किन हार्छन् मनप्रसाद सुब्बाहरू?

शैलेन्द्र समदर्शी


अब साहित्य अकादमीको पुरस्कारका लागि जुरी सदस्यमा नबस्ने मन बनाएका छन्, मनप्रसाद सुब्बाले। उनी पछिल्लो समयमा दुईपटक अकादमी पुरस्कारका लागि जुरी सदस्य बसेका थिए, तर दुवैपटक उनलाई लागेको उत्कृष्ट पुस्तकलाई आँझीओझेल गरी अर्कै पुस्तकलाई अकादमी पुरस्कारका लागि चयन गरियो।

साहित्यकार सुब्बाले यसको चर्को विरोध गरे। दुवैपटकको  निर्णयमा विमति जनाए। पहिलोपटक ‘म असहमत छु’ भने हस्ताक्षर गरे। तर यसपटक गरेनन्। कुरा  सन् २०१३ र २०१८ –को हो। २०१३–मा कालेबुङ निवासी मनबहादुर प्रधानको ‘मनका लहर र रहरहरू’-ले अकादमी पुरस्कार पाएको थियो।

“साहित्य अकादमी पुरस्कार त उत्कृष्ट पुस्तकले पाउनुपर्ने हो’’, उनी थप्छन्, ‘‘तर यहाँ त पुस्तकको उत्कृष्टताभन्दा नजिकका मानिसलाई हेरेर दिन गर्छन्।’’ मनप्रसाद सुब्बालाई लाग्छ,  ‘साहित्यिक संस्थामा बसेका र बसाइएका एक खेमा छ, जो अझै पुरातनवादी लेखनको पुच्छार समाएर भारतेली नेपाली साहित्यलाई वैतरणी तार्ने कथित् कार्यमा लागि परेको छ।’

बुधवार साहित्य अकादमीले अन्य 24 भाषासहित नेपाली भाषाका लागि पनि यसवर्षको साहित्य अकादमी पुरस्कारको घोषणा गऱ्यो। नेपाली भाषामा यसवर्ष लोकनाथ उपाध्याय चापागाईंको कथा सङ्ग्रह ‘किन रोयौ उपमा’-लाई पुस्कारका लागि चयन गरियो। जुरीमा थिए, डा.  बिना हाङखिम, दुर्गा खतिवड़ा र मनप्रसाद सुब्बा।

पुरस्कारका लागि सर्ट लिस्टमा ‘किन रोयौ उपमा’-सँगै अन्य १२ पुस्तक थिए। त्यसमा सञ्जय बिष्टको ‘जूनजस्तै घाम’, प्रवीण राई ‘जुमेली’-को ‘आफ्नै मनका प्रदेशहरू’,  सुधा एम. राईको ‘भूमिगीत’, डा. दिवाकर प्रधानको ‘कविताका कुरा’ र राजु प्रधान ‘हिमांशु’-को ‘अवसान’  आदि पनि थिए।

पुरस्कारको घोषणा भएको केही क्षणपछि साहित्यकार सुब्बाले फेसबुकमा एक पोस्ट गरे। यो पोस्ट फेसबुकमा आएपछि यसवर्षको साहित्य अकादमी पुरस्कारको चयन प्रक्रियाको अनुहार उदाङ्गो भयो।

सुब्बाले लेखे,  “प्रिय प्रवीण भाइ अनि सञ्जय बिष्ट भाइ, तपाईंहरूको निमित्त लेड़ेको युद्ध मैले हारेँ। यो युद्ध थियो पुरातनवादी र समाकालीनतावादीमाझ। उनीहरूसित ठस्स गन्हाउने बासी विचारसहित अरू पनि अस्त्र थियो, तर मसित समकालीन शब्द सिवाय अरू क्यै थिएन, र म पराजित भएँ। ‘आफ्नै मनका परदेशहरू’ तथा ‘जूनजस्तै घाम’-का निमित्त मैले लडेको युद्ध हारेँ। क्षमा गर्नुहोस् भाइहरू।

अबदेखि उसो यस्तो जाली युद्द म कहिले लड्ने छुइनँ। पहिले पनि एकपल्ट गुप्त प्रधान र राजेन्द्र भण्डारीको निमित्त लड़ेको युद्ध यसरी नै हारेको थिएँ र ती बासी विचारहरूको ‘विजयपत्र’-मा मेरो तीव्र विमति स्वररूप हस्ताक्षर नगरी फर्केको थिएँ। यसपालि पनि विमति प्रकट गर्दै हस्ताक्षर नगरी फर्केँ। अब चैँ काबु जुरी मेम्बरको नोमिनेसन थाप्नु!’’

उनले आँट गरे। र, बोले। पुरस्कार चयनका लागि हुने चलखेल सार्वजनिक गरे। कसरी राम्रो पुस्तक माथि नराम्रो पुस्तक पारेर पुस्कार घोषणा गरिन्छ, त्यो उदाङ्गो गरे। तर धेरै छन्, आँट गरेर बोल्दैनन्। विमतिलाई चुपचाप आफैभित्र राख्छन्।

‘’मेरो विरोध भनेको राम्रा लागि हो। किनभने पुरस्कार देखाउन र पढ़न लायकका पुस्तकले पाउनुपर्छ। अकादमी पुरस्कारको मापदण्ड भनेकै पुस्तकको उत्कृष्टता हो’’, उनी भन्छन्।

साहित्य अकादमीको जुरी सदस्य तीनजना हुन्छन्, जसमा एकजनाको विमतिले अर्थै राख्दैन। विमति राख्ने जुरी सदस्यको तर्क जति नै बलियो र न्यायसङ्गत किन नहोस्, दुईजनाको बहुमत अघि हार खानैपर्छ।  सुब्बा अघि पनि दुवैपटक यस्तै भएको छ।

साहित्य अकादमीको पुस्तक चयनमा जुरी सदस्यको विमति नयाँ कुरा होइन। धेरै पहिला अर्थात् १९९२  –मा जुरी सदस्य रहेका इन्द्रबहादुर राईले पनि ‘इन्द्रधनुष’-का लागि आफ्नो विमति जनाएका थिए, तर बहुमत अघि राईको विमतिले हार खायो। र आरपी लामाको निबन्ध सङ्ग्रह इन्द्रधनुषले त्यसवर्षको अकादमी पुरस्कार पायो।

पछिल्लो वर्ष डा. बिना हाङ्खिमको समालोचना सङ्ग्रह ‘कृति विमर्ष’-लाई अकादमी पुरस्कारका लागि चयन गरिँदा जुरी सदस्यका एक पेम्पा तामाङले विमति जनाएका थिए, तर उनी पनि हारे। किनभने विमति जनाउने उनी एकलो परे।

सन् २०११  -मा हदै भएको थियो। त्यसबेला जुरी सदस्यमा डा. महेन्द्र पी. लामा, राजेन्द्र भण्डारी र डा. घनश्याम नेपाल थिए। राजेन्द्र भण्डारी र घनश्याम नेपाललाई लाग्यो, त्यो वर्ष अकादमी पुरस्कार दिनका लागि योग्य पुस्तक नै छैन। नदिने निर्णय सुनाए। यो निर्णयले भारतेली नेपाली साहित्यमा खलबली  नै ल्यायो। कतिले  भण्डारी र नेपालको निर्णयलाई सही मानेर स्वागत जनाए। स्वागत जनाउनेहरूले उनीहरूको यो निर्णयले भविष्यमा उत्कृष्ट पुस्तक लेखनको सम्भावनालाई फराकिलो पार्ने तर्क अघि सारे। यस्तो ‘बोल्ड’ निर्णयका लागि सकारे। धाप मारे।

यो निर्णयको विरोध गर्नेहरूले नेपाल र भण्डारीको खोइरो खने। घमण्डी र बाँदरजस्ता शब्दको प्रयोग गरे। ठाउँ ठाउँमा बैठक बसे। विरोधमा गोलबद्ध हुने प्रचेष्ठा धेरै पछिसम्म गरिरहे, तर के कारण यस्तो हुँदैछ भन्नेबारे कसैले सोचेनन्। भारतेली नेपाली भषाका लागि पुस्तक चयन प्रक्रियालाई पारदर्शी बनाउन कसैले पहल गरेनन्। बरु आफ्ना आफ्ना मानिसलाई काखी चेपेर ‘प्रमोट’ गर्ने काम गरिरहे। यहींबाट विवादको राजमार्ग खनिँदै गयो। आत्मरतिमा गजक्क भएर बस्नेहरूले यसलाई उपलब्धि ठानेर विज्ञापन गरिरहे।

विवाद हिजो पनि थियो। आज पनि छ। र, भोलि पनि रहनेछ। किनभने विवादको मुख थुन्ने कार्य गर्नभन्दा यसलाई बढ़ाउने कार्यमा सम्बन्धित मानिसहरू उदत्त छन्। वरिष्ठ कवि ज्ञानेन्द्र खतिवड़ा भन्छन्, “अकादमी पुरस्कारको चयन प्रक्रियालाई पारदर्शी र निष्पक्ष बनाइनु पर्ने हो, तर यस्तो हुन सकिरहेको छैन। अकादमी सधैँ आफ्ना कार्यहरूले विवादमा पर्नु साँच्चिकै दुःखलाग्दो कुरा हो।’’

उनका अनुसार राम्रो पुस्तकले पुरस्कार नपाएर नराम्रो पुस्तकले पाएको लामै इतिहास छ। पहिला कुमार प्रधान, राजनारायण प्रधान,बद्रीनारायण प्रधान र वीरेन्द्र सुब्बाहरू छोड़िए। अहिले डा. राजेन्द्र भण्डारी, नोर्जाङ स्याङ्देन, डा. गोकुल सिन्हा केवलचन्द्र लामा र नरबहादुर दाहालहरू छोड़िँदैछन्।

छोड़िँदैछन्, समकालीन धारमा उत्कृष्ट लेख्नेहरू। जसका लेखन भारतका अन्य भाषाका लेखनसँग दाँज्न सकिन्छ।

कवि खतिवड़ाले  जुरी सदस्यको चयन प्रक्रियामा पनि औंला उठाएका छन्। उनका अनुसार गत वर्ष अकादमी पुरस्कार पाएका लेखकलाई यो वर्ष जुरी सदस्यमा राख्न नहुने हो, तर राख्यो।

“यो कुरा पालोको पैंचो भनेजस्तै भयो नि!’’, उनी भन्छन्, “किन यस्तो गरिँदैछ। कि अरु जुरी सदस्य बस्नका लागि लायक छैनन्?’’यसका लागि कवि ज्ञानेन्द्र खतिवडा साहित्य अकादमी नेपाली भाषा परामर्श समितिको रितिथिति नै गलत देख्छन्। उनी भन्छन्, “विवादको मूल जरा यहीं गाड़िएको छ।’’

यसै वर्षको शुरुमा ‘अकादमी विवाद’ -लाई लिएर कालेबुङमा बहस नै आयोजन गरिएको थियो। बहसमा भाग लिनेहरूले एउटै कुरा साहित्य अकादमीको नेपाली भाषा परामर्श समितिले काम ठीक गर्नुपर्छ भन्ने थियो। बहसमा भाग लिने प्रायः सबैले नेपाली परामर्श समितिको ‘काम गराइ’ ठीक नभएको विचार नै अघि राखेका थिए।

भारतेली नेपाली साहित्यसँग सरोकार राख्नेहरू यस्तै मत प्रकट गर्छन्। सबैलाई सहमतिमा ल्याउनपर्ने काम गर्नुपर्ने बताउँछन्।

साहित्यकार जस योञ्जन ‘प्यासी’ भन्छन्, “कुनै पनि विवादले नेपाली साहित्यको हित गर्दैन। अकादमीको सञ्चालनमा रहेकाहरूले सहमति हुनेखालका कामहरू गरेमा राम्रो हुनेछ।’’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares