भूमिपुत्र, भूमिपुत्रको खेल

 आन्दोलनको स्वरूप, चरित्र र आयाम नै यस्तो बन्यो। नेतृत्व बारम्बार सम्झौतातिर गए। उनीहरू चौकीमा अडिग बसे, मुद्दा र आन्दोलनमा होइन। जो मुद्दा र आन्दोलनमा अडिग बस्दैन उसलाई केन्द्रले पछिल्लो अर्थले बुझ्छ।  जो सम्झौता र चौकी ताक्छ, उसको मुद्दालाई सांसदले संसदमा कसरी बलियोगरी राख्न सक्छ? जोसित आन्दोलन र छुट्टै राज्यबारे कुनै बलियो रणनीति र भरोसा लाग्दो चरित्र नै छैन उसलाई कसरी छुट्टै राज्य लाउँछ त जिम्मा?


मनोज बोगटी


गोर्खा जनमुक्ति मोर्चाले भाजपाका दुइ उम्मेदवार जसवन्त सिंह र एसएस अहलुवालियालाई अघिल्ला लोकसभा चुनाउमा जिताएर पठायो। तर संसदमा छुट्टै राज्य गोर्खाल्याण्डबारे प्रभावकारीरुपले मुद्दा उठाउन सकेनन्। यो असमर्थताको आफ्नै कारण, चरित्र र आयाम छ।

केन्द्रमा भाजपा छ। भाजपाले छुट्टै राज्य गोर्खाल्याण्डबारे भनेजस्तो नीति कार्यान्वय गरेको छैन। भनेको छ, ‘गोर्खाहरूको लामोसमयदेखि थाँतीमा रहेको मुद्दालाई सहानुभूतिपूर्वक हेर्छौं।’ त्यो मुद्दा छैटौं अनुसूची पनि हुनसक्छ, जो सुष्मा स्वराजको स्ट्याण्डिङ कमिटीको रिपोर्टले थाँतीमा राखेको छ। रिपोर्टमा छ, ‘जबसम्म छैटौंअनुसूचीबारे समग्रको सहमति बन्दैन, यसलाई थाँतीमा राखिनेछ।’

त्यो मुद्दा गोर्खाल्याण्ड पनि हुनसक्छ। वा यस्तो कुनै व्यवस्था हुनसक्छ, जसले बङ्गालबाट अलग्गै राखेर गोर्खाहरूलाई सम्बोधन गरोस्। बङ्गालदेखि अलग्गै र गोर्खाहरूको राजनैतिक चिन्हारी सुनिश्चित हुनेगरीको यस्तो कुनै पनि व्यवस्था, जो गोर्खाहरूले उहिल्यैदेखि माग्दै आएको छ। जो गोर्खाहरूको सपना होस्।

देशमा साना राज्य गठनको परिस्थिति बनिहालेको छैन। यो परिस्थिति केन्द्रमा हुने दलको राजनैतिक महत्वाकांक्षाले मात्र बन्छ। मूलधारका राजनैतिक परिस्थितिमा प्रभाव पुऱ्याउन सक्ने मुद्दालाई भने केन्द्रले शीघ्र नै सामाधान गर्दै आइरहेको हो। यसै हिसाबका साना राज्यहरू विभिन्न ठाउँमा भाजपा कै कार्यकालमा गठन भइसकेको पनि हो। केन्द्रिय राजनीतिमा फरक पार्ने ठाउँका छुट्टै राज्यका आन्दोलनमाथि केन्द्रको आँखा छिट्टो पर्छ।

दार्जीलिङले केन्द्रको राजनीतिमा कुनै असर पार्दैन। संख्याबलको राजनीतिले अर्थ राख्ने ठाउँमा भावानात्मक तर्कहरू पङ्गु बन्छ। कुनै एउटा बहसमा भाजपाका दार्जीलिङ बौद्धिक सेलका सदस्य किशोर भारतीले भनेका थिए, ‘यस्तो दवाब, जसले छुट्टै राज्य गोर्खाल्याण्डको लागि हुनसकोस्, त्यस किसिमको रणनीति अहिलेसम्म कसैले बनाएनन्। केवल सांसद पठाएर समस्याको सामाधान हुँदैन। सांसदलाई संसदमा दवाब बनाउनको निम्ति यस्ता दस्तावेज, कारण र औचित्य रहेको शक्ति र क्षमता पनि दिनु पऱ्यो। अफसोस्, यस्तो भएको छैन।’

उनको कुरा पत्याउनु हो भने पनि, आन्दोलनको चरित्र र सांसद पठाउने प्रक्रिया चाहीँ सामान ल्याउनु दोकान चाँही पठाउने तर सामाग्री खरिद गर्ने पैसा चाँही नदिने किसिमको भएछ। यसो सोच्दा, भारतीको तर्क कमजोर छैन।

केको आधारमा  छुट्टै राज्य गोर्खाल्याण्ड केन्द्रले गठन गर्नुपर्ने? यसबारे कुनै पनि राजनैतिक दलले दस्तावेज तयार पारेको सुनिएको छैन। पहाडबाट पठाइएका सांसदलाई अरू विभिन्न राज्यका सांसदहरूलाई गोर्खाल्याण्डबारे कन्भिन्स यसरी गर भनेर इनपुट दिएको पनि थाहा छैन। सांसदहरूलाई ऱ्याखऱ्याख पारेको पनि थाहा छैन। पुरै रणनीति बोकेर आन्दोलनमा उत्रिएको र केन्द्रसित जुझ्ने बौद्धिक र व्यवहारिक तर्कतथ्यनीतिकोष वा रणनीति तयार पारिएको पनि थाहा छैन।

इतिहस, वर्तमान, ऐन, केन्द्रिय राजनीति र दस्तावेजमाथि बहस भएको पनि सुनिएको छैन। छुट्टै राज्य यसकारण हुनुपर्छ भनेर केन्द्रलाई चित्त बुझ्नेगरी सामुहिकरूपले बुझाइएको पनि पत्तो छैन। पहाडमा अनशन गऱ्यो, नारा जुलुस गऱ्यो, राज्य र केन्द्र सरकारलाई असहयोग गऱ्यो, बन्द गऱ्यो अनि ‘वार्तामा बोलाउ, छुट्टै राज्यबारे तर्क गर’ भन्यो, देखिएको यति हो। यसैलाई आन्दोलन मानेर, यत्रो आन्दोलन गरिसक्दा पनि केन्द्र नबोलेको? भन्यो र रिसायो। देखिएको यत्ति हो।

गोर्खाल्याण्ड राज्य माग्न अघि नेपाल र भारतको राजनैतिक, धार्मिक र औद्यौगिक सम्बन्ध केलाइएको दस्तावेज कसैले तयार पारेको होलान् त? देशको सुरक्षा र सिमानाका खतराबारे कुनै भूतपूर्व गोर्खा सैनिकले कुनै रिपोर्ट तयार पारेका छन् त? बङ्गालका बहुसंख्यक बङ्गाली संस्कृति, भाषा, शाषण प्रणालीले अल्पसंख्यक गोर्खाहरूको संस्कृति, भाषा र क्षमतामाथि प्रत्यक्ष-अप्रत्यक्ष दोहन गरेकोबारे कसैले पिएचडी गरेका छन् त?

दार्जीलिङ पहाडको अर्थनैतिक स्वरुप कस्तो हो? राजनैतिक, सांस्कृतिक, सामाजिक स्वरुप कस्तो हो? अन्तरविरोधहरू केके छन्? कुनै समाजशास्त्रीले कतै बलियोसित लेखेको पनि थाहा छैन।

छिमेकी देशसित भारतले राख्ने कुटनैतिक सम्बन्धका सौन्दर्यबारे कुनै आन्दोलनकारी नेतालाई कतिको ज्ञान होला त? सीमानाका सिमा र आयामहरूले देशको असुरक्षाका भौंप्वालहरू कहाँ कहाँ कसरी कसरी खोतल्दै होलान त? कुनै चिन्तकले बोलेका होलान् त?

दार्जीलिङ चिया, रुखपात, हावा, पानी, औषधीय बनस्पति र पहाडी बासनाको सौन्दर्यबीच गोर्खाल्याण्ड राज्यका सम्भावित इनोमोमिक भायोब्लिटीबारे लेखेको किताब कता होला त? छुट्टै राज्य गोर्खाल्याण्ड हुँदाका फाइदा र नहुँदाका नोक्सानीबारे तर्क गर्ने सार्वजनिक बौद्धिक नै कता छन्? यसो विचार्दा छुट्टै राज्य माग्नअघि यस्ता जटिल असन्तुलनलाई सम्बोधन गर्ने रणनीति पो बनाउनुपर्ने हो कि?

सिद्धार्थ शङ्कर राय, ज्योति बसुदेखि ममता व्यानर्जीसम्मले गोर्खाहरूलाई अल्पसंख्यक बनाउन रचिरहेका विभिन्न देउपेच, केन्द्रलाई प्रभाव पार्नसक्ने रणनीति दिन नसक्ने सुबास घिसिङ, विमल गुरुङसम्मको कलिलो राजनैतिक डुमरा, घाँटीमा सत्ताको साङ्गलो लगाएर राजनैतिक सरोकारका बहस चर्काइरहेका इन्टेलेजेन्सियाको रगरगी, हरेक पल्ट रणनीतिहिन आन्दोलन गरेर रोटी सेक्ने घिसिङ, विमल र विनय मार्का ड्रामा र त्यसले सामाजिक मूल्यमा पार्ने असरहरूबारेको डिस्कोर्स चित्त बुझ्ने गरी सतहमा ल्याउन चाहने पुस्ता खै त?

यस्तो पुस्ताको लागि गणतान्त्रिक परिवेश बनाउने राजनैतिक संवेदनशीलता नै खै त?

पहाडजस्तो सानो ठाउँमा दर्जनौं राजनैतिक दोकान खोलेर राज्य र केन्द्रको आँखामा महत्वाकांक्षी दल र नेताकोरूपमा स्थापित अनुहारमा तुर्लुङ्ग झुण्डिएको हिप्पोक्रेसी चिन्ने समाजिक मनोविज्ञानको निर्माण गर्ने एक्टिभिष्टहरू खै?

पहिले त रणनीति हुनु पऱ्यो। कार्यक्रमको स्वरूप रणनीतिक हुनु पऱ्यो। धर्नाको प्रभावबारे पूर्वज्ञान र यसको लक्ष्य तय हुनु पऱ्यो। जुलुसको अर्थ कुटनैतिक अभ्यास हो। भोकहडताल गणतान्त्रिक हतियार। यी सबैको प्रयोग रणनीतिको आधारमा हुनु पऱ्यो। आवेगको आधारमा होइन।

(आवेगको आधारमा भएको आन्दोलन, धर्ना, जुलुसमा व्यारिकेड तोड्ने, पुलिसले पक्रिएर लैजाँदा जातिको लागि गएको भन्दै प्रचार गर्ने, घाँटी सुकिन्जेल कराउने, आफ्नो स्टन्ट फेसबुक लाइभ गर्ने र आन्दोलनको फाइदा लिएर सेलिब्रिटी हुनेहरूले क्षणिक वाहवाही त लुट्लान्, तर वाहवाही जग नै भावानात्मक बन्यो भने उसको महत्वाकांक्षाको आयु नै रहन्छ कति र?

जनाधार नै नभएका पार्टीहरूलाई नष्ट गरेर छुट्टै राज्यको स्वार्थमा सबै एकै ठाउँ गोलबद्ध नबनेसम्म कसरी सांसदले गोर्खाल्याण्डको आवाज उठाउँलान् त संसदमा? छैटौं अनुसूचीको निम्ति बनिएको स्ट्याण्डिङ कमिटीको रिपोर्टले के सिकायो त?

जबसम्म सर्वसम्मति बन्दैन तबसम्म छैटौं अनुसूची थाँतीमा रहेको होइन त? सर्वसम्मति भनेको मुद्दाप्रतिको ऐक्यवद्धता हो। त्यो ऐक्यबद्धता मुद्दाको निम्ति मात्र हुनु पर्ने हो कि सांसदको निम्ति पनि हुनुपर्ने हो त?)

यी जम्मै तर्कसम्मत जिम्मेवारी बहन गर्ने क्षमताका मानिसलाई संसाद बनाइने हो। अहिले त्यसैको खोजी सबै तब्कामा जारी छ। होइन त?

00

ढिप्पी र सांसद

सम्भव छ, केन्द्रमा आउने सरकार भाजपा कै हो। केन्द्रमा भाजपाको सरकार हुने हो भने यताबाट जाने सांसदले त्यही भाजपा सरकारसित बहस गर्ने हो। एकछिनलाई मानौं, यसपल्ट भाजपाका उम्मेदवार पठाएनौं। भूमिपुत्र पठायौं। भूमिपुत्रले आवाज भाजपा सरकारसित उठाउनु पऱ्यो। भाजपाको विपक्ष बनेर। संसदीय गरिष्ठता रहेको भाजपाले विपक्षको आवाजलाई गम्भीरतासित लेला त?

छुट्टै राज्यको कुरा केवल संसदमा उठाउनु मात्र महत्वपूर्ण होइन। उठाउनलाई त जसवन्त सिंह र एसएस अहलुवालियाले पनि उठाएकै हुन्। केन्द्रिय परिस्थिति तयार पार्न सकेनन्। अर्थात भाजपाले दार्जीलिङको मुद्दालाई छुट्टै राज्यको सवालबाट होइन विकासको सलावबाट नै हेरिरहेको छ भन्ने दुवै सांसदको कुरा उठानले पुष्टि गरेको छ।

जसवन्त र अहलुवालियाले लगभग एउटै कुरा गरेका छन्, ‘यदि दार्जीलिङमा बङ्गाल सरकारले विकास गरेको थियो भने छुट्टै राज्यको आन्दोलन हुने थिएन। पहाडका मानिसहरू धेरै कुराबाट बञ्चित छन्, यसैकारण त्यहाँ छुट्टै राज्यको आन्दोलन भइरहेको छ, त्यसलाई गम्भीरतासित हेरिनुपर्छ।’

यसको दुइवटा अर्थ निस्किन्छ। एउटा, सबै एङ्गलबाट पनि ‘सांसदहरूले गोर्खाल्याण्डको आवाज उठाएकै हुन्’ र अर्को, ‘विकास भयो भने त्यहाँ गोर्खाल्याण्डको आन्दोलन हुँदैन।’

पछिल्लो अर्थ नै केन्द्रले बुझेको अर्थ हो। भाजपाले बुझेको अर्थ। त्यसै कारण नै दागोपाप र जिटीए बनेको हो। दागोपाप र जिटीए केन्द्र र राज्यले हाम्रो मुद्दालाई बुझ्ने पछिल्लो अर्थको नतिजा हो। हाम्रो आन्दोलनको नतिजा होइन।

किन राज्य, भाजपा र केन्द्रले यसरी बुझेको त? त्यसको कारण हो आन्दोलन। आन्दोलनको स्वरूप, चरित्र र आयाम नै यस्तो बन्यो। नेतृत्व बारम्बार सम्झौतातिर गए। उनीहरू चौकीमा अडिग बसे, मुद्दा र आन्दोलनमा होइन। जो मुद्दा र आन्दोलनमा अडिग बस्दैन उसलाई केन्द्रले पछिल्लो अर्थले बुझ्छ।

जो सम्झौता र चौकी ताक्छ, उसको मुद्दालाई सांसदले संसदमा कसरी बलियोगरी राख्न सक्छ? जोसित आन्दोलन र छुट्टै राज्यबारे कुनै बलियो रणनीति र भरोसा लाग्दो चरित्र नै छैन उसलाई कसरी छुट्टै राज्य लाउँछ त जिम्मा?

छुट्टै राज्य हुनु, छुट्टै राज्य हुनुमात्र होइन। यसको अर्थनैतिक महत्व त छँदैछ, प्रशासनिक, कानूनी, सामाजिक, सांस्कृतिक र राजनैतिक महत्व पनि छ। राज्यबाट देशले प्राप्त गर्ने अद्यौगिक सौन्दर्यको पाटो अलग छ। अन्तराष्ट्रीय सिमानामा हुनुको अर्थले पनि अनेकौं  समस्या र जटिलताहरू छन्। सिक्किम छेउमा हुँदाहुँदै, नेपाल, भुटान, बङ्गलादेश, चीन वरिपरि रहेको राज्यलाई क्षमता क्षेत्रको गरिमा प्रदान गर्दा हुने असन्तुलनका सवालहरू पनि छन्। यसो हो भने के अब संसद जाने हाम्रो सांसद केवल जानु मात्र हो त?

यसपल्ट लोकसभा चुनाउको महत्व यसैकारण पनि धेरै छ, कि यसपल्ट जुन भूमिपुत्र भूमिपुत्रको खेल छ, त्यो दार्जीलिङको सामाजिक मनोविज्ञानले प्रदान गरेको डिस्कोर्स नहुन पनि सक्छ। भूमिपुत्र जाँदा र भाजपाकै उम्मेदवार संसदमा जाँदा  हुने फाइदा र नोक्सानीबारे अहिले नै व्यापक छलफल अनिवार्य छ। यो छलफल नगरी भूमिपुत्र भूमिपुत्रको खेल स्थापित भयो भने माथि उल्लेखित केन्द्रले बुझ्ने पछिल्लो अर्थ नै बलियो हुनेछ।

पहाडको उम्मेदवारकोरूपमा यसै पनि विमल गुरुङ समूह मोर्चा र भाजपाको सुझबुझमा यसपाली अमित शाह, शुभ्रमण्यम स्वामी, सतपालजी महाराजहरूको नाम हल्लामा छ। गोर्खालिगको त बन्दना राई छँदैछ। गल्फका ऋषिका छेत्री पनि लाइनमा छन्। जो यसपल्ट पार्टीबाट होइन जातिबाट उम्मेदवार जावोस् र त्यसको लायक आफूलाई जनताले सम्झिए आफू संसदमा जान तयार रहेको सङ्केत दिइरहेकी छन्।

यसपल्टको लोकसभा चुनाउ नै हो, जसले धेरैको महत्वाकांक्षा बाहिर ल्याइरहेको छ। उनीहरूको वास्तविक रूप अघि ल्याइरहेको छ। उनीहरू भटाभट सपना छर्न थालिरहेका छन्। माथिमाथि उड्न थालिरहेका छन्। यस्ता उम्मेदवारहरू पनि देख्न पाइनेछन्, जसको भित्री गञ्जी कुन रङको हो अघिबाटै सबैले छर्लङ्ग देखिसकेका छन्।

मुनिष तामाङ ताकमै होलान्। विनय तामाङखेमा र तृणमूलबाट डा. पीडी भोटियाको नाम उत्तिकै हल्लामा छ। क्रामाकपाको कुराअनुसार पनि कि त आरबी राई कि त जेबी राई उम्मेदवार हुनसक्ने अनुमान त लगाउनै सकिन्छ। गोरामुमो 11 जात गोष्ठीलाई जनजातिको मर्यादा दिने हल्ला आउनसाथ छैटौं अनुसूचीको वकालतमा उत्रिएको छ। शङ्का गर्नै सकिन्छ, उनीहरूको मत यसपल्ट भाजपालाई नै हुन सक्छ।

जो कोही पनि जाउन्, तर जान अघि सहज र भावानात्मक बाटो जाने कि जटिल र बौद्धिक बाटो जाने हो, मन्थन गरेरै जान अनिवार्य छ। फेरि पनि यस्तो नहोस्, आआफ्नो ढिप्पीमा संसद जानुको कारण मुद्दा नै सँधैको लागि कोमामा नजावोस्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares