ति हो।)

दुइ हातले बाइकको स्टेयरिङ समातेर गाला र कुमले चेपेर बोलिरहेको फोन भुइँमा झऱ्यो। स्क्रिन चर्कियो। र घरतिर लागें। फेसबुकमा त्यसले बहस त निम्त्याएछ। तर अच्चाकाली गाली र भद्दा तर्कहरूले फेसबुक कमेन्टबक्स भरियो।

धेरैले राम्रो बहसमा जाऔ भनिरहेका थिए। तर दुइएकजना जो बन्दना राईका समर्थकहरू थिए, उनीहरू पत्रले इङ्गित गरेका प्रश्नका उत्तरहरू होइन, गालीगलौज र भद्दा तर्कहरू गरिरहेका थिए। बन्दना राई, यस्ता समर्थकहरूबाट घेरिए र उनीहरूजस्ता भद्दा विचारका मानिसहरूसित उठबस हुने हो भने त्यसले कस्तो मनोविज्ञान निर्माण गर्ला? म सोचमा परिरहेको थिएँ।

मलगायत, खुल्लापत्र सेयर गर्ने विमल खवास र प्रतिक रुम्बालाईसमेत बन्दना राईले मुद्दा लगाएको चिर्कटो फेसबुकमा भाइरल भयो।

कस्तो मनोविज्ञानको निर्माण भएछ त?

जबावमा, त्यही चिर्कटो फेसबुक वालमा अहिले पनि छ।

अचम्म लाग्छ, अचेल मुद्दा लगाउनु फेसन बन्यो। हुनु त सत्ताले हाम्रो समाजलाई प्रदान गरेको सोसियो साइकोलजी कै प्रभाव होला। दार्जीलिङमा फेसबुकमा लेख्नेदेखि लिएर गोर्खाल्याण्ड भन्नेसम्मलाई मुद्दा लाग्छ। दार्जीलिङमा यस्तो घर छैन, जसलाई मुद्दा नलागेको होस्। खुल्लापत्रले बोकेको मुद्दालाई यही चिर्कटोले छायामा पारिदियो। उठ्दै गरेको बहसलाई मुद्दाले छोपिदियो। कुरा यति जटिल बन्यो कि विचारहरू दुइधारमा उभिए। कुराहरू भङ्गालिए। एकप्रकारले बन्दना राईलाई प्रश्नहरूबाट छेल लाग्न मुद्दा राम्रो बाहाना बन्यो।

बन्दना राई, यदि साँच्चैका गम्भीर एक्टिभिष्ट हुन्थ्यो भने, उनी कसले लेख्यो-को पछि जाँदैन थिइन्। के लेख्यो-को पछि लाग्थिन्। प्रश्नहरूसित सामना गर्थिन्। आफ्ना विचारलाई स्थापित गर्न आफ्ना तर्कहरू राख्थिन्। सोच्थिन्।

भूल भएको लागेमा क्षमा नै माग्थिन्। किन भने समाजमा मेरो गोरुको बाह्रै टक्का त चल्दैन नै। सामाजिक मान्छे सामाजिक नै हुन सिक्नुपर्छ। सामाजिक दायित्व बोकेको मानिसले विपरित विचारलाई सम्मान गर्न जान्नैपर्छ।

विचार कहीँ पनि स्थिर रहँदैन। भूगोल, इतिहास र घटनाहरूले विचारहरू परिमार्जन गरिबस्छ। समाजहितका विचार समाजमै बसेर गर्न सकिन्छ।

बन्दना राई काम गर्ने मानिस हुन्। काम गर्ने मानिसलाई नै प्रश्न गरिन्छ। प्रश्नबाट भाग्ने मानिस कसरी एक्टिभिष्ट? प्रश्नसित सामना त्यसले मात्र गर्दैन, जो प्रश्न गर्ने क्षमताका छैनन्। प्रश्न सहन नसक्ने मानिस समाजहित सोच्ने मानिस होइन। उ त आफ्नै हित सोच्ने मानिस हो।

बन्दना राईका कस्ता के के महत्वाकांक्षा होलान्, मलाई थाहा छैन। मलाई थाहा छ, बन्दना राई समाजलाई, जातिलाई, भाषालाई, संस्कृतिलाई सोचेर केही न केही गरिरहने मानिस हुन्। लाग्थ्यो, उनी निक्कै प्रवुद्ध मानिस हुन्। बौद्धिक पनि होलान्। लाग्थ्यो, पढेलेखेका हुन्, समाजका अन्तरविरोध, सत्ताका आचरण, सीमा र शक्ति बुझ्लान्। तर उनी त भद्दा गाली गर्न लगाउने त भइन् नै समाज सरोकारका कुरा गर्ने समेतलाई मुद्दा लगाउने निस्किइन्।

सबै सचेत र बौद्धिकहरूलाई अचम्मैले अवाक बनाइन्। आखिर बन्दना राईले आफ्नो क्षमता देखाएरै छाडिन्।

आफू पनि प्रश्न गर्ने अनि आफूमाथि प्रश्न गर्दा मुद्दा लगाउने त?

उनले जे नै गरुन् तर प्रश्नदेखि कति दिन भाग्ने र? किन भने उनको एक्टिभिज्मलाई काम लाग्ने त प्रश्न नै हो। जुन प्रश्नहरूको उत्तर नदिई बन्दना राईका एक्टिभिज्म नै पूरा हुँदैन।

खबरम्यागजिनले कसैलाई अहित चिताउँदैन। यसले सँधै अन्तर्यमा वैचारिक डिस्कोर्सको सपना राख्छ। आलोचनात्मक धारणा राख्छ। सक्दो मिडियालाई समाजहिताय सम्पति बनाउनमा उर्जा दिन्छ। कुनै ठूलो लगानीकर्ताले खोलेको पोर्टल होइन हो। बिना तलब, सुरुबुरु पत्रकारहरू रातदिन यसकारण खबरम्यागजिनमा खटिरहेका छन् कि भोलि सारा गोर्खाहरूको भरोसा लाग्दो वैकल्पिक मिडिया बनुन्।

अधिकांश गोर्खे मिडिया पपेट मिडियामा रुपान्तर बनिसकेको बेला, खबरम्यागजिनलाई सारा मानिसले विचार राख्न सक्ने मञ्च बनाउने ध्याउन्नमा थोरै साथीहरूले खुन पसिना बगाइरहेको पोर्टल हो यो।

यसले खुल्ला पत्र छाप्दैमा मुद्दा लगाउनु त भोलिको दिनमा खबरम्यागजिनले बन्दना राईका स्वार्थहरूमा बाधा दिन्छ भनेर डराउनु होइन भनेर कसरी मान्नु? खबरम्यागजिनलाई पत्र छापेको अपराधमा मुद्दा लगायो, त्यहाँसम्म ठिकै होला, तर त्यो पत्र सेयर गर्ने प्रतिक रुम्बा र विमल खवाससमेतलाई मुद्दा लगाउनु त यति हाँस्यस्पद कुरा हो कि त्यसको जिकिर गरेर साध्य छैन।

यत्तिको तल्लोस्तरको सोचले एक्टिभज्म गर्ने बन्दना राई भोलि गोर्खा समाजकै लागि कति खतरा हो, त्यसको अनुमान सहजै गर्न सकिन्छ। यस्तो हो भने सत्ता र बन्दना राईमा के फरक होला त?

वास्तवमा बन्दना राईले जानेर होस् वा अन्जानमा पत्रकारितालाई कालोकोटको गोजीमा थुन्ने प्रयास गरेकै हुन्। यो त कुनै पनि हिसाबले बौद्धिक अभ्यास भएन। पत्रकारितामाथि बन्दना राईको यति सस्तो र हलुका मानसिकता देखिनु निक्कै दुर्भाग्यको कुरा हो। यसो त मलाई मुद्दा धाउनुमा समस्या छैन।

जेल जानुमा पनि समस्या छैन। यति हो, कि निक्कै गम्भीर विषयको कारण मुद्दा धाउन पाउँ, जेल बस्न पाउँ। तर यति खुलापत्र छाप्दैमा मुद्दा धाउनु त मुद्दाकै बदनाम हुने भयो। जेल कै बदनाम हुने भयो। कानून कै बदनाम हुने भयो। बन्दना राई कै बदनाम हुने भयो।

अधिवक्ताहरू नै जानुन्, खुल्लापत्र छाप्दा नै मुद्दा पनि लाग्छ कि लाग्दैन। किन भने खुल्लापत्रका कन्टेन्ट सार्वजनिक छ। मन्थन मात्र चाहियो। यस्तो मुद्दा लगाइने हो भने न्यायजीवीहरूको इमेज समाजमा के बन्ला हो, अधिवक्ताहरू नै जानुन्।

बन्दना राईजस्ता अधिवक्ताहरूले वैचारिक अभ्यास वा बौद्धिक अभ्यासको यसरी खिल्ली उडाउने हो भने त्यो समाजको सबैभन्दा ठूलो दुर्भाग्य हो।

तर मिडियामाथि आक्रमण, शोषण र हेपाइ कसैलाई मन पर्दैन। सोसल मिडियामा मेरो पक्षमा जुन मुहिम चलिरहेको छ, म सबैलाई त्यसो नगरिदिने निवेदन गर्छु। हुन त बन्दना राईले मुद्दाको डर देखाएर भोलि हुनसक्ने खतरा मेट्ने अभ्यास गरेकै हुन्।

मिडियालाई खेलाइँची गरेकै हुन्। यसको विरोध गर्नुपर्छ। मेरो आफ्नो पक्षको कुरा होइन, तर साँचो पत्रकारिता र पत्रकार बँचाउनु नै पर्छ। चौथो स्तम्भको टाउको कुल्चनेको विरुद्ध मोर्चाबन्दी हुनैपर्छ। बन्दना राई समाजकै काम गर्ने मानिस हुन्।

आज पत्रकार समाजका एक सदस्यविरुद्ध आफ्नै कमजोरी लुकाउन मुद्दा थोप्नेलाई केही पाठ त सिकाउनैपर्ने हो। तर त्यति पनि होइन्। जो जति क्षमताका हुन्, उसलाई त्यहाँसम्म सम्बोधन गरिनुपर्छ। नत्र फेरि त्यही काम हिंसामा परिणत हुने सम्भावना रहन्छ। मुद्दाको सट्टा हिंसा नदिउँ। चेतनाको बिर्को खोलिएपछि हरेक मानिसले आफूलाई व्यवस्थित गर्दै जाने हो।

बन्दना राईको कानूनमा मेरो अपराध खुल्ला पत्र छाप्नु हो, रुम्बा र खवासको अपराध त्यसलाई सेयर गर्नु हो। बन्दना राईलाई मुद्दाबारे गणतान्त्रिकरूपले इन्जोय गर्न दिउँ। बन्दना राईले मुद्दा लगाएकै छन् रे। मुद्दा नै सही।

बरु खुल्लापत्रले खोजेको डिस्कोर्सतिर तपाईँहरूले मत राख्नुहोस्। बन्दना राईलाई धन्यवाद दिउँ, कमसेकम जानअन्जानमा उनले निक्कै ठूलो समस्या खडा गरिन्। नारीहरू नै कसरी पितृसत्ताको सिकार भइरहेको छ, त्यो अघि आयो। गोर्खे छोरीचेलीहरूको विच्शृङ्खलता पनि अघि आयो। जताभावी बोल्नेले छोरीचेलीहरूको व्यक्तिको, अभिव्यक्तिको स्वतन्त्रता हनन कसरी गर्दो हो, त्यो अघि आयो।

एक्टिभिज्मको नाममा मनमा लुकाएर राखेको स्वार्थहरू सामुन्ने आए। केही सामाजिक काम गरेजस्तो गरेर कमाएको नामलाई कसरी राजनीति गर्नु, त्यो सामुन्ने आयो। कसलाई कसले कसरी कहाँ कहाँ राजनैतिकरूपले दुरुपयोग गरिरहेको छ, त्यो सामुन्ने आयो। नारीहरूलाई कसरी कोठामा थुनिन्छ र उनीहरूमाथि शोषण हुन्छ त्यो सामुन्ने आयो। अत्याधिक स्वतन्त्रताले मान्छेलाई कस्ता विचलनहरूतिर धकेल्छ र समाजले त्यसको खपिनसक्ने प्रभाव झेल्नुपर्छ, त्यो सामुन्ने आयो।

म त अझै पनि भन्छु, यी सबै घटनाहरूलाई लिएर सार्वजनिक स्वस्थ बहस गरौं। सार्वजनिक बौद्धिकहरू जन्माऔं, जो भोलिको समाजलाई काम लागोस्।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares