अगमसिंह गिरीको चर्चित निबन्ध

सम्पादकीय नोट

च्याप्टो साहित्यको जगमा आजको समाज

बैरागी काइँलालाई अगमसिंह गिरीले सोधेछन्- ‘अब त जसो गरेर लेखे पनि कविता हुने भइहाल्यो नि होइन त, बैरागीजी ?’

तर काइँला बोलेनन्। उनले नबोलेरै जिते। काइँलालाई लाग्छ, उनलाई गिरीले ‘रिसाएजस्तो व्यङ्ग्य गरे।’

‘मसँग उनको पेच पार्ने कुरा गरेको यही नै पहिलो र अन्तिम थियो होला,’ काइँला भन्छन्, ‘एउटा धारको नेतृत्व गरेर प्रतिष्ठित भएका, कहलिएका सर्जकको अहम्मा हाम्रा गतिविधिले चोट पुगेछ।’

वास्तवमा गिरी रिसाएकै चाँही होइनन् तर उनका केही आग्रहहरू थिए। केही भन्नु थियो उनलाई। उतिखेर साहित्यमा नयाँ प्रयोगको प्रोपोगान्डादेखि बाहिर बसेर अघिल्ला साहित्यिक मान्यताहरूलाई अथवा यसका इतिहासलाई सम्मान गरियोस्, ठान्थे गिरी। तर नयाँहरू चाँही अघिल्ला लेखनलाई नै ‘च्याप्टो’ भनेर उडाउँथे।

च्याप्टो अर्थात एक आयामी। नयाँहरूलाई लाग्थ्यो, गिरीहरू स्वच्छन्दवादी पखेटामा बसेर जसरी उडिरहेका थिए, त्यसले त कतै पुऱ्याउँदैन। त्यो उडान च्याप्टो उडान भयो। जीवन र जगतलाई त अरू आयामले पनि हेर्नुपर्छ।

त्यसपछि आयो तेस्रो आयाम। गिरी भन्थे, ‘नयाँको आड़मा अरूबाट सम्पूर्णतया अनुकरण गरेर आफ्नो निजी व्यक्तित्वलाई गुमाउन खोज्नेहरूसँग भने हामीलाई खेद छ।’

अगमसिंह गिरीको चेतना सङ्कटमा परेको भारतीय गोर्खाहरूको चिन्हारीतिर लहसिँदै थियो। उनले 1959 मा प्रकाशित गरेको आत्मव्यथा चर्चाको शिखरमा थियो। त्यही सङ्ग्रहमा उनले ‘नचिनिने भएछौ’ लेखेका छन्।

पहिलेपहिले गिरी नेपाल र भारतलाई एउटै देख्थे। उनी भाषाबाट छिरुन् वा संस्कृतिबाट छिरुन्, पुग्दा नेपाली व्यथामा नै पुग्ने। त्यो व्यथाको जनक देश त पक्कै थियो, तर त्यो भारत हो कि नेपाल? यो द्वीविधाको पेन्डुलम गिरीको चेतनामा हल्लिबस्थ्यो। त्यसै कारण उनको दुःखवादको जिलो केलाउन निक्कै गाह्रो कुरा हो भन्छन्-आलोचकहरू।

पछिपछि उनी त्यहाँबाट उक्लिए। र जातिप्रति आशक्त बन्दै गए। 60 को दशकबाट हुर्किएको जातीय चेतनाले 70 को दशकमा ‘युद्ध र योद्धा’  जस्तो जातिमुक्तिको दस्तावेज निर्माण गरिसकेको थियो। अथवा भारतीय नेपालीहरूले दार्जीलिङबाट आफ्नो ऐना हेर्न थालिसकेका थिए।

राजनीतिले गिरीय चेतनालाई सतहमा ल्याउँदै थियो। गोर्खालिगजस्तो राजनैतिक दलले जातियताको विचारलाई जीवन र समाजसित जोडेर रुपान्तरणको सपना देख्न थालिसकेको थियो।

अँ, बल्ल राजनीति र साहित्यले समानन्तर विचारलाई परिवर्तन र रुपान्तरणको नारा बनाउँदै थियो। तर, त्यही दशकमा तेस्रो आयामले साहित्यलाई अझ अग्लो विचारले उठाउने भए। बैरागी काइँलाले सम्पादकीयमा नै गिरीय लेखनलाई च्याप्टो भन्न थाले।

नेपालका बैरागी काइँलाले नेपाली साहित्यलाई बुझ्दा भारतको नेपाली र नेपालको नेपालीकोरूपमा लिएलिएनन्, तर मातेको मान्छेको भाषण मध्यरातपछिको सडकसित-को अन्तर्य नेपाली सङ्कटबाटै आएका विचार हुन्।

कविताको निश्चित भूगोल नहोला, तर त्यसले सम्प्रेषण गर्ने अर्थको भूइँले कवि बाँचेको इतिहास, भूगोल, संस्कृति र सत्ता टेकेकै हुन्छ।

गिरीय च्याप्टो साहित्यले जातिय चेतना सम्प्रेषण गर्दैथियो। अङ्ग्रेजको उपनिवेश खप्ने दार्जीलिङे समाजले अङ्ग्रेजबाट आफ्नो चरित्र निर्माणको लागि पाएको कुनै ठूलो कुरा थियो भने त्यो हो- हिप्पोक्रेसी।

अङ्ग्रेजिलो रवाफ। संस्कार। सभ्यता। बोलिचाली। हाउभाव। बोलिबचन। दृष्टिकोण, विचार निर्माणमा अङ्ग्रेजिलो मनोविज्ञानले साहित्यकार, पढेलेखेका मानिस र ठूलाबढालाई गोर्खेपनबाट पर धकेल्दैथ्यो। यस्तोमा साहित्यले पनि पश्चिमी सैद्धान्तिकी, भौतिकशास्त्र, समाजशास्त्र, आइडियोलजी, दर्शन, मिथहरू भाटभट टिप्दै ‘वैचारिक आन्दोलन’ गर्नेभएपछि अगमसिंह गिरी पीरमा परेका हुन्।

बैरागी काइँलाहरूलाई उनले त्यही पीर व्यक्त गरेका हुन्। रिस् होइन।

बैरागीहरू गिरीय पीडाको जरा भेट्न नसक्ने चेतनाका सर्जकहरू हुन्। उनीहरूका नयाँ प्रयोगले पुरानाहरूलाई चोट परेकोसम्म त बुझ्थे तर गिरीय चेतनाले समाजलाई दिनखोजेको दीर्घकालीन बाटोको न टुप्पो भेट्न सक्थे, न फेद। काइँलाहरूलाई त कहलिएका सर्जकको अहम्मा उनीहरूको गतिविधिले चोट पुगेको लाग्थ्यो तर गिरीलाई भने नेपाली कविको नेपाली व्यक्तिको छाप नेपाली कवितामा नपर्दा विस्मात लाग्थ्यो।

अहिलेको राजनैतिक समाजले पनि गिरीय जातियबोधबाटै समाज निर्माणको सपना देख्नेगर्छ। तेस्रो आयाम र लीलाहरूबाट समाज रुपान्तरणको कुनै आइडिया भारतीय नेपाली समाजले पाएन। साहित्यमा इबराहरूलाई जुनै स्थानमा राखियोस्, तर उनीहरूको साहित्यले समाजलाई गिरीय साहित्यलेजस्तो प्रभाव पार्न सकेन। अहिलेसम्म भारतीय नेपाली साहित्य गिरीय च्याप्टो साहित्यकै जगबाट उठ्न खोजिरहेको छ। च्याप्टो साहित्य नै समाजमा कामलाग्दो भएको छ।

आजको समाज गिरीय च्याप्टो साहित्यको जगमा नै उठ्दै गर्दा तेस्रो आयाम विश्वभरि छरिसकेको हुनुपर्ने हो कि? अब बहस गर्ने बेला भइसक्यो।

उतिखेर तेस्रो आयाम र च्याप्टो साहित्यबीचको द्वन्द्वलाई साह्रै खोतलियोखोतलिएन तर अब खोतल्ने बेला भइसक्यो।

धेरैले बैरागीहरूको पक्ष हेरेका छन्। तर उतिखेर गिरीहरू के भन्थे भन्ने थोरैले मात्र बुझेका छन्। गिरीहरूका कुरा बुझ्नको निम्ति यहाँ गिरीको एउटा निबन्ध प्रकाशित गरिरहेका छौं-


नेपाली कविता साहित्यमा नयाँ प्रयोग

नेपाली कविता साहित्यमा नयाँ प्रयोग शुरू भएको प्रायः 5-7 वर्ष भइरहेछ भन्ने मेरो अनुमान छ। कुनै पनि नयाँ प्रयोग साहित्यमा प्रादुर्भाव हुँदा, त्यसको समर्थन र विरोध हुनु स्वाभाविक हो। हिन्दी साहित्यमा अथवा हाम्रै साहित्यमा पनि छायावाद, रहस्यवाद, प्रगतिवाद वा यथार्थवादको प्रयोग हुनथाल्दा धेरै साहित्यिक चर्चा र वाद-विवाद चलेको हो।

पश्चिमतिरका साहित्य, चित्रकला, सङ्गीतमा नयाँपनहरू ल्याउन खोज्दा उताका कवि लेखक र कलाकारहरूले समर्थन र प्रतिवाद दुवैको सामना गर्नुपरेको हुँदो हो। अङ्ग्रेजी साहित्यमा 40-42 वर्षदेखि अनि हिन्दी साहित्यमा 20-22 वर्षदेखि यता कविता नयाँ दिशातिर मोड़िएर गएको थाहा पाइन्छ।

भानुभक्त पछिका लेखनाथ, बालकृष्ण, देवकोटा, सिद्धिचरणलगायत अरू अनेक कविहरूले नेपाली साहित्यलाई आधुनिकताको प्रकाशले उज्यालो पारे।

राणाहरूका निरङ्कुश एकातन्त्री शासनको चपेटमा परेर नेपाली साहित्यले विकासको बाटोमा धेरै अल्मलिनु पऱ्यो। कविहरूले आकाश, बादल, फूल सुन्दरीजल, ओखलढुङ्गा, सन्ध्या, खोला, उषा, घाँसीकै कल्पना जल्पनाको घेरोमा आफूलाई सीमित राख्नु पऱ्यो।

अभिव्यक्तिले स्वतन्त्र बाटो पाएन। तर समयको त्यस्तो जटिलतामा बाँधिएर पनि हाम्रा अग्रज कविहरूले नेपाली साहित्यलाई धेरै थोक दिनसके। पछिपछिका कविहरू आफ्ना अग्रजका प्रभावहरूबाट अक्षुण्ण रहन सकेनन् फलस्वरूप हाम्रो कविता-साहित्य धेरै कालसम्म एउटै दिशातिर बगिरह्यो।

हिन्दी साहित्यमा जस्तो छायावाद, रहस्यवाद, प्रगतिवाद वा यथार्थवादले कुनै दह्रिलो वा परिपुष्ट रूप लिन नपाउँदै एक सर्वथा नयाँ थरिको प्रयोग (अत्याधुनिक पनि भनिन्छ) 5-7 वर्षदेखि यता हाम्रो दृष्टिमा आइरहेछ। यसैले अब नेपाली साहित्यमा पनि नयाँ र पुरानो सम्बन्धी वाद-विवादको सङ्घर्ष चल्न थालिरहेछ।

संसारका अरू विकसित साहित्यमा समालोचक, विचारक, चिन्तक तथा अध्ययनशील प्रतिभाहरूको कमी छैन। यसैले उनीहरूले दृष्टिकोण नै फराकिलो र स्वच्छ छ। प्रयोक्ताहरू पनि नयाँलाई आफ्नो परिपक्वता र अध्ययनद्वारा राम्ररी छानबिन गर्ने कोशिश गर्छन्।

पाठकमा सतर्कता ब्यूँझिरहेको हुन्छ। उनीहरूका पाठक-समाज, उनीहरूका समीक्षक। पत्र-पत्रिका हुँदो कविताको नयाँ प्रयोगहरू निस्कन्छन्। पाठक आफ्ना प्रशंसा र निन्दाका पत्रहरू अनेकौँका संख्यामा सम्पादकलाई लेख्तछन्। आलोचनात्मक विचारहरूको ओइरो लाग्छ। पाठक-समाजको मानसिक तथा बौद्धिक स्तर उच्च भएको हुनाले उनीहरूका साहित्यमा एक जिउँदो गतिविधि जागिरहेको देखिन्छ।

यस दृष्टिले एकपल्ट हामी हाम्रो गतिविधि संसारलाई नियालौँ- नेपाल बिर्सिदिऔँ त्यसबेला। प्रवासको साहित्य, हाम्रो यहाँ मात्रको साहित्यिक गतिविधि हाम्रो दृष्टिमा उभाऔँ एकपल्ट। दार्जीलिङ, कलकत्ता, आसाम, देहरादून अनि भाक्सुसम्म हामी हाम्रो साहित्यिक परिवेश खोजौँ।

अनि यिनै परिवेशभित्र हाम्रो भाषागत अस्तित्व र साहित्यिक जीवन खोजौँ – नेपालसँगको समग्रताबाट छुट्टिँदा हामी पाउँछौँ केवल दार्जीलिङ शहरका दुई-एक कविले नयाँलाई खोजिरहेका। हातका औँलामा पनि गन्न नपुग्ने हाम्रा आलोचक र चिन्तकहरू छन्।

पाठकको बौद्धिक स्तर कहाँसम्मको छ, त्यो उसै अनुमान लाउन सकिन्छ। अरू जातिका विकसित साहित्य, उनीहरूका विकासका लामा अवधिहरू अनि हाम्रै साँघुरो साहित्यिक क्षेत्र र निस्सासिएको गतिविधिलाई आफू अघिल्तिर उभाएर – नयाँ खोज्नु र नयाँको विषयमा विचार गर्नुपरेको छ।

नेपाली भाषा मात्रको इतिहास केही पुरानो भए तापनि यस साहित्यको विकासको इतिहास 60-70 वर्षभन्दा पुरानो होइन। लेखनाथ, बालकृष्ण, सिद्धिचरणहरू अथवा नेपाली साहित्यका युग प्रवर्तकहरू भनौँ अझै बाँचिरहेका बेलामा, सय वर्षको सास पनि फेर्न नपाएको हाम्रो साहित्यिक विकासलाई दृष्टिमा राखेर नै हामीले नयाँलाई स्वागत गर्नुछ। नत्र भने हामी अन्योलमा पर्नेछौँ।

मलाई त लाग्छ – नेपाली कविता-साहित्य प्रारम्भिक कालदेखि आधुनिक कालतिर भर्खर भर्खर लम्किरहेछ। छन्दको मोहले अझ पनि धेरै कविहरूलाई तानिरहेकै छ। यस बन्धनदेखि मुक्ति चाहने नयाँ कविहरूले गद्य-कवितामा आफूलाई अभिव्यक्त गर्न थालेको पनि धेर भएको छैन।

यसैले हाम्रो साहित्यिक विकासको पृष्ठभूमिलाई ध्यानमा राख्ता नेपाली कविता साहित्यमा आइरहेको यो बिल्कुलै नयाँ प्रयोगले यस्तै अनेक जटिलता र द्विविधा थुपारिदिएकोमा गुनासो प्रकट गर्नु हाम्रो मूर्खता हुनेछ। तर नयाँको आड़मा अरूबाट सम्पूर्णतया अनुकरण गरेर आफ्नो निजी व्यक्तित्वलाई गुमाउन खोज्नेहरूसँग भने हामीलाई खेद छ।

नेपाली कविको नेपाली व्यक्तिको छाप नेपाली कवितामा नपर्दा विस्मात लागिरहेछ हामीलाई। हिजोआजको कवितामा कहीँ कहीँ मात्र कविताका लक्षणहरू पाइन्छन् अरू सब झिञ्जेटलाग्दो लेक्चरबाहेक केही हुँदैन। उदाहरणको निम्ति यहाँ अनेक कविताहरू उभाउन सकिन्छ तर यस लेखलाई आक्षेपपूर्ण तुल्याउने मेरो उद्देश्य छैन।

बुझ्दै नबुझिने लेख्नु अथवा अबोध्यता नयाँ प्रयोगको उद्देश्य होइन। बट्टारिएका भाषा, अर्थ न बर्थको प्रतीक, आधुनिक कविताको विशेषता हो जस्तो मलाई लाग्दैन। प्रतीकात्मक (symbolism) को आड़मा मनपरि फलाकेर आफूलाई नयाँ कहलाउन खोज्नेहरूसँग हाम्रो प्रतिवाद छ।

काव्यका नयाँ मान्यताहरूलाई हामी अस्वीकार गर्न सक्तैनौँ र हाम्रा नयाँ नयाँ कविहरूलाई विश्वका नयाँ साहित्यहरूले यदाकदा प्रभावसम्म पारेकोमा पनि हाम्रो मात्र गुनासो छैन। प्रभाव कुनै व्यक्तित्वलाई खुट्याउन सकेपछि मात्र पर्ने कुरो हो। अनुकरण र प्रभाव भिन्ना-भिन्नै लक्षणहरू हुन् जस्तो मलाई लाग्छ।

“हामीलाई पाठक चाहिँदैन”-नयाँ प्रयोक्ताहरूमध्ये कतिको यस्तो नारा पनि सुनिन्छ। पाठकलाई आँखामा झुण्डाएर कविले काव्य-रचना गर्दैन, यहाँसम्म स्वीकार गर्न सकिन्छ। कविमा ज्यादा सतर्कता आयो अथवा उ ज्यादै चेतनशील भयो भने उसले कविताका केही मुख्य गुणहरूलाई हराउन पनि सक्तछ।

असन्तुलित, अनियन्त्रित, असंयमित मनोस्थितिले उत्कृष्ट कविताहरू जन्माउनसकेको देख्न पाइएको छ। पूर्व योजनाअनुसार कविले काव्य-रचना गर्दा कविता मर्छ, केवल खल्लो विचार बाँचिरहेको हुन्छ भन्ने मेरो आफ्नो धारणा छ। कविता रचना गर्दा पाठक कविदेखि जत्ति न टाढ़ा भए तापनि कविता लेखिसकेपछि कविको चेतना, उपचेतनाले पाठकलाई खोजिरहेकै हुन्छ।

यस सत्यलाई उसले होइन भन्न कहिल्यै सक्तैन। नत्र आफ्नो रचना छपाउने प्रयोजन नै रहेन। गोष्ठीका मञ्चमा उभिएर कविता सुनाउने जरूरत किन? श्रोता चाँहिदो रहेछ। यसैले “पाठक चाहिँदैन” भन्नु सायद एक ‘आधुनिक स्वाङ’ सिवाय अरू केही होइन।

आज संसारैभरिका गतिशील साहित्यहरूमा विचारको नयाँ हलचल आइरहेछ। नेपाली साहित्य यस प्रभावबाट पर रहन रक्तैन। समयले बिस्तार-बिस्तार स्वागत गर्दै लानेछ नयाँलाई; तर नयाँलाई स्वीकार गर्ने बाध्यता कसैमाथि खनाउन खोज्नु एक अनुचित कदम हुनेछ।

पुराना मान्यताहरू समयले आफै भत्काउँदै लानेछ; यसमा हामीले अधैर्य हुनुपर्ने कुरा छैन। तर लेक्चर, सम्पादकीय टिप्पणी वा नारावादी लेखहरूले हिजोको आजै पुराना मान्यताहरू भत्केर जाने पनि होइनन्। पुराना मान्यताहरू इतिहास र परम्पराका दह्रिला टेवामा उभिएका छन् अनि अझै उभिने पनि छन्।

पुराना तरिकाले भाव-अभिव्यक्त छन् अनि अझै उभिने पनि छन्। पुराना तरिकाले भाव अभिव्यक्त गर्नेहरूलाई परम्परावादी भनेर होच्याउने वा दोष्याउने अनुकूल समय अहिले नेपाली साहित्यमा आइहालेको छैन। समयको एक अत्यन्तै छोटो अवधिमा किन नहोस् नेपाली काव्य साहित्यले इतिहास तयार पारेको छ।

अनेक कविहरूका उत्सर्ग, साधना र तपस्याबाट प्राप्त हाम्रो कार्यगत साहित्यिक मान्यता नयाँको बलमा भत्काइहाल्न सकिने कुरा पनि होइन।

जुनै तरिकाले काव्य रचना गरे तापनि त्यसको साहित्यिक महत्त्व र विशेषता स्थायी रूपले बाँचिरहन सकोस् र युगपछिका युगहरूलाई प्रभाव पार्दै लानसकोस्, यत्ति नै चाहिएको हो हामीलाई। हाम्रो सृजना वसन्तमै ओइलने फूल जस्तो नहोस् तर त्यसले एक स्थायी मान्यता कायम गर्न सकोस्।

भाषा, अभिव्यञ्जना, शैली, विधान र योजनाहरूमा परिवर्तन आउँछ, आइरहनेछ। अनि यिनीहरूका सङ्घर्षमा सबै रचनाकारका सम्पूर्ण रचनाहरू बाँचिरहदैनन् तर जे बाँच्नसक्छ त्यति नै साहित्य हो अनि यही स्थायित्वमा नै साहित्यले समृद्धिको उज्यालो पाइरहनेछ।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया