91 औं गिरी जयन्तीमा जीटीएद्वारा गिरी, शिवकुमार राई र अरूणा लामा स्मृति पुरस्कार तीन स्रष्टाहरूलाई प्रदान : विनय तामाङले भने- ‘पुरस्कारबारे मनोज बोगटीको सङ्कीर्ण विचार राम्रो होइन’

खरसाङ, 27 दिसम्बर


खरसाङमा जातीय कवि अगमसिंह गिरीको 91 औं जन्म जयन्ती समारोह जीटीए सूचना एंव सांस्कृतिक विभागको आयोजनामा सन्त अल्फन्सेस स्कूलमा सम्पन्न भयो। कार्यक्रममा प्रमुख अतिथिको रूपमा जीटीए बीओए अध्यक्ष बिनय तामाङ उपस्थित थिए।

विशिष्ट अतिथिको रूपमा खरसाङका विधायक डा. रोहित शर्मा, खरसाङ महकुमा शासक देवाशिष चट्टोपाध्यय, दार्जीलिङ नगरपालिका चेयरम्यान प्रतिभा राई तामाङ, खरसाङ नगरपालिका भाइस चेयरम्यान ब्रिगेन गुरूङ,  शिक्षाविद् शान्ति प्रधान, पुरस्कार पाउने स्रष्टाहरू डा. जस योञ्जन प्यासी, कृष्णसिंह मोक्तान र बिनोद स्याङ्देन उपस्थित थिए।

कार्यक्रममा जीटीएद्वारा प्रदान गरिने तीनवटा मुख्य पुरस्कारहरू वरिष्ठ व्यक्तिहरूलाई प्रदान गरियो। यस अन्तर्गत यसपालीको गिरी पुरस्कार वरिष्ठ साहित्यकार डा. जस योञ्जन प्यासीलाई , शिवकुमार राई स्मृति पुरस्कार वरिष्ठ साहित्यकार कृष्णसिंह मोक्तान र अरूणा लामा स्मृति पुरस्कार वरिष्ठ गायक- सङ्गीतकार बिनोद स्याङ्देनलाई मुख्य अतिथि बिनय तामाङको बाहुलीबाट प्रदान गरियो।

तीनैजनालाई खदार्पण गरी स्वागत जनाउँदै नेपाली टोपी, शल ओढ़ाएर सम्मान् गर्दै स्मृति चिन्ह्र , सम्वर्द्धना पत्र, स्वर्ण पदकद्वारा सम्मान गरियो। यसमा गिरी पुरस्कार र शिवकुमार राई स्मृति पुरस्कारमा एक एक लाख रूपियाँको चेक अनि अरूणा लामा स्मृति पुरस्कारमा 50 हजार रूपियाँको चेक प्रदान गरियो।

गोमा सुब्बाद्वारा सञ्चालित कार्यक्रममा स्वागत वक्तव्य सूचना अनि सांस्कृतिक विभागका कार्यकारी निर्देशक सुदेन छिरिङ भोटियाले राखेका थिए। प्रमुख अतिथि जीटीए चेयरम्यान बिनय तामाङद्वारा जातीय विभूतिहरू कवि अगमसिंह गिरी, शिवकुमार राई र अरूणा लामाको तश्वीरहरूमा खदार्पण र धुप दीप प्रज्वलनपछि थालिएको कार्यक्रममा सूचना अनि सांस्कृतिक विभागका कलाकारहरूले गायक राकेश लामा र गायिका सुचिता खातीको नेतृत्त्वमा गीतहरू प्रस्तुत गरेका थिए।

कार्यक्रममा पुरस्कृत तीनैजनाको विषयमा वृत्तचित्र पनि प्रदर्शन गरिएको थियो। पुरस्कृत तीनैजनाले जीटीएप्रति आभार प्रकट गरे। गिरी पुरस्कार प्रापक वरिष्ठ साहित्यकार डा. जय योञ्जन प्यासीले जीटीए र चेयरम्यान, भाइस चेयरम्यान र जुरीहरूप्रति आभार प्रकट गर्दै भने, ‘मैले पुरस्कारको लागि काम  गरेको होइन तर यसरी कामको मूल्याङ्कन गरी सम्मान गर्दा पुरस्कारको सम्मान गर्दै ग्रहण गरेँ।’

उनले कवि गिरीसितका यादहरू साझा गर्दै गिरीबाट आफु प्रेरित बनेर लेख्न थालेको पनि बताए। डा. प्यासीले भने, ‘गिरीले त्यतिबेला दिएका चेतनाका कुराहरू भर्खर हामीले बुझ्दैछौं।’

त्यसरी नै शिवकुमार राई स्मृति पुरस्कार प्रापक वरिष्ठ स्रष्टा कृष्णसिंह मोक्तानले पुरस्कारको लागि जीटीएप्रति आभार प्रकट गर्दै भने, ‘शिवकुमार राईको भाषा शुद्ध र हाम्रै भाषा थियो। कुनै आक्षेप र कड़ा थिएन तर सरल र सहज थिए।’

उनले शिवकुमार राईले आफ्नो कर्मभूमिको माया गरेको भन्दै आकाशवाणी खरसाङबाट राईले भारतीय नेपालीहरूका लागि नयाँ युगको शुरू गरेको पनि बताए। त्यस्तै प्रकारले अरूणा लामा स्मृति पुरस्कार प्रापक वरिष्ठ गायक एंव सङ्गीतकार बिनोद स्याङ्देनले जीटीएप्रति आभार प्रकट गर्दै जीटीए 2 ले जीटीए 1 लेभन्दा असल कार्य गरिरहेको पनि बताए।

तीनजना पुरस्कार प्रापकहरूको सम्वर्द्धना पत्र सुचिता खाती, गोबिन छेत्री र सुरज गुरूङले पठन गरेका थिए। यस अवसरमा प्रमुख अतिथि जीटीए चेयरम्यान बिनय तामाङले तीनैजना  पुरस्कार प्रापकहरूलाई बधाई दिँदै आफु पुरस्कार चयन समितिमा नभएको र यो पुरस्कार चयन जुरीले गरेको बताए।

समा तीनैजना पुरस्कार प्रापकहरू तामाङहरू भएको र आफु तामाङ भएपनि आफु केवल ठूलो पदमा र चौकीमा रहेको तर  यस पुरस्कार चयनमा आफ्नो केही भूमिका नभएको बताए।

मनोज बोगटीको सङ्कीर्ण विचार

सन् 2013 देखि नै आफु जुरीमा नभएको  प्रष्ट पार्दै यस विषयमा हीन भावना नराखी दिने पनि बिन्ती गरे। उनले अघि भने, “यसपालीको पुरस्कार पाउनेहरू तीनैजना तामाङ भएको र म आफु पनि तामाङ भएकोमा धेरै आक्षेप लगाइयो। एकजनाले गत 16 दिसम्बरको राती 23 बजेर 4 मिनट अर्थात् राती 11 :04 मा मेरो वाट्सएप्समा  मेसेज गरेर व्यङ्ग्य गरे। तर यो भ्रम राम्रो होइन अनि यस्तो सङ्कीर्ण बिचार पनि ठीक होइन। आज म त्यो भाइको नाम खुल्ला रूपमा भन्न चाहान्छु, कारण भाइले आफुले आफुलाई क्रान्तिकारी साहित्यकार र क्रान्तिकारी पत्रकार सम्झँदा रहेछन्। उनी कालेबुङका मनोज बोगटी हुन्।”

तामाङले अझ भने -“हाम्रो वाट्सएप्समा राम्रो चर्चा हुन्छ अनि हामी तँ तँ होइन तर तपाई हजुर भनेर नै बातचित गर्छौं। तर भाइले मलाई मेसेज गरेर दाजु मैले त तपाईको विषयमा लेखेको छुइन बरू फ्रान्सको क्रान्ति, रुसको क्रान्तिबारे लेख्दैछु भने। मैले पनि शुभकामना दिएँ। तर भाइले पुरस्कार विषयमा भनेको कुरा राम्रो होइन। कुनै दिन भाइले पनि म नभएपनि अरू कसैबाट पुरस्कार थाप्न सक्छन् अनि उनले पनि त बोगटीहरूबाटै थाप्न सक्छन्। त्यतिबेला चै के भन्नु ? यस्तो संकीर्ण बिचार राम्रो होइन। मैले वाट्सएप्सको मेसेज मेटाएको छुइन । कुनै दिन भाइसित हाँकाहाँकी भेट भए देखाउने छु।”

नव प्रतिभालाई इन्द्र थपलिया र गङ्गाप्रसाद प्रधान स्मृति पुरस्कार दिइने

बिनय तामाङले आफु जीटीएको सूचना अनि सांस्कृतिक विभागको सभासद हुँदा नै आफ्नो जातीय संस्कृति, भाषा र सङ्गीतको संरक्षण गर्न यी  पुरस्कारहरू प्रदान गरिने कार्य गर्दै आएको बताए। उनले जीटीएले अहिलेसम्म कुन कुन क्षेत्र र कस कसलाई पुरस्कारहरू प्रदान गरियो भन्ने विषयमा विस्तृत रूपमा जनाउँदै आगामी वर्षदेखि यी पुरस्कारहरूबाहेक पनि लोक सङ्गीतको क्षेत्रमा इन्द्र थपलिया र साहित्य क्षेत्रमा पाद्री गङ्गाप्रसाद प्रधान पुरस्कार अनि नव प्रतिभाहरूका लागि  पुरस्कार प्रदान गरिने पनि घोषणा गरे।

उनले आगामी 26,27 र 28 अप्रेल 2019 मा तीन दिवसीय रूपमा शिवकुमार राई जन्म शताब्दी समारोह खरसाङमा नै आयोजना गरिने पनि घोषणा गरे।

कार्यक्रममा डा. जीवन नामदुङद्वारा लिखित ग्रन्थ “अगमसिंह गिरीका कविताका अध्ययन र आधार” अनि मणिका मुखियाद्वारा अङ्ग्रेजीमा अनुवादित उक्त पुस्तकको ई-बुकको रुपमा मुख्य अतिथिको बाहुलीबाट लोकार्पण गरियो। त्यसरी नै वर्ष 2019 को जीटीएको आधिकारिक क्यालेण्डर पनि सार्वजनिक गरियो।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया