गिरी नगरमा अगम

अगमसिंह गिरी उत्तर होइनन् – ज्ञानेन्द्र खतिवड़ा

सिलगढी, 29 दिसम्बर


“अगमसिंह गिरी उत्तर होइनन् । उनी प्रश्न हुन् । हामी त्यो प्रश्नलाई उठाऔँ । गिरी अलि चिप्लेका पनि त हुन् । एकबेला उनी मेचीपारि बढ़ी ढल्किए ।  दान खालिङ, गिरीहरू एकै साल जन्मिनु भएर नेपाली साहित्यका लागि निक्कै खटेर गए” ।

कवि-अध्येता-चिन्तक-आख्यानकार ज्ञानेन्द्र खतिवड़ा । ठूलो आवाजमा मनखोल्दै मन्तव्य गरिरहेका थिए । ४ बजी शुरू हुने कार्यक्रम ६ बजी शुरू हुँदा समयसङ्कटले खतिवड़ा आफै छोटिए । विषय गहिरो भए पनि उनले छोटोमा भकाभकी भारी भरकम तात्तातो विचार जाड़ो भोगिरहेका दर्शकहरूमा बाँड़े ।

नेपाली समुदायका लागि बेमिशाल काम गरेर जाने कवि अगमसिंह गिरीको ९१-औँ जन्म दिनमा अगमसिंह गिरी नगर, सिलगढ़ीले सम्झना गरेको थियो गिरीको जन्मदिनमै – डिसेम्बर २७-को दिन ।  अगमसिंह गिरी नगरवासीहरूको भावुक त्यही सेलिब्रेशनको साँझ कवि खतिवड़ाले अति छोटो तर सारगर्भित अनि लजिकल गिरी-एन्यालिसिसमा केही महत्त्वपूर्ण बुँदा राखेर सचेत सर्जकीय दायित्व निर्वाह गर्नुभएको थियो ।

“यसपालि फेरि आयोजन भयो । मजा आयो । एक साल ग्याप भो । आन्दोलनले ।” आयोजकमा एकजनाले भन्दैथिए । जातीय भेषभुशामा सजिएका नानीहरू, ठूलाहरू र जाड़ोबाट बच्न तातो लुगा लगाएका दर्शकहरू । रङ्गारङ्ग सेलिब्रेशन कविको । “सालेनी अगमसिंह गिरी नगर ग्राम सेवा समिति-ले आयोजन गर्ने गरेका छ, हामी युवा पुस्तालाई आफ्नो धरोहर-संस्कृतितिर तान्न चाहन्छौँ,” आयोजक समितिकी मुख्य व्यक्तित्व रञ्जना गिरीले बताइन् ।

नेपालीभाषीबाट उनी मात्र एक्लो व्यक्ति हुन् जो भारतीय मेनस्ट्रिम साहित्यको शीर्ष संस्था ज्ञानपीठ-मा सदस्य रहिआए । कलकत्तालाई आफ्नो कर्मभूमि बनाएर हाल सिलगढ़ी फर्केका बुद्धदेव देवानले कार्यकर्मको अध्यक्षताको दायित्व वहन गरेका हुन् ।

मलाई आज गोर्खा भनिनु लाज लाग्छ – सुधा पाशी

“बर्थडे मात्र पालन नगरेर काम गरौँ । सिलगढ़ीमा हाम्रा नानीहरू साह्रै बिग्रिए । अब हामीले समाजका लागि परिवर्तनकारी काम गरौँ । साहित्य कला एक ठाउँ छ । समस्या एक ठाँउ । सबै जोड़ौँ । वर्षमा एक दिन भानुभक्त जयन्ती, गिरी जयन्ती मनाउनै पर्ने । तर ती कविले के लेखे वा के भने, त्यो कसैलाई थाहा नहुने । हाम्रो जाति जोड़ियोस् भनेर के के लेखेर गए । यता हामी चाहिँ बाँड़िँदै टुक्रा टुक्रा भएर छौँ । मलाई आज गोर्खा भनिनु लाज लाग्छ,” समाज  एक्टिभिस्ट सुधा पाशीले आफ्नो कड़कड़ाउँदो जोशिलो भाषणमा केही आत्मस्वीकृति गरिन् र केही होशियारी गराइन् ।

अरू पनि केही सान्दर्भिक कार्यक्रमहरू, विशेष गरी नौलो पिढ़ीका लागि जो नेपाली साहित्य-कला-संस्कृतिदेखि छिटोछिटो टाढ़िँदै गएका छन्, सक्रिय र सचेत समुहले अगमसिंह गिरी नगरमा आयोजित गरिरहुन् भन्ने आग्रह र अपेक्षा पाशीको भाषणले बढाएको बोध हुन्थ्यो ।

युवराज काफ्ले, ज्ञानेन्द्र खतिवड़ा, सुधा पासी, राजेन मोक्तान, मणिकुमार प्रधान, गौरी सुब्बा, साङ्मु लेप्चा, खड़्गराज गिरी, इन्द्र गिरी, तृषला गुरुङ, महेश सेवा आदिको विशेष आतिथ्यमा सम्पन्न कार्यक्रमको मुख्य आकर्षण थियो लोकप्रिय गायक महेश सेवाको गीत । ‘माटोको माया’-बाट शुरू भएको उनको गीत प्रस्तुतिले दर्शकदीर्घामा जातियताबोधको भावुक माहौल उत्पन्न गराएको हो ।

गिरी साँझलाई साङ्गीतिक चेतनाको पुट भरेर गए सेवा । बेजोड़ गायक महेश सेवाका जातीयताबोधक गीतहरूले हिउँदक ठिहीले चिसिएको अगमसिंह नगरको पारा उफारेको हो । दर्शकले अझै अझै भन्दै फर्माइश गर्दा गर्दै उनको अति लोकप्रिय एल्बम ‘बाड़ुली’-बाट हिट गीत ‘कसको माया’ गाएर उनले आफ्नो अंशको बीट मारेका थिए ।

सन् २०१६-मा सगरमाथा आरोहण गरेकी नेपाली चेली तृषला गुरुङलाई विशेष सम्मान जनाइएपछि उनले पर्वतारोहण गर्दा पाइला पाइलामा सगरमाथा जत्रै सङ्घर्ष गर्नु परेको अनुभव साझे गर्दा धेरैको रौं ठाड़ो भएको थियो ।

कवि राजा पुनियानीले “गिरीलाई वा कुनै कविलाई ‘स्वर्गीय’ नभनौँ । सर्जक आफ्नो काममा बाँच्छ । आखिर नमरी स्वर्ग गइन्छ कि नर्क वा कतै, त्यो पनि भन्नु सकिन्न” भन्ने विचार राख्दै “मैले छाएको पानी चल्दैन” कविता अडिएन्सकै सह-पठनमा प्रस्तुत गरेका थिए ।

अष्ट मोहोराले सञ्चालन गरेको कार्यक्रममा एक दर्जन सर्जक, बुद्धिजीवी, समाजकर्मीहरूलाई संवर्द्धना पनि जनाइएको थियो । स्थानीय नानीहरूले कविता पठन, नाचगान पेश गरेको रङ्गारङ्ग जन्मोत्सव लगभग ३ घण्टा चलेको हो ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया