लोकसभा चुनाव : चुनाव जित्नको निम्ति उठ्ने कि भोट काट्नको निम्ति उठ्ने ?

चिन्ता

चारैवटा दललाई जित्नको निम्ति पहाडको भोटको आवश्यकता छ। अब यस्तो अवस्थामा स्वतन्त्र उम्मेदवार भएर चुनाव जित्नको निम्ति उठ्ने कि भोट काट्नको निम्ति उठ्ने ? वा आफू आफै लडेर, तृणमूल कङ्ग्रेसलाई जिताएर पहाडको जनतालाई गोर्खाल्यान्ड चाहिएको छैन, बिकास चाहिएको हो भनी तृणमूल कङ्ग्रेसको दाबीलाई सत्य सबित गर्ने हो? या सबै एकमुष्ट भएर हाम्रो दीर्घकालीन मागलाई सहयोग र गोर्खा जातिलाई सम्मान गर्ने पार्टीको उम्मेदवारलाई जिताएर पठाउनु पर्ने हो?


प्रवीण गुरुङ


वर्त्तमान सबै राष्ट्रिय अनि क्षेत्रीय  राजनैतिक दलहरू लोकसभा निर्वाचन लिएर व्यस्त छन्। चुनाव आयोगमा पञ्जीकृत राजनैतिक पार्टीले चुनावमा भाग लिनु पर्ने कर्तव्य पनि हो, लोकतन्त्रको निमित्त। तर जातिको नामसँग सम्बन्ध भएको पार्टी अनि जातिको दीर्घकालीन मुद्दा समाधान गर्नको निम्ति काम गर्ने पार्टीमाथि ठूलो  जिम्मेवारी आइपरेको छ।  राजनैतिक पार्टीलाई मात्र होइन हामी जाति उत्थान र उन्मुक्तिको कुरा गर्ने प्रत्येक गोर्खाहरूमाथि पनि उत्तिकै  जिम्मेवारी आइपरेको छ। विभिन्न समयमा विभिन्न राजनैतिक पार्टीले धेरै गल्ती, धेरै धोका दिएता पनि यसपाली सबै एकमुष्ट हुनु पर्ने आवश्यकता देखिँदैछ यो लोकसभा चुनावमा अनि यो चुनाव धेरै महत्त्वपूर्ण छ।

  1. धेरैले भन्छन् ! हामीलाई भूमिपुत्र चाहिन्छ ।
  2. धेरैले भन्छन् ! कोही एकजना विद्वान् व्यक्तित्वलाई स्वतन्त्र उम्मेदवार बनाउनु पर्छ।
  3. धेरैले भन्छन् ! बाहिरबाट ल्याएको पार्थीले धोको दियो।
  4. धेरैले भन्छन् ! राष्ट्रिय पार्टीको उम्मेदवारलाई अब हामीले सघाउन हुँदैन।

अब वर्त्तमान दार्जीलिङ लोकसभाको निम्ति चारवटा राष्ट्रिय पार्टी चुनाव मैदानमा उत्रिनु सक्ने प्रबल सम्भावना छ। ती चारवटा पार्टी दार्जीलिङ लोकसभाको निम्ति दह्रिलो दावेदारहरू हुन्।

(1) तृमूल कङ्ग्रेस  (2) भारतीय जनता पार्टी (3) अखिल भारतीय राष्ट्रिय कङ्ग्रेस (4) मार्क्सवादी कम्युनिस्ट पार्टी (मार्क्सवाद),

तृणमूल कङ्ग्रेस – पहाडमा पन्ध्रवटा बोर्डहरूको सहयोग छ। यदि थामी र मुखिया बोर्ड पनि दियो भने सत्रवटा बोर्ड  अनि बिनय पन्थी गोजमुमो र गोरामुमोको सहयोग रहने छ। तराईमा पनि सिलगढी कर्पोरेसनमा धेरै  इलेक्टेड सदस्यहरू छन् अनि महकुमा परिषद्, पञ्चायत समिति अनि ग्राम पञ्चायत सदस्यहरू पनि छन्। यसैले दरिलै दावेदार हुन्।

भारतीय जनता पार्टी – केन्द्रमा सरकार, पहाड अनि तराईमा हिन्दी भाषीहरू दह्रिलो समर्थकहरू हुन् साथै सिटिङ संसद अनि बिमल पन्थी गोजमुमो, एनडिए भएकोले दह्रिलै दावेदार हुन्।

अखिल भारतीय राष्ट्रिय कङ्ग्रेस – सिलगढी कर्पोरेसन, महकुमा परिषद् , पञ्चायत समिति, ग्राम पञ्चायतमा सदस्यहरू छन् अनि दुईजना विधायकहरू पनि छन्। पहाडमा पुरानो कङ्ग्रेस सदस्यहरू पनि छन्। त्यसैले उनीहरू पनि दह्रिलै दावेदार हुन्।

मार्क्सवादी कम्युनिस्ट पार्टी (मार्क्सवाद) – पहाडमा उनीहरूका पनि सदस्यहरू छन् अनि सिलगढी कर्पोरेसन, महकुमा परिषद्,  धेरैवटा पञ्चायत समिति, ग्राम पञ्चायत उनीहरूको अधिनमा छ। यसैले उनीहरू पनि दह्रिलै दावेदार भनी मान्न पर्छ।

अर्थात यी चारैवटा पार्टीको समतलमा दह्रिलो राजनैतिक पकड छ। छ मात्र होइन पहाडमा तर हाम्रो स्वतन्त्र उम्मेदवार उठाउनु पर्छ भने र स्वतन्त्र उम्मेदवार भइउठ्ने रहर गर्नेको न पहाडमा नै राम्रो सङ्गठन छ न समर्थक नै। समतलमा त कुरा नै नगरेको उत्तम्। विगत लोकसभा चुनावमा पहाडका नेता, कार्यकर्ताहरूले अनुभव गरेकै कुरा हो, दुईवटा राजनैतिक दल र एउटा अराजनीतिक दलबाहेक सबै एकमुष्ठ हुँदा पनि राजनैतिकले उठाएको/सघाएको स्वतन्त्र उम्मेदवारले जम्मा भोट कति पाएको थियो ? अब पनि त्यही अनुभव गर्ने हो वा कसैलाई जिताउने रणनीति बनाउने त?

उक्त  चारैवटा दललाई जित्नको निम्ति पहाडको भोटको आवश्यकता छ। अब यस्तो अवस्थामा स्वतन्त्र उम्मेदवार भएर चुनाव जित्नको निम्ति उठ्ने कि भोट काट्नको निम्ति उठ्ने ?

वा आफू आफै लडेर, तृणमूल कङ्ग्रेसलाई जिताएर पहाडको जनतालाई गोर्खाल्यान्ड चाहिएको छैन, बिकास चाहिएको हो भनी तृणमूल कङ्ग्रेसको दाबीलाई सत्य सबित गर्ने हो? या सबै एकमुष्ट भएर हाम्रो दीर्घकालीन मागलाई सहयोग र गोर्खा जातिलाई सम्मान गर्ने पार्टीको उम्मेदवारलाई जिताएर पठाउनु पर्ने हो? यस बिषयमा गहिरो चर्चा गर्ने समय आएको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया