सिक्किम सरकारले पाँच वर्षभन्दा बढ़ी एमआरमा काम गर्ने कर्मचारीलाई स्थायी गर्ने

गान्तोक,28 दिसम्बरः मुख्यमन्त्री पवन चामलिङले आज राज्यका नोकरशाहहरूलाई सम्बोधन गर्दै सिक्किमे जनताको हितमा काम गर्न आह्वान गरेका छन्। “ब्युरोक्रेट्सहरूले जनताको हितमा काम गर्नुपर्छ, मेरो पक्षमा होइन। प्रजातन्त्रलाई निजीकरण होइन, संस्थागतीकरण गर्नुपर्छ। निजीकरण गर्दा शासन-प्रशासन केन्द्रिकृत हुन्छ। प्रजातन्त्रमा प्रशासनलाई विकेन्द्रिकरण गर्नुपर्छ। जनताको जनादेशलाई सम्मान गरेर सरकार र जनताप्रति वफादार हुनु नोकरशाहहरूको धर्म र कर्म दुवै हो। सरकार संविधानले चल्छ। मैले चौबीस वर्ष राजनीतिक र मौलिक अधिकारका लागि काम गरेको छु। हामीले सबलाई न्याय दिएका छौं”,रानीपुल नजिक सरमसामा एसडीएफ सरकार स्थापनाको 24 वर्ष परिपूर्तिको अवसरमा मुख्यमन्त्रीले राज्यका कर्मचारीहरूलाई सम्बोधन गर्दै भने। 12 दिसम्बरको दिन सरकार स्थापना दिवस भए पनि छुट्टी परेको कारण आज औपचारिक समारोह आयोजन गरिएको थियो।

अवर सचिवदेखि माथिका कर्मचारी र जनप्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्रीले भने,“12 दिसम्बर, 1994 मा हामी सरकारमा आउँदा तलब दिने पैसा पनि थिएन। सेन्ट्रल ब्याङ्कबाट ओभरड्राफ्ट लिएका थियौं। 24 वर्ष पहिला सिक्किम भारतकै गरीब राज्य थियो। कसैले सिक्किम चिन्दैनथिए। हामीले कहालीलाग्दो सिक्किम जिम्मा लिएका थियौं। अहिलेको सिक्किम बनाउन हामीले कति खटेका छौं, बयान गरेर साध्य छैन।” मुख्यमन्त्रीले ब्युरोक्रेट्सहरूलाई सिक्किमको स्वामित्व लिएर काम गर्न आह्वान जनाए। युवा नोकरशाहहरूलाई औपचारिक ड्युटी नगरी नवोन्मेषी विचार र कार्यप्रणालीद्वारा सिक्किमेली समाजको सेवा गर्न उनले आग्रह गरे। राज्यको विकासमा भावनात्मक विवेक र प्रतिबद्धता आवश्यक भएको मुख्यमन्त्रीले बताए। यद्यपि यहाँसम्म आउन सरकारी कर्मचारी, विपक्षी पार्टीका भूतपूर्व नेता, वर्तमान विपक्षी पार्टीका नेताहरूप्रति पनि उनले आभार प्रकट गरे। “हामीले 4500 ब्युरोक्रेट्स बनाएका छौं। 80 हजार कर्मचारी राज्यमा छन्। देशकै सबैभन्दा बढ़ी वेतन सिक्किमका कर्मचारीहरूले थाप्छन्। कर्मचारीहरूलाई पूर्वाधारको दुःख छैन। उनीहरू  गाउँमा जानुपर्छ र जनताको सेवा गर्नुपर्छ। हामीले धेरै अवसर निकालेका छौं र कर्मचारीहरूले इज्जतसँग नोकरी गरेर खाएका छन्। उनीहरूलाई केन्द्रिय र राज्य दुवै आयकरबाट छुट दिलाइएको छ। राज्यका कर्मचारीहरू हामीसँग रिसाउने ठाउँ छैन”,चामलिङले आफ्नो सम्बोधनमा भने। “सिक्किमले पाएको चीज नगुमाउनुहोस् है”,मुख्यमन्त्रीले कर्मचारीहरूलाई आह्वान गरे। उनको सङ्केत चुनाउप्रति थियो। राम्रो सरकार छान्ने जिम्मेवारी आफ्नो नभएर जनताको भएको उनले बताए।

यस अवसरमा मुख्यमन्त्रीले महत्त्वपूर्ण घोषणाहरू गरे। तृतीय र चतुर्थ श्रेणीका कर्मचारीहरूका पदोन्नतिको समयावधि घटाएर पाँच वर्ष बनाइने; एडहक, एमआर र अस्थायी रूपमा काम गर्ने सबै महिला कर्मचारीहरूलाई स्थायीसरह छः महिनाकै प्रसूति विदा दिइने; सब्जेक्ट नभए पनि आरसी र भोटर लिस्टमा नाम भएका राज्यवासीलाई पनि ओबीसी र एससी प्रमाणपत्र दिइने, जसले गर्दा उनीहरूले राज्यबाहिर काम पाउन सकुन्; 10 वर्षभन्दा बढ़ी काम गर्ने सफाइ कर्मचारीलाई सब्जेक्ट भए पनि नभए पनि स्थायी गर्ने; पाँच वर्षभन्दा बढ़ी एमआरमा काम गर्ने कर्मचारीलाई स्थायी गर्ने; सिक्किम पुलिसमा आईजीसम्मको पदका लागि राज्य पुलिस सेवा बनाउने; एसआई र पीआईको पदोन्नतिको समयावधि पनि आठ वर्षबाट घटाएर छः वर्ष बनाइने; पुलिसलगायत विभिन्न विभागीय रिक्त पदमा जनवरीमा पद सिर्जना गरेर परीक्षा र अन्तरवार्ताद्वारा नियुक्ति गर्ने मुख्यमन्त्रीले घोषणा गरे। 15 जनवरीभित्र सबै फाइल चलाएर 31 जनवरीसम्म यी सबै घोषणा कार्यान्वयनमा ल्याउन मुख्यमन्त्रीले विभागीय अधिकारीहरूलाई निर्देश दिए। 20 हजार युवाहरूलाई नोकरी दिनका लागि नियुक्ति पत्र बनाउन केही समय लागेकोले 4 जनवरीको रोजगार मेला 12 जनवरीमा सारिएको उनले जानकारी दिए। 20 हजारमा पनि कोही छोड़िएमा दोस्रो चरणमा उनीहरू सबैलाई नोकरी दिइने मुख्यमन्त्रीले घोषणा गरे।

समारोहमा स्कूल मदरबाट शिक्षकका पदोन्नति भएका शिक्षकहरूले    मुख्यमन्त्रीलाई संवर्धना जनाए। यसअघि, मुख्य सचिव एके श्रीवास्तव र वित्त सचिव तथा विकास आयुक्त भीबी पाठकले राज्य सरकारद्वारा गरिएका प्रगति तथा विकासबारे विस्तृत रूपमा जानकारी गराएका थिए। कार्यक्रममा विधानसभा अध्यक्ष केएन राई, उपाध्यक्ष सोनाम ग्याछो लेप्चा, मन्त्रीगण, विधायक, विभिन्न निकायका जनप्रतिनिधि, वरिष्ठ नोकरशाहहरूको उपस्थिति रहेको थियो।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares