अम्बरको यादमा गिरी

 उसले यहाँ रचेको उसको उत्कृष्ट रचना ‘क्यान्टेटा’ पनि समुद्रपारिका देशहरूमा सङ्गीत–श्रोताहरूलाई मुग्ध पार्दै गुञ्जाउला, तर त्यसबेला ऊ हाम्रो दार्जीलिङे अम्बर नभएर नेपालको अम्बर भएको हुनेछ। अम्बरलाई विदेशले ‘दार्जीलिङे’ भनेर चिन्दैन, चिन्ने जरूरत पनि हुँदैन र ऊ हाम्रो भएर पनि हाम्रै हुनसक्दैन। हामी त केवल गौरवले उचालिन्छौँ– हाम्रो अम्बर गुरूङ भनेर।


हामी सबैको प्यारो अम्बर गुरूङ नेपाल जान्छ, दार्जीलिङदेखि टाढिएर। ‘दियो’को आधुनिक दार्जीलिङ विशेषाङ्कमा अम्बरले नै स्वर भरेको मेरो एक कविता छापिन्छ। वेदनामिश्रित स्वरमा अम्बरले बेलाबेलामा गाएका दिनहरू अहिले सम्झन्छु–
नजाऊ फर्की नेपाल उठेर भन्छ देवराली
फर्केर हेर मुङलानको मायालु पाखा चियाबारी

मेरो यस रचनाका शब्दशब्दमा उसैको स्वरको हृदयग्राहिता थियो। यसको सङ्गीतको सारा वेदना र पीडा मेरा कविताको पदपदमा उसले नै यसरी नै भरिदिएर सजीवता दिएको थियो। यी पङ्क्तिहरूमा त झन् अम्बर मभन्दा पनि धेरै रोएको छ, उसका रोदनहरू म आज पनि सुनिरहेछु–
शीतका थोप्ला चुवाई रोएको बिहान देखेर
हजार घाउ लुकाई सुतेको चिहान देखेर
पहाडपारी नजाऊ निदालु आँसु लिएर
साउती मारी भन्दछ देउराली डाँडा उठेर…

आज म पनि मेरो मनको एकान्तका अम्बरलाई सोधिरहेको थिएँ– यो सानो धर्तीको मोहलाई छाडेर नेपाल पस्नका अनगन्ती मौन कारणहरू। आज मसितै ननिदाएको मेरो एकाङ्गी रातले पनि मेरो प्यारो भाइ अम्बरलाई सम्झिरहेको छ– यो सानो रामाइलो ‘आफ्नै धरती’– को सम्पूर्ण मोहहरू लिएर। अहिले रात्रिको सुनसान निस्पतब्धतामा म उसका स्मृतिहरू खोज्दै मेची वारिपारि गरिरहेछु– ऊ काठमाडौंको कुनै शून्य कोठामा एक्लै निदाइरहेको हुन्छ– दार्जीलिङकै सपना आँखाका डिलडिलमा झुन्डाएर।

त्यही काठमाडौं, त्यही पहाड, त्यही खोल्सा, त्यही भर्‍याङ, त्यही चाँपगुराँका वनपाखाबाट कैयन विवशता बोकेर, बाध्यताले घचेट्दैलखेट्दै यहाँसम्म ल्याएको थियो हामीलाई–
सुनको सपना आँसुमा किन हो बाँधिहाल्यौ नि
घरको माया बिर्सेर किन पो यहाँ आयौ नि…

हामी दुईको बिलौना, मेचीवारिका आकाशहरू हुँदै हाम्रा इच्छा, आशा, आकाङ्क्षाहरू विचूर्णताहरू लिएर ‘धरहरा’ छुन पुगेको थियो–
नसम्झ आज नेपाली सन्चोले यहाँ बाँचेको
काँडाकै माझ फूल छैन र कहाँ हाँसेको

ऊ मेरा आँसुमा आँसु मिसाएर रोएको थियो पीडा र विक्षोभका भावनाहरू यसरी नै साटासाट गरेका थियौँ हामी दुई दाइभाइले।

हाम्रा बिलौनाले डाँडापारिका पहाडहरू ब्यूँझे, देउराली लेकाली डाँडाहरूले, खोल्सा र भञ्ज्याङ र गुराँसे वनहरूले हामीलाई टिठालु बनेर डाके–
फर्क है फर्क नेपाली
तिमीलाई डाक्छ हिमाली…

हामी फर्कनु सम्भव छैन यो रानीपहाडको मायालाई बिर्सेर। नेपाली रगत र पसिनाले सिञ्चन गरेको यो मायालु पाखामा हामीले धेरैधेरै आकाङ्क्षा छरेका छौँ। यो सानो धरती हामीलाई अतीव प्रिय छ। यो माटाको माया लिएर हामीले यहीँ बाँच्नुपर्छ– सङ्घर्षका जटिल दिनहरू कुरेर। समयको तीतो घातप्रतिघातलाई मुटुमा झुन्डाएर यहीँ बाँच्नुपरेको छ र मर्नु पनि– उसका र मेरा विचारहरू मिल्थे। म आफ्ना भावनामा गुनगुनाएँ एक दिन अनि ऊ उसैको सङ्गीतको वेदनाभित्र गुनगुनायो–

सुन है सुन नेपाली हामीलाई डाक्छ हिमाली
आँसुका बिन्ती पोखेर रगतको माया सँगाली
आमाको स्यार नपाई फक्रेको यहाँ फूल यो
आमाको प्यार नपाई लत्रेको यहाँ फूल यो
हुरी र झरी अँध्यारो उठेर बोल्छ जीवन
चट्टानमाथि फुलेको फूल उखेली ल्याऊ नभन
रगतको थोपा पसिना, पुछेर आऊ नभन
नडाक हिमाल हामीलाई अस्तित्व यहाँ बिलाउँछ
नडाक पहाडपखेरो जातित्व हाम्रो निदाउँछ
आँसुका माया छरेर गण्डकीकोसी नडाक
लेकाली डाँडा नडाक, महाकाली मेची नडाक
हामीले यहीँ हेर्नु छ, ब्यूँझेको नौलो बिहानी

हो, हामीले यहीँ एउटा नौलो बिहानी खोज्नु छ, दाइ अम्बरले मलाई भनेको थियो। मेरो शब्दरचनामा उसका सारा सन्तुष्टिहरू पोखेको थियो। प्राणपूर्ण सङ्गीत र स्वर भर्न अनि ऊ हतारिएको थियो। सफलतापूर्वक भर्न सकेको पनि थियो। अनि आज उसको यहाँको अनुपस्थितिमा म सम्झन्छु– उसको निश्चय नै आफ्नो क्षेत्रमा यहाँ एक नौलो बिहानी ल्याउने प्रयत्न गरिरहेको थियो कि वा भनूँ ल्याई नै सकेको थियो। हामी प्रत्येकले कला, सङ्गीत, साहित्य इत्यादिका आआफ्नै क्षेत्रमा नौलो बिहानी बोलाउन सक्यौँ भने हाम्रो अस्तित्व बल पाउँछ र हामी दरिला हुन्छौँ।

हामीले अम्बरलाई धेरै स्वागतहरू दियौँ ऊ जता जान्छ मालैमाला पाउँछ। उसका बारेमा भाषणहरू भए। न्याना प्रशंसाहरू थुप्रै छरिए, ऊमाथि तर उसका बचाइका क्षणहरूलाई यति नै यथेष्ट थिएन उसको जिउने आधार भने भत्कँदै गइरहेथ्यो।

सरकारी चाकरी उसले छाडिदियो अनेकनले उसलाई दोस्याए। त्यस चाकरीबाजमा कलाकारको स्वतन्त्र व्यक्तित्वको कुठाराघात अनुभव ग¥यो उसले। सङ्गीतकार र गायक अम्बर गुरूङ त्यहाँ पुगेर आफूलाई मरेको पायो– कलाकारहरू आफ्नै धारणाहरू टेवामा उभिएका हुन्छन्। सरकारी नियन्त्रणहरूमा उसका प्रतिभा, योग्यता र क्षमताहरू कुजिँदै गएको देख्यो उसले। रक्सी पिउँदै गरेको एक साँझ उसले मलाई भनेको पनि थियो– ‘म नोकरी छोड्छु,’ ‘सोचेर निर्णय गर्नुहोस्’– मेरो छोटो उत्तर थियो। निष्कर्षमा पुगेछ ऊ– उसले बन्धन रूचाएन।

दार्जीलिङ सहर, महँगीले मुख बाइरहेको बेला ऊ हाकाकारमा एक्लै निस्कियो। धनी बाबुको धनी छोरो थिएन अम्बर। नियन्त्रणमा कुण्ठित बनेर बाँच्न नचाहने कलाकार अम्बरले परिस्थितिका एकएक जटिलताहरू सामना गर्दै गइरह्यो, जुन सम्भावनाहरूलाई उसले अघि नै देखिसकेको थियो। समयका घातप्रतिघातसित भिड्दै गइरहेको अम्बरलाई हामी हाम्रा नाङ्गा आँखाले हेरिरह्यौँ मात्र– उसका अमूल्य सङ्गीत प्रतिभाको फोस्रो गुणगान गर्दै।

स्वास्नी, छोराछोरीका निम्ति त ऊ कलाकार थिएन, उसले यो पनि निश्चय बुझेको थियो। यसको अघि संसारको नाङ्गो व्यवहारिकता पनि उभिएको थियो, यो पनि अम्बरले नबुझेको होइन क्यार। ऊ जहिलेतहिले सङ्गीतकार भइरहन कहाँ पाउँथ्यो र उसले कसैको लोग्ने र कसैको बाबु त बन्नु पथ्र्यो। चाकरीको बन्धनबाट फुत्केको अम्बर गृहस्थीको कर्तव्य र जिम्मेवारीबाट पृथक् रहन त सक्दैन थियो। कलाकारसित व्यवहारिकता पनि बाँचेकै हुन्छ।

अम्बर र उसका कलाकारलाई यदाकदाले मात्र बुझेँ– सहयोग, सहानुभूति र आत्मीयता उसले चिताए जति पाएन– कारण चाकरी छोड्नु नै उसको दोष थियो। बाँच्न त ऊ उसै सक्थ्यो। दाल, भात, डुकूको समस्या मात्रले ऊ हामीबाट टाढिएको हुँदैहोइन। नयाँ क्षितिज खोज्दै, आफ्ना क्षेत्रमा टाढाटाढासम्म पुग्ने उसका धारिला आकाङ्क्षाहरू परिपूर्तिका निम्ति सामूहिक रूपमा त्यस्तो कुनै क्रियात्मक सहयोग उसले यहाँ पाउन सकेन। हामीले हाम्रा माया र सहानुभूतिहरू सायद अम्बरका चिहानमा चढाउनलाई साँचिरह्यौँ– मृत्युपछि दिइने आडम्बरपूर्ण श्रद्धाञ्जलिको रूपमा– एक कोरा श्रद्धाञ्जली!

मेरो आजको अनिँदो रात गहिरिँदै गइरहेछ। कहिलेकाहीँ दुवै दाइभाइ रक्सीको रन्कोमा गुनगुनाउँद्यै हिंडेका दार्जीलिङका अलकत्रे सडक पनि शून्यतामा गुटमुटिएका छन्। अहिले– भरदिनका थोत्रा र विरक्ति पदचापहरूबाट एउटा क्षणिक मुक्ति गरिरहेकै छन्। काठमाडौंका शून्य कोठामा निदाइरहेको अम्बर सपनामा पनि भनिरहेकै हुन्छ–
नजाऊ फर्की नेपाल उठेर भन्छ देउराली
फर्केर हेर मुङलानको मायालु पाखा चियाबारी…

बाध्यता उसको अनुहारभरि छरिएको छ, विवशता र लाचारीका धर्साहरू कोरिएका छन् निधारभरि। आँखाका डिलहरू एक अव्यक्त वेदनाका आँसुहरूले रसिएका छन्। पशुपतिका शङ्खघण्टीले ब्यूँझाएको बिहानीसित ऊ ब्यूँझनेछ र नेपालको बिपनासितै मिसिनेछ।

अनि मलाई भाइ अम्बर गुरूङ नेपाल पुगेर लेखेको पहिलो पत्र यहाँनेर झिकेर पढ्न मन लाग्छ। २८ अक्टोबर ६६ को पत्रमा ऊ लेख्छ–

नेपाल राजकीय प्रज्ञाप्रतिष्ठान, कला विभाग
कमलादी, काठमाडौं, नेपाल।

श्रद्धेय गिरी दाइ,
आज मात्र चिट्ठी लेख्ने अवसर जुर्‍यो नयाँ ठाउँमा, नयाँ व्यवस्थापन गर्न परेकोले योभन्दा अगाडि लेख्न सकिनँ, क्षमा गर्नुहोला।
तपाईंलाई बिर्सने कुरै आउँदैन तपाईंमा त्यो व्यक्तित्व छ, जो सधैँ नै प्रियताले घेरेकै हुन्छ। यता एकाध समयदेखि हाम्रो भेट प्रायः हुन सकेको छैन। हामी दुई आआफ्ना समस्याहरूप्रति बेग्लाबेग्लै भएर उभिनुपर्‍यो र मचैँ कसरी कसरी उछिट्टिएर यति टाढा आइपुगेँ र टाढिनु पर्‍यो ती प्रियताहरूदेखि।
लागेको पनि हो, दार्जीलिङ आमरण छोड्दिनँ र पनि सर्वथा उल्टै भयो। त्यहाँका सङ्ग्राममा प्रसाधनको कुनै पनि उपलब्धि थिए र यता आइपुगेँ र देख्छुजुन कुराहरूको साधन त्यहाँ प्राप्त थियो, यता छैन। आफैलाई लाग्दछ म आँधीले हुत्याएको त्यो व्यक्ति हुँ जो मझधारमै पनि पर्न सक्छ अथवा किनारा भेट्टाउन पनि पुग्न सक्छ। यही रिस्कमा जीवनको कुनै क्षेत्रमा पनि आफूलाई उभिएको पाउँछु, अरू भेटमा भनूँला। अब तपाईंबाट सुन्ने उत्कट इच्छा भइरहेछ। अर्केस्ट्र प्राक्टिस गर्न जानपरेको छ, आजलाई बिदा। भाउज्यूहरूमा मेरो सादर सम्झना। सम्झनाका दुई शब्दहरू अवश्यै लेख्नुहुन्छ भन्ने लागको छ।
भाइ (प्यारो भाइ)
अम्बर गुरूङ

यस पत्रले अम्बरलाई हामीबाट बिछोडिएर नेपाल जानाको कारण भन्छ, तर थोरै शब्दहरूमा। ‘अरू भेटमा भनूँला’ यसैले भन्छ ऊ। निद्रा नपरको आजको रातले एक्कासि अम्बरका सम्झभनाहरू डाकिल्याएछन्। यस लेखलाई कहीँ छपाएर एक प्रति उसलाई नै पठाएर भनूँला तपाईंको गिरी दाइले सम्झनाका दुई शब्द यसरी नै लेख्न सक्यो है भाइ!

अब रात भासिँदै गइरहेछ– मैले एकपटक राम्ररी अम्बरलाई फेरि आज सम्झेको रात। ‘प्यारिस, रूसतिरबाट पनि अम्बरलाई निम्ताएको छ रे’ एक धनाढ्य कन्ट्रयाक्टरले मलाई दुई एक दिनअघि भनेका थिए– ‘अम्बर हाम्रो गौरव हो।’ अम्बर यहाँ बसुन्जेल सायद उसले अम्बरलाई बुझेर पनि नबुझेझैँ गर्‍यो, तर आज उसैलाई ‘हाम्रो अम्बर’ भन्ने फोस्रो धाक छ।

प्यारिस, रूस मात्र किन संसारका विभिन्न सङ्गीत समारोहहरूमा अम्बर उभिन्छ– कैयौँ हार्दिकता थपेर। त्यो सौभाग्य उसले यहाँ पाउने नै थिएन। हामी यताका कवि, लेखक, कलाकारहरूले विदेश–भ्रमणको कल्पनासम्म पनि नगरे हुन्छ। विदेशका सङ्गीत–मञ्चहरूमा अम्बर पुग्दा हामी फोस्रो धाक लगाउन बाहेक अरू केही गर्न सक्दैनौँ अब। न ता अम्बर स्वयम्ले मुख बाएर भन्नसक्छ– ‘बुझ्यौ, म पहाडकी रानी, सुदूर दार्जीलिङबाट यति टाढा तिमीहरूलाई सङ्गीत सुनाउन आएको हुँ’ भनेर। उसका सङ्गीतमा दार्जीलिङको मुटुको वेदना गुनगुनाउला यहाँका बिलौना, यहाँका आँसु, यहीँको हाँसो उसका सङ्गीतहरूले भन्ला। चियाबारीका पीडा र आर्तनाद, यहाँ नेपालीहरूका पीरमर्का दार्जीलिङकै परिवेशभित्र सृजना गरेका यस्तै अनेकौँ रचनाहरू ऊ मुक्त स्वरले गाउला विदेशका भूमिहरूमा। उसले यहाँ रचेको उसको उत्कृष्ट रचना ‘क्यान्टेटा’ पनि समुद्रपारिका देशहरूमा सङ्गीत–श्रोताहरूलाई मुग्ध पार्दै गुञ्जाउला, तर त्यसबेला ऊ हाम्रो दार्जीलिङे अम्बर नभएर नेपालको अम्बर भएको हुनेछ। अम्बरलाई विदेशले ‘दार्जीलिङे’ भनेर चिन्दैन, चिन्ने जरूरत पनि हुँदैन र ऊ हाम्रो भएर पनि हाम्रै हुनसक्दैन। हामी त केवल गौरवले उचालिन्छौँ– हाम्रो अम्बर गुरूङ भनेर।

पूर्वका पहाडका मिर्मिरे उज्यालाहरू खस्दैछन् मेरा स्मृतिका आँखाहरूबाट भाइ अम्बर गुरूङ ओझलिँदै गइरहेछन् अहिले। सम्झना अवश्यै फेरिफेरि दोहोरिँदै जाला।

(अम्बर गुरूङको कहाँ गए ती दिनहरू?’ पुस्तकबाट)

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया