विमलसँग अहिले पनि अघोषित म्यान्डेड छ

विचार

विमलसँग अहिले पनि अघोषित म्यान्डेड छ। पहाडका मानिसहरूको अधिकांश मनमा विमल गुरुङमाथि अहिले पनि अपार विश्वास छ भने त्यो अघोषित म्याण्डेट हो। म्याण्डेट सदैव शक्तिशाली हुन्छ। राज्य सरकारले पहाडमा शान्ति फर्काएको दावी गर्छ तर बिमल गुरुङकोमा भएको गोर्खा स्वाभिमानसँग अहिलेसम्म डराइरहेकै छ। त्यसै कारणले अहिले पनि बिमलवादीलाई पक्राउ गर्ने काम बङ्गाल पुलिसले गरिरहेको छ।


बिरेन भुजेल


यो प्रश्न जति संवेदनशील छ, उत्तर त्यति नै महत्वपूर्ण छ। यो प्रश्नको जवाब दिनुभन्दा पहिला हामीले यहाँको राजनीतिको सबै घटनालाई सरसर्ती हेर्नु जरूरी छ। ८ जुन २०१७ मा भानुभवन, दार्जीलिङमा मातृभाषालाई दबाउने राज्य योजनाको विरुद्धमा जनता अनि पुलिसमा झडप भयो। यस दिन भाषाप्रेमी जनताले मुख्यमन्त्री ममता व्यानर्जीलाई विरोध जताउन भानुभवनमा प्रदर्शन गरेका थिए। जनआन्दोलनलाई समर्थन गर्दै बिमल गुरुङ पनि यस भेलामा आएका थिए। समस्याको शुरूवात बङ्गाल सरकारद्वारा बहुसंख्यकको भाषा अल्पसंख्यकमाथि थोपर्ने अधिनायकवादी चरित्रले गरेको थियो। यसको जिम्मेवार बिमल गुरुङ कदापी होइनन्।

किन भूमिगत छन् बिमल गुरुङ?

बिमल गुरुङ भूमिगत छैनन्। उनले आफ्ना सबै कार्यकर्तासँग सम्पर्क साधिरहेकै छन् साथै पहाड, तराई अनि डुवर्सको प्रत्येक गतिविधिलाई नजिकैबाट हेरीरहेकै छन्। आज गोर्खाको यस पुर्ख्यौली भूभाग पटक्कै शान्त छैन। हाम्रो पुर्खाले पसिना झारेको उर्वर भूमिमा बङ्गलादेशी अतिक्रमण, गोर्खा समाजमा विभाजन, राजनैतिक रूपमा हामीमाथि औपनिवेशिक शासन अनि हाम्रो भाषा, साहित्य, संस्कार, संस्कृतिको बिस्तारै सरकारी षडयन्त्र अन्तर्गत विस्थापन जस्तो कुराहरूबाट जाति, माटो, भूगोल अनि इतिहासलाई बचाउने एउटा रणनीति अन्तर्गत आज बिमल गुरुङ घर-परिवार, सुख सबै त्यागेर सङ्घर्षमा उत्रिएका हुन्।

विमलसँग अहिले पनि अघोषित म्यान्डेड छ। पहाडका मानिसहरूको अधिकांश मनमा विमल गुरुङमाथि अहिले पनि अपार विश्वास छ भने त्यो अघोषित म्याण्डेट हो। म्याण्डेट सदैव शक्तिशाली हुन्छ। राज्य सरकारले पहाडमा शान्ति फर्काएको दावी गर्छ तर बिमल गुरुङकोमा भएको गोर्खा स्वाभिमानसँग अहिलेसम्म डराइरहेकै छ। त्यसै कारणले अहिले पनि बिमलवादीलाई पक्राउ गर्ने काम बङ्गाल पुलिसले गरिरहेको छ।

यसको अर्थ बिमल हराएका-लुकेका छैनन्, उनले राज्यलाई आच्छु-आच्छु पारिरहेकै छन्। विमल गुरुङको नाम हाम्रो राजनीतिबाट मेटाउन सरकारले उनलाई मार्ने भरसक प्रयास गरेकै हो। यसको केही उदाहरणहरू हेरौं:-

  • बङ्गाल पुलिसले अर्काको राज्य सिक्किममा गएर बिमल गुरुङलाई एम्बुस गरेर हानेको गोलीले कालेबुङको दावा भोटिया मर्नुपरेको घटना सायदै गोर्खा इतिहासले भुल्ने छ।
  • बिमल गुरुङलाई फसाउँन बिना सुरक्षा पुलिस बाहिनी ल्याएर पुलिसले नै एसआई अमिताभ मल्लिकमाथि पछाडीबाट गोली चलाएर मारेको थियो। किनभने त्यसको निहुँमा बङ्गाल पुलिसले राज्य सरकारको ईशारामा बिमलमाथि युएपीए जस्तो कानुन लगाएर पक्रिएर जेलमा सक्ने षडयन्त्र गरेको हो। जेलमा कस्तो व्यवहार हुनेथियो भन्ने प्रमाण बरुण भुजेलको कस्टडियल डेथले दिएको छ।
  • नानीहरूले खेल्ने प्लास्टिकको तीर-धनु देखाएर समेत उनलाई समाउन खोज्ने बङ्गाल सरकारले बिमल गुरुङलाई हाम्रो राजनीतिबाट फ्याँक्न के पो प्रयास गरेन र?
  • यहाँसम्म कि उनी फर्किएर आउने आशङ्का अनि आएर फेरि चुनावको माध्यमबाट शक्तिशाली बन्ने आशङ्काले बङ्गाल सरकारले संविधानको अधिकारलाई उल्लङ्घन गर्दै उनको र रोशन गिरीको नागरिकतासम्म खोस्ने प्रयास गऱ्यो। यो बङ्गालको असफल प्रयास हो।

बिमल गुरुङ आज घर, परिवार, सुख सबै माया मारेर किन भूमिगत जस्तो छन् त भन्ने कुरा हामी सबैले बुझ्नु अति आवश्यक छ। मैले थाहा पाएको केही कारणहरू यस्ता छन्:

  • उनी भारतमा गोर्खाहरूमाथि अरूले सोच्ने गरेको परसेप्सन परिवर्तन गर्न चाहन्छन्। त्यसको निम्ति जातिय उन्मुक्तिको युद्ध प्रजातान्त्रिक ढङ्गमा लड्नु छ। व्यर्थैमा केही नगरी बङ्गाल पुलिसको शिकार भएर उन्मुक्तिको युद्ध लड्न सकिँदैन। यसैले कानुनी रूपमा उनी अहिले बङ्गाल पुलिसको प्रत्येक षडयन्त्रलाई निरस्त गर्नुपट्टी लागेका छन्। उनले अहिले भारतीय जुडिसियरीमा ठूलो लडाईं लड्दैछन्। पहाडमा बसेर यो सम्भव छैन। उनले जुडिसियरीमा लडाईं जित्नु भनेको गोर्खा उन्मुक्तिको बाटोको निर्माण हो।
  • उनी अहिले आफ्नो हरेक मेकानिज्म लगाएर केन्द्रलाई गोर्खा चिन्हारीको निम्ति आवश्यक कदमहरू उठाउन आग्रह गरिरहेका छन्। केन्द्रले धेरै कुरा सुन्दैछ। तर त्यसलाई रोक्न बङ्गालले लालच दिएर गोर्खा राजनीतिमा मुद्दाको विभाजन गर्दैछ। किनभने बङ्गाललाई थाहा छ केन्द्रबाट जे ल्याए पनि बिमल बिसाउने छैन, किनभने उसले सुबास घिसिंगले जस्तो गोर्खाल्याण्डको मुद्दालाई ड्रप गरेको छैन। यसैले बङ्गाल सरकार बिमल गुरुङको हात बलियो हुनदिन चाहँदैन।

अहिले ११ जात गोष्ठीको मुद्दामा जुन बिभाजन देखिएको छ, त्यसले कसलाई फाइदा पुग्दैछ? उत्तर सजिलो छ। आँखाको सोझी नाक भनेको जस्तो फाइदा तृणमूल पार्टीलाई पुग्दैछ। किनभने अहिले पनि बिमल ममता व्यानर्जीको निम्ति एकमात्र चुनौती हुन्। यो लडाईं उनले यहाँ बसेर जित्न सक्दैनन्। जबसम्म केही तकनिकी अप्ठ्याराहरूलाई पन्साइँदैन तबसम्म हामीले बिमललाई यहाँ ल्याउनु उचित हुँदैन। तर निराश हुनुपर्ने केही छैन। बङ्गाल अहिलेपनि उनीसित नै आतङ्कित छ, किनभने उनलाई किन्न सकिँदैन अनि उनको तकनिकी अप्ठ्याराहरू धेरै नै पन्सिदै जाँदैछ।

  • जबसम्म पुलिस आतङ्कलाई न्यायिक रूपले खतम पारिँदैन तबसम्म उनी यहाँ नबसेको कारण यो क्षेत्र चारवटा देशको अन्तर्राष्ट्रिय सीमामाझ भएको संवेदनशील क्षेत्र भएकोले उनी यता बसे पुलिस र जनता माझ झडप भइरहने सम्भावना हुन्छ अनि त्यसले यो क्षेत्रमा अन्तराष्ट्रिय तत्वहरू देशको अहितमा पस्न सक्ने सम्भावनालाई ध्यानमा राखेर राष्ट्रवादी सोच अन्तर्गत उनले आफुलाई भूमिगत जस्तो राखेका हुन्। पुलिस आतङ्कलाई बैधानिक रूपले खतम पारेर स्वच्छ अनि प्रजातान्त्रिक पुलिस व्यवस्थाको निम्ति न्यायिक कार्य चलिरहेको छ।

अन्तमा निष्कर्ष स्वरूप यो भन्न चाहन्छु कि जसले पनि बिमल गुरुङलाई भगोडा भन्छ, उ कि त  अन्तर्राष्ट्रिय सीमामाझ भएको संवेदनशील क्षेत्रको महत्व बुझ्न नसक्ने मान्छे हो कि भने उ राष्ट्र्हीत नचाहने मान्छे हो। यी दुवै होइन भने उ बङ्गालको इशारामा नाच्ने कठपुतली हो। बिमल गुरुङ भगोडा होइनन्। गोर्खा उन्मुक्तिको आवाज र बौद्धिक साधनहरू बोकेर उनी आउनेछन।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया