फेरि छैंटौं अनुसूची

खरसाङ, 6 दिसम्बर


गोर्खा राष्ट्रिय मुक्ति मोर्चा ( गोरामुमो) ले खरसाङ जीडीएनएस हलमा  छैटौं अनुसूची सम्झौता दिवस पालन गऱ्यो।  सभाध्यक्षको रूपमा बीएम लामा, प्रमुख अतिथिको रूपमा गोरामुमो स्टेयरिङ कमिटीका केन्द्रीय सदस्य बीके राई उपस्थित थिए।

भुपेन गुरूङद्वारा सञ्चालित कार्यक्रममा स्वागत वक्तव्य गोरामुमो खरसाङ ब्राञ्चका सचिव युद्ध छेत्रीले राखेका थिए। कार्यक्रममा बोल्दै गोरामुमो केन्द्रीय सदस्य तथा तीनधारे सुकना समष्टिको सभापति जेबी गुरूङले पहाड़को राजनीति नै भड़काउने खाले भएको बताए।

‘पहाड़मा धूर्त स्यालहरू छन् जसले जातिलाई बचाउन सक्दैन। यहाँको सत्ताधारी पार्टीले गोर्खाल्याण्डको रोड म्याप के हो त्यो स्पष्ट बुझाउनुपर्छ अनि आन्दोलनको बौद्धिकताभित्र के के छ त्यो पनि स्पष्ट गरेको हुनुपर्छ,’ उनले भने।

कार्यक्रममा गोरामुमो स्टेयरिङ कमिटीको केन्द्रीय सदस्य तथा खरसाङ ब्राञ्चको पूर्व सभापति निमा लामा, प्रमुख अतिथि बी के राई र सभाध्यक्ष बीएम लामाले पनि सम्बोधन गरेका थिए। कार्यक्रममा विशिष्ट अतिथिको रूपमा गोरामुमो नेतृत्तवहरू पारस गुरूङ, जेबी गुरूङ, जेआर देवान, दुर्गा प्रधान चर्च गुरूङ लगायत अन्यहरू उपस्थित थिए।

कार्यक्रमपछि पत्रकारहरूलाई सम्बोधन गर्दै गोरामुमो स्टेरिङ कमिटीको केन्द्रीय सदस्य तथा खरसाङको पूर्व सभापति निमा लामाले भने, ‘हामीले छैंटौं अनुसूची सम्झौता दिवस कार्यक्रम पहाड़भरि नै मनाइरहेका छौं। आप्पा स्व. सुवास घिसिङले 6 दिसम्बर 2005 मा छैंटौं अनुसूचीको एकर्डमा सम्झौता गरेका थिए। जसलाई आज पनि हामीले पालन गर्दैछौं।’

उनले पार्टीका कार्यकर्ताहरू पहाड़को हरेक क्षेत्रमा भएकोले छैटौं अनुसूची विषयमा सबै जनतालाई बुझाउनु चाहेको बताए। निमा लामाले पत्रकारहरूले सोधेका विभिन्न प्रश्नहरूका उत्तर दिन्दै भने, ‘छैंटौं अनुसुची दिवस पानीघट्टा, मिरिक, खरसाङ, दार्जीलिङ, कालेबुङ क्षेत्रमा पालन गरिएको छ। गोरामुमोको मुख्य मुद्दा छैंटौं अनुसूची हो र यसको लागि नै पार्टीले पहल गरिरहेको छ।  2019 को चुनावमा के हुन्छ त्यो पछिबाट निर्णय हुनेछ। सन् 2005 मा नै छैंटौं अनुसूची लागु भएको भए पहाड़को अवस्था बेग्लै हुने थियो। जीटीएलाई पनि दागोपापलाई रद्द नगरी लागु गरिएको हो अनि दार्जीलिङ मोड़सम्म हाम्रो क्षेत्र थियो तर अहिले हाम्रो क्षेत्र घटेर सुकनासम्म आइपुगेको छ।’

निमा लामाले भने, ‘सरकारले गोर्खाल्याण्ड दिन्छ भने ठीकै छ तर दिँदैन भने छैंटौं अनुसूची नै उत्तम हुन्छ। दार्जीलिङ पहाड़मा चौकी, पैसा र सत्ता मात्र ल्याएका छन् नेताहरूले। तर यहाँको विकास भने केही भएको छैन। त्यसैले पहाड़को लागि छैंटौं अनुसूची विषयमा गम्भीरतासितले सोच्नुपर्ने हुन्छ।’

दार्जीलिङ :   गोरामुमोले दार्जीलिङ, खरसाङ, कालेबुङ, टिस्टा त्रिवेणीका साथै अन्य स्थानमा छैटौं अनुसूची सम्झौता दिवस पालन गऱ्यो।यसैबीच, गोरामुमो दार्जीलिङ शाखा कार्यालयमा आयोजना गरिएको यस समारोहपछि पत्रकारहरूसित कुराकानी गर्दै एड्वर्डले भने-सन् 1986-मा गोर्खाल्यान्डको हिंसात्मक आन्दोलन भए पनि गोर्खा जातिको जीत भएको थियो। तर सन् 2007-देखि यता गोर्खा जाति केवल हारिरहेको छ। तर अब 2019-देखि जातिको जीत हुनपर्छ। कलेजको चुनाउदेखि प्रत्येक चुनाउ नै जातिले जितेको हुनपर्छ, यसको लागि सम्पूर्ण जाति एकवद्ध हुनपर्छ।

यसका साथै आगामी 16 दिसम्बरको दिन गोरामुमोले स्थानीय गोर्खा दुःख निवारक सम्मेलन भवनमा छैटौं अनुसूचीमाथि चर्चा कार्यक्रमको आयोजना गर्ने तय गरेको जानकारी गराउँदै यसमा छैटौं अनुसूचीको फाइदा, नोक्सान सबैमाथि चर्चा गरिने भएको जनाए। उनले भने-छैटौं अनुसूचीमा जातिको लागि धैरे फाइदा छ, तर यसको विरोध गरेर हामी आफैले धेरै गुमाएका छौं। दार्जीलिङ पहाडमा निर्माण भएका वा भइरहेका विभिन्न विद्युत परियोजनाहरूबाट मात्रै यस क्षेत्रले वर्षमा लगभग 2 देखि 3 हजार करोड रूपियाँ बराबरको नोक्सानी झेल्न परिरहेको छ। जमीनको पर्जा-पट्टाको लागि संघर्ष गरिरहने कुनै आवश्यकता रहने थिएन। तर हामी आफैले यसको विरोध गरेर आफ्नै खुट्टामा बञ्चरो हानेका छौं। तरै पनि गोरामुमोले छैटौं अनुसूचीलाई पहाडमा भित्राउने प्रयास गरिरहेको छ अनि यो ल्याएरै छोड्नुपर्छ। छैटौं अनुसूची केवल गोरामुमोको मुद्दा होइन, यो सम्पूर्ण पहाडका जनताको मुद्दा हो।

यसैबारे आगामी 16 दिसम्बरको दिन अराजनैतिकरूपमा गोदुनिसमा चर्चा कार्यक्रमको आयोजना गरिने भएको छ। उनले भने-गोरामुमोको अन्तिम लक्ष्य गोर्खाल्यान्ड नै हो, यसैको लागि सन् 1985-मा गोरामुमोको स्थापना भएको थियो। तरै पनि वर्तमान समय छैटौं अनुसूची नै एक मात्र राजनैतिक समाधानको विकल्प हो। एक प्रश्‍नको उत्तरमा एड्वर्डले भने-11 वटा जात-गोष्ठीले जनजातिको मर्यादा पाए अति उत्तम हुनेछ। यसले छैटौं अनुसूचीको मुद्दालाई अझै टेवा पुग्नेछ। यसैलाई ध्यानमा राखेर गोरामुमोका संस्थापक अध्यक्ष सुवास घिसिङले सन् 1931-को जनगणनाको आधारमा गोर्खा जातिलाई हिल ट्राइबको दर्जा दिनुपर्ने माग उठाएका थिए। यसैले गोर्खा जातिका छुटेका जात-गोष्ठीलाई जनजातिको मर्यादा दिइन्छ भने यसलाई गोरामुमोले पूर्णरूपले स्वागत जनाउँछ। यसैबीच, गोरामुमो स्टेयरिङ कमिटी सदस्य एड्वर्डले आगामी शनिबार स्टेयरिङ कमिटीको प्रथम बैठक गरिने भएको जनाउँदै यस बैठकमा विभिन्न विषयहरूमा चर्चा-परिचर्चा गरिने जनाए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares