गिरी डिस्कोर्स : के हो त गिरीका दुःखवाद र जातीयताबोधका कारण?

डिस्कोर्स

Ignorant  जाति भएका भए ढुक्कै बस्थे होलान् तर जातीय सङ्गठनहरू बनिसकेको स्थिति थियो, जातीय एकताको सञ्चरण भइसकेको बेला थियो। निम्नमध्यम वर्ग मध्यम वर्गको उदय भइसकेको स्थिति थियो। चेतना नै दुःखको कारण हो भनिन्छ। स्वाभिमानको सुरुवात पनि। के यी नै होलान् गिरीका दुःखवाद र जातीयताबोधका कारणहरू – मनन गरौँ न!


सुधीर छेत्री


कति अध्येताहरूले कवि अगमसिंह गिरीलाई दुःखवादी कवि देखे, जस्तो कि डा. इन्द्रबहादुर राईले भन्नुभयो -‘दुःखवाद नै गिरीका दिन र दृष्टि हो, रात र स्वप्न हो।’

कति समीक्षकहरूले गिरीको जातिवादमा शोषित श्रेणीको आर्तनाद देखे, जस्तो कि डा. कुमार प्रधानले भन्नुभयो -‘अगमसिंह गिरीका कवितामा जातीय भावना वा जातिवाद वास्तवमा एउटा शोषित श्रेणीको पिर र मर्का हो।’

कति समालोचकहरूले गिरीका कविताहरूमा राजनैतिक चेतना र क्रान्तिकारी तत्त्वहरू भेट्ट्याए, जस्तो कि गुमानसिंह चामलिङले भन्नुभयो -‘नेपाली काव्यमा जुन सामाजिक र राजनैतिक चेतनाको उदय भयो, त्यसको प्रचण्डता हामी गिरीमा पाउँछौँ।’ अनि अझै भन्नुभयो – ‘उनी जातीय स्वत्व अनि स्वतन्त्रताको अन्तर्राष्ट्रिय अभियानमा सम्मिलित एक क्रान्तिकारी नेपाली कवि’ हुन्।

अथवा शङ्कर लामिछानेले भन्नुभयो -‘हामीले उनका क्रान्तिकारी रचनाहरू सुन्यौँ।’

कति अध्ययनकर्ताहरूले कवि गिरीलाई नेपाल र भारतका सांस्कृतिक साँघुका रूपमा हेरे – जस्तो कि डा. जस योञ्जन प्यासी भन्नुहुन्छ -उनी ‘नेपाली जातिलाई मुटुमा राखेर नेपाल र भारतलाई छुट्ट्याएर नहेर्ने कवि’ हुन्।

गिरीमाथि गरिएका अध्ययनहरूमा अझ अर्को रोचक र अलग धारका टिप्पणीहरू भने प्रगतिवादी साहित्यकारहरूबाट आएका छन्। प्रगतिवादमाथि वा भनौँ साहित्यलाई विकाशोन्मुख यथार्थसित सोझो सरोकार स्थापित गर्न चाहने लेखकहरूका निम्ति गिरी आदर्श छन्। उनीहरू 1970 मा प्रकाशित गिरीद्वारा रचित लामो कविता ‘युद्ध र योद्धा’-लाई मुक्तिकामी राजनैतिक दस्तावेज मान्छन्। सामन्तवाद र साम्राज्यवादमाथि गत्तिलो प्रहार मान्छन् अनि ‘युद्ध र योद्धा’-को प्रकाशन वर्ष 1970 साललाई भारतीय नेपाली साहित्यमा एक माइलखुट्टी ठान्छन्। यतिमात्र होइन, 1970 सालदेखि यता साहित्यमा जनमुखी साहित्य लेख्ने कार्यमा ठुलो भौँप्वाल परेको देख्छन्। अनि इन्द्रबहादुर राईले ‘युद्ध र योद्धा’-को भूमिकामा लेख्नुभएको टिप्पणी गिरीको काव्यधारा ‘वर्तमानको याथार्थिक स्थितिदेखि उम्केर जाने दूरत्वको भावाश्रय’ हो -प्रति असहमति प्रकट गर्छन्।

यी भए गिरीबारे स्थापित भइसकेका विभिन्न विचारहरू। सबैका भनाइमा तर बाहिर भिन्नता देखिए पनि भित्र दुईवटा कुरा मिल्न आउँछन् – एउटा हो गिरीका कवितामा रहेको स्वच्छन्दतावादी वृत्ति अनि अर्को हो गिरीमा रहेको जातीयताबोध र स्वत्वको भाव। गिरीले लेखेका पनि छन् –

‘मैले मेरो जातिलाई सक्रिय माया जनाएको

एउटा अर्थपूर्ण बेला

यदि छ भने मसँग बाँचोस्।’

गिरीमा निहित रहेको दुःखवादको स्रोत खोज्नु अथवा गिरीमा रहेको जातीय प्रेमको प्रेरक र उत्प्रेरक तत्त्वहरूको खोजी गर्न त पुरै इतिहासको व्याख्या चाहिन्छ। तर केही प्रश्नहरूको उठान गरेर कुरा उप्काउन भने सकिन्छ –

गिरीले किन ‘युद्ध र योद्धा’ लेखे?

गिरीमा किन नेपाल र भारतमध्ये एउटा देश छान्न नसक्ने ambivalence  छ? के यो त्यस समयको साझा चेतना थियो?

किन उनी अनि उनका समकालीनहरूमा ‘डायस्पोरा’-को भावना भन्न सकिने वृत्ति थियो?

किन ‘युद्ध र योद्धा’ जस्तो काव्यमा पनि उनको स्थायी प्रवृत्ति जस्तो बनेर स्वच्छन्दतावादी लेखाइ छिरेको छ?

यस्ता प्रश्नहरू छन् जसका उत्तरहरूमा हाम्रै समसामयिक अस्तित्वहरूले डाकेका केही जिज्ञासाहरू पनि उत्तरित हुन सक्नेछन् कि।

यतिचाहिँ भन्न सक्छौँ, रोमान्टिक स्तरमै भए पनि आफ्नै भनेर मानेको देश नेपालसित अबउसो राजनैतिक रूपमा कहिले जोड्न नपाउने त्रास उनमा थियो। यसको कारण भने नेपालको गौरव, गरिमा महत्त्व र सुखभन्दा अधिक उनमा थियो, भारतमा नेपाली जातिमा रहेको परकीयताको भाव, बिरानोपनको भाव। Benedict Anderson ले भनेका छन् – Nation भनेको imagined community हो, जसमा साझा मान्यता, साझा इतिहास, साझा संस्कृति हुने गर्छ। गिरीलाई यही imagined community भित्र आफ्नो जातिले स्पष्ट परिचय उभ्याउन नसकेको-नपाएको पीडा थियो, आफ्नोपना, स्वाभिमान र स्वत्व विलुप्त हुँदै गइरहेको पीडा थियो। वरिपरि अवश्य देखे शोषण, हेपाइ, तिरस्कार अनि जातिको दारुण स्थिति। अर्थमा, सामाजिकतामा, राजनीतिमा सम्भागी हुन नसकिरहेको विकट स्थिति। गरिबी, अभाव, अधोगति जस्ता कुराहरूले जातिलाई गाँजिरहेको स्थिति।

भारतको कलिलो Nation-State पूर्ण रूपले ‘आधुनिक’ मान्यतामाथि आधारित थियो। पार्थ च्याटर्जी भन्छन् – औपनिवेशिक मान्यतालाई अँगालेर नै भारतको राष्ट्रवादी स्वतन्त्रता सङ्ग्राम चलेको थियो। स्वतन्त्रतापछि त ‘राष्ट्रवादी’ वा Nationalist नीति चल्ने नै भयो। यस्ता नीतिले ससाना न्यारेटिभ्सलाई ठाउँ दिने होइन। विकास, एकता, गणतन्त्र, राष्ट्रप्रतिको समर्पण भाव जस्ता आधुनिक मान्यताभित्र बाँधिँदै गरेको Nation-State भारतभित्र हामी गोर्खालाई औपनिवेशिक स्वार्थमै भए पनि दिइएको उपाधि ‘वीर गोर्खा’ स्वतन्त्र भारतमा मूल्यविहीन भयो।

‘अतीतको गौरवले धपक्क बलेको

अघिको चहकिलो अनुहारमा

ग्लानिका विषाक्त रेखाहरू कोरिएका छन्।’

अर्जुन अप्पादुराईले Modernity at Large भन्ने किताबमा भनेका छन् – INA बाट फर्केका समर्पित योद्धाहरूले पनि स्वतन्त्र भारतमा यस्तै alienation खप्नु परेको थियो। उनले आफ्नै बाजेको उदाहरण दिएर Nationalism  र Patriotism का पार्थक्यहरू बताएका छन्।

देश भएर पनि देश नहुनु ठुलै पीडा हो। भुटानी शरणार्थीहरू पनि कतिले अमेरिका, क्यानेडातिर आत्महत्या गरेका खबर सुन्छौँ।

Ignorant  जाति भएका भए ढुक्कै बस्थे होलान् तर जातीय सङ्गठनहरू बनिसकेको स्थिति थियो, जातीय एकताको सञ्चरण भइसकेको बेला थियो। निम्नमध्यम वर्ग मध्यम वर्गको उदय भइसकेको स्थिति थियो। चेतना नै दुःखको कारण हो भनिन्छ। स्वाभिमानको सुरुवात पनि।

के यी नै होलान् गिरीका दुःखवाद र जातीयताबोधका कारणहरू – मनन गरौँ न!

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares