लोकनाथ उपाध्याय चापागाईंलाई यसवर्षको साहित्य अकादमी पुरस्कार

सिलगढी, 5 दिसम्बर


अहिले सिलगढीका निवासी लोकनाथ उपाध्याय चापागाईँलाई 2018 को साहित्य अकादमी पुरस्कार प्रदान गरिने छ। साहित्य अकादमीका अध्यक्ष डा. चन्द्रशेखर कम्बरले विज्ञप्ति जारी गर्दै यसवर्ष दिइने साहित्य अकादमी पुरस्कार प्रापकहरूको नामावाली सार्वजनिक गरेका छन्।

नेपाली भाषामा यसवर्ष उपाध्यायलाई यो पुरस्कार दिइएको हो। उनको कथा सङ्ग्रह किन रोयौ उपमा-लाई यो पुरस्कार दिइएको हो।

नेपाली भाषाका पुरस्कार छनौट गर्ने जुरीहरूमा साहित्यकार बिना हाङ्खिम, मनप्रसाद सुब्बा अनि दुर्गा खतिवडा रहेका थिए।

वि. सं १९९६ मङ्सिर तदनुसार सन् १९३९ नोभेम्बरमा डिगबोइ, असममा कपिलमणि उपाध्याय र चन्द्रकला उपाध्यायको सुपुत्रका रूपमा जन्मिएका लोकनाथ उपाध्याय चापागाईंको प्रारम्भिक शिक्षा डिगबोइमा तथा उच्चशिक्षा भारतका विभिन्न विश्वविद्यालयहरूबाट भएको हो। सन् १९६४ देखि १९६६ सम्म आकाशवाणी अन्तर्गत गुवाहाटी रेडियोमा नेपाली कार्यक्रम सञ्चालन गरेका उपाध्यायको मुख्य पेशा सैन्यसेवा रहेको थियो। पूर्वोत्तर भारतको अर्द्धसैनिक बल आसाम राइफल्सको विभिन्न दायित्वशील पदमा रहेर बत्तीस वर्ष सेवा गरी हाल दार्जीलिङ जिल्लाको सिलगढीको कावाखरीमा सेवानिवृत्त जीवन बिताइरहेका उपाध्याय साहित्यिक क्षेत्रमा निक्कै क्रियाशील छन्।

बनारसबाट प्रकाशित आमा नामक मासिक पत्रिकामा सन् १९५८ मा निबन्ध छापिएपछि उपाध्यायले नेपाली साहित्य क्षेत्रमा प्रवेश गरेका हुन् । सैन्य पेशामा संलग्न रहेर पनि साहित्यका क्षेत्रमा क्रियाशील रहेका उपाध्यायले नेपाली साहित्यको गद्य र पद्य दुवै विधामा कलम चलाएका छन्। आधा शताब्दीभन्दा लामो साहित्यिक यात्रामा पुरस्कार प्रापक पुस्तकबाहेक उपन्यास : आँधी (सन् १९९९), कथा सङ्ग्रह : साइत (सन् १९८२), कविता सङ्ग्रह : अन्तराल, काव्य : विवर्तन (सन् १९९०), निबन्ध सङ्ग्रह : लोक निबन्ध (सन् २००१) आदि प्रकाशित छन्।

विभिन्न विधाका उपर्युक्त पुस्तकहरूको सिर्जना गरेर पनि भारतीय नेपाली साहित्यकै फाँटमा समेत कम चर्चामा रहेका साहित्यकार लोकनाथ उपाध्याय साहित्यमा वस्तुपरकता र यथार्थलाई विशेष महत्व दिएर प्रस्तुत गर्न रुचि राख्ने तथा नारीवादप्रति आस्था भएका स्रष्टा पनि हुन्।

पूर्वोत्तर भारतको असमबाट लामो समयदेखि नेपाली साहित्यमा साधनारत् साहित्यकार लोकनाथ उपाध्याय चापागाईंको कथा सङ्ग्रह `किन रोयौ उपमा´लाई यसै वर्ष ‘तुलसी’ `कश्यप´ स्मृति पुरस्कार पनि प्रदान गरिएको थियो।

साहित्य अकादमीले आज 24 भाषाका लेखकहरूलाई यो पुरस्कार घोषणा गरेको हो।  मोठ सात कविता-सङ्ग्रह, छ: उपन्यास, छ: कथा-सङ्ग्रह, तीन आलोचना र दुइवटा  निबन्ध-सङ्ग्रहलाई यसवर्षको अकादमी पुरस्कार प्रदान गरेको हो।


लोकनाथ उपाध्यायसित रेवतीमोहन तिम्सिनाले गरेको कुराकानी यहाँ राखेका छौं

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares