91 औँ गिरी जयन्ती: हायमनदास किराँतलाई पहिलो दान खालिङ पुरस्कार

सिलगढी, 27 दिसम्बर: नेपाली साहित्य साधनामा निरन्तर लागि पर्ने शताब्दी पुरूष हायमनदास राई किराँतलाई पहिलो दान खालिङ पुरस्कार प्रदान गरियो। सिलगढी नेपाली साहित्य संस्थानले सो पुरस्कार प्रदान गरेको हो।

आज सिलगढीको शिव मन्दिर स्थित न्यु रङ्गिया भवनमा सिलगढी नेपाली साहित्य संस्थानले आफ्नो छैटौँ स्थापना दिवसको अवसरमा 91 औँ गिरी जयन्ती पालनका साथै पहिलो दान खालिङ साहित्य सम्मान समारोह 2018 आयोजना गरियो। यसै अवसरमा शताब्दी पुरूष हायमनदास राई किराँतलाई पहिलो दान खालिङ पुरस्कारले विभूषित गरिएको हो। वृद्धावस्थामा रहेकाले किराँत कार्यक्रममा अनुपस्थित रहे।किरातको अनुपस्थितिमा उनकै सुपुत्रलाई नगद राशी 20 हजार रुपियाँ सहित स्मृति चिह्न र दोसल्लाह प्रदान गरियो।

आफू अनुपस्थित हुनुको कारण किरातले एउटा भिडियो मार्फत आयोजकलाई पठाएको थियो। कार्यक्रममा सार्वजनिक गरिएको भिडियोमा किरातले पहिलो दान खालिङ पुरस्कार आफूलाई चुनेकोमा आयोजकप्रति आभार व्यक्त गरे। आफू रहुञ्जेल साहित्य साधना र सेवामा निरन्तर लागि रहने प्रतिबद्धता पनि किराँतले जाहेर गरे।

पुरस्कारबारे बोल्दै सिलगढी नेपाली साहित्य संस्थानका सचिव देवचन्द्र सुब्बाले नेपाली साहित्यिक कृतिहरू राष्ट्रिय पुरस्कारको स्तरमा पुग्न नसकेकोमा खेद प्रकट गरे। ‘नेपाली साहित्यमा पनि राम्रा राम्रा कृतिहरू छन्’, उनले भने, ‘तर बिडम्बना के छ भने ति कृतिहरू राष्ट्रीय स्तर को पुरस्कारसम्म पुग्दैनन्। क्षेत्रीय स्तरमा पुरस्कार पाइसकेको कृतिहरूले राष्ट्रिय स्तरको पुरस्कारहरू पनि पाउनुपर्ने हो।’

नेपाली कृतिहरूले राष्ट्रिय स्तरको पुरस्कार पाउन नसक्नुको मूल कारण खुलाउँदै उनले भने, ‘नेपाली साहित्यिक कृतिहरूले राष्ट्रिय स्तरको पुरस्कार पाउन नसक्नुको मूल कारण हो अनुवाद। अनुवाद नभएरै हो नेपाली कृतिहरूले त्यस्ता किसिमको पुरस्कार नपाएको। यदि नेेपाली कृतिहरूले राष्ट्रिय एवं अन्तर्राष्ट्रीय स्तरको पुरस्कार पाउनु हो भने विभिन्न भाषामा अनुवाद गरिनु आवश्यक छ।’

कार्यक्रममा सिलगढी नेपाली साहित्य संस्थानद्वारा प्रकाशित साहित्यकार इन्द्रबहादुर राईमाथिको वार्ता सङ्कलन ‘इन्द्रनारायण’ पुस्तक लोकार्पण गरियो। कवि ज्ञानेन्द्र खतिवडाले साहित्यकार दान खालिङको जिवनी, एडोन रोङ्गोङले कवि गिरीमाथि वार्ता अनि समालोचक डा. कविता लामाले पर्यवेक्षकीय मन्तव्य प्रस्तुत गरे। कार्यक्रममा कवि सुधीर छेत्री, बासुदेव पुलामी, ज्ञानेन्द्र याक्सो अनि समन वान्तावाले कविता वाचन गरे।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया