अगमसिंह गिरीको चर्चित कविता

केवल तिमी तिमी नै हो कि चिन्न आएको म

तर, तिमी त यहाँ नचिनिने भएछौ!


 

तिमी त  यहाँ नचिनिने भएछौ!

गालाका रगतहरू सुकिसकेछन्

आँखाका ज्योति सब हराइसकेछन्

तिमी ता रूँदारूँदै निदाएको

बालकजस्तो

कठोर कारागारको यातानाभोगी

विरक्त, बन्दीजस्तो

गाँस खोसिएको बास लुटिएको

विह्वल हतभागीजस्तो

कस्तो कस्तो भएछौ

 

तिमी ता यहाँ नचिनिने भएछौ!

 

अतीत- गौरवले धपक्क बलेको

अघिको चहकिलो अनुहारमा

ग्लानिका विषाक्त रेखाहरू कोरिएछन्

पहाडका वैशाखी बनमा

तिमी जङ्गली फुल झैं हँसिलो देखिन्थ्यौ

तर अब ता चेहेरामा तिम्रा

विषाद्का काला धर्साहरू कोरिएछन्

चोटमा झुक्न होइन बरू सहन सिकेछौ

अब ता अर्कै अर्कैजस्तो भएछौ

तिमी ता यहाँ नचिनिने भएछौ!

 

तिमी को हौ चिनाउन आएको होइन म

बितेको गौरवगाथा कहन आएको होइन म

तिम्रा संतप्त छातीका पीरहरू उखेल्न आको होइन म

सजिलै खोसिएको गाँस

हलुकै लुटिएको बास दिलाउन आएको होइन म

छातीको त्यो गहिरो खोपिल्टा पुर्न आएको होइन म

निर्धा आँशुका धारा हेर्न आएको होइन म

केवल तिमी तिमी नै हो कि चिन्न आएको म

तर, तिमी त यहाँ नचिनिने भएछौ!

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया