बङ्गला भाषा अनिवार्य गरिने कुरा बङ्गालीलाई रोजगार दिलाउने तरिका मात्र हो: शर्मा

खबरम्यागजिन खबरदाता

कालेबुङ, 18 मई 2017


“पहाडका स्कूलहरूमा कक्षा एक देखि नै बङ्गला भाषा पढाइन्छ भने नेपाली भाषालाई पनि राज्यभरिका स्कूलहरूमा पढाइनुपर्छ। नत्र भने बङ्गला भाषा जबर्जस्ती थोप्ने प्रयास अनि बङ्गला भाषाको शिक्षक नियुक्त गर्ने यस्तो कार्यको सबैले विरोध जनाउन आवश्यक छ।”

बङ्गला भाषालाई कक्षा १ देखि नै सम्पूर्ण विद्यालयहरूमा पडाइनुपर्ने राज्यका शिक्षामन्त्री पार्थ च्याटर्जीले दिएको बयानमाथि नेपाली साहित्य अध्ययन समिति कालेबुङका मूल सचिव बलभद्र शर्माले आज प्रतिक्रिया व्यक्त गर्दै यसो भनेका छन्।

“ कसैको भाषा सिक्नु, पढ्नु नराम्रो कुरा होइन तर भाषा थोप्नु अनुचित हो,’ उनले भने, ‘मधेसमा अहिले पनि बङ्गला भाषाको पठन-पाठन भइरहेकै छ तर शिक्षामन्त्रीको भनाइ मुताबिक अब पहाडका स्कूलहरूमा पनि बङ्गला भाषा अनिवार्य हुन्छ अर्थात पहाडमा बङ्गला भाषा थोप्नु अनि बङ्गला भाषाको शिक्षक नियुक्ति गरेर बङ्गालीहरूलाई रोजगार दिलाउने तरिका जस्तो मात्र यो देखापर्छ। यसर्थ यसको हामी विरोध गर्छौं।”

मूलसचिव शर्माअनुसार बङ्गला भाषाको शिक्षकहरू पहाडमा नियुक्त गर्ने राज्य सरकारको षडयन्त्र जस्तो मात्र अहिले आएर यो निर्णय देखा परिरहेको छ। यदि साँच्चैमा राज्य सरकार निरपेक्ष छ भने नेपाली भाषालाई पनि सोही प्रकारले राज्यभरि अनिवार्य गरेर शिक्षक नियुक्त गरोस् भन्ने उनको भनाइ छ।

“हालमा कक्षा एकदेखि नै बङ्गला भाषा पढाइनुपर्ने कुरा साधारण लागे पनि यसको थुप्रैवटा साइड इफेक्ट छ। यो कुरा लागु भएको खण्डमा आगामी १० वर्षपछि हामीले पनि बङ्गला भाषा हरेक कुरामा अनिवार्य रूपमा लिनैपर्ने बाध्यता आउनसक्छ। भविष्यमा यसले हामीलाई धेरै नै कठिनाइहरू भोग्न पर्नेछ”- शर्माले भने। सोही कारण अहिले नै सम्पूर्ण राजनैतिक दल, सङ्घ-संस्था सबै मिलेर यस कुराको विरोध जनाउन आवश्यक रहेको उनले बताएका छन्।

यदि बङ्गला भाषा तेस्रो भाषाको रूपमा पहाडमा पढाइए विद्यार्थीले पहिलो भाषा नेपाली, दोस्रो भाषा अङग्रेजी लिने भएकाले त्यससमय हिन्दीलाई स्कूलबाट हटाइन्छ? हिन्दी भाषा अनि शिक्षकलाई स्कूलबाट हटाइन्छ? भन्ने प्रश्न पनि उनले राखेका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन