म पनि झुट बोल्छु-तुलसी घिमिरे

नुनुता राई


 

अझै पनि गाउँमा नै हुन्छु 
म गाउँमा जन्मे–हुर्केको मान्छे । मेरो प्रारम्भिक शिक्षा गाउँकै स्कुलमा भयो । त्यसैले मेरा विचारहरू पनि गाउँले परिवेशबाटै प्रभावित हुन्छन् । मानसिक विकासमा स्थानीय समाज, वातावरणको प्रभाव हुन्छ नै । मेरो मानसिक विकास एकदम गाउँमा भयो र विचार पनि त्यसरी विकसित हुँदो रहेछ । यो मेरो अनुभव हो ।
कालेम्पुङमा जन्मेर मुम्बईमा धेरै संघर्ष गरेपछि नेपाल आएँ । नेपालमा धेरै काम गरेँ । अझै गरिरहेको छु । दर्शकले यत्ति धेरै माया गर्नुभयो कि राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भनिदिनुभयो । त्यसले आफ्नो कामलाई सुधार्दै लाने अवसर मिल्यो । सफल निर्देशकका रूपमा लिनुहुन्छ । तर, दर्शकबीचमा अथवा कतै भिडभाडमा हुँदा कहाँ छु भन्ने मनमा आउँदैन ।

भावनामा बग्छु
म अलि बढी नै भावनामा बग्छु । व्यावहारिक रूपमा कमजोर छु । जस्तो कि म गाडी चलाउन सक्दिनँ । गाडी लिएर हिँडेँ भने ‘ला उताबाट फुत्त मान्छे आएर मेरो गाडीले हान्छ कि’ भन्ने डर मनमा आउँछ । म चढेको गाडी कतै दुर्घटना भइहाल्यो भने के होला भन्ने सोच्छु । घाइतेहरूलाई अस्पताल पु-याएपछि के होला, उनीहरूका आफन्त, परिवारजनलाई कस्तो होला भन्नेजस्ता सोचाइ आउँछन् । सोच्दासोच्दै छटपटी हुन्छ । जुन म आफैँलाई पनि ठीक होइन भन्ने लाग्छ, तर मनलाई व्यावहारिक बनाउन सक्दिनँ ।

म पनि झुट बोल्छु
जब भाषण गरेको सुन्छु, अनि लाग्छ सबै झुट बोल्दा रहेछन् । कहिलेकाहीँ म पनि त्यस्तै ठाउँमा पुगेपछि बोल्छु । घरमा आएर मैले दिउँसो बोलेका कुराहरू सबै सम्झन्छु । अनि लाग्छ, ‘ओहो म पनि अरू जस्तै झुट नै बोल्दो रहेछु ।’ अनि लाग्छ, झुट नबोल्नुपर्ने हो । जुन विषयमा बोलेको हो, त्यसमा स्पष्ट धारणा राख्नुपर्ने हो भन्ने लाग्छ । तर, एकैछिनमा ठीकै गरेछु जस्तो लाग्छ ।   मेरी श्रीमतीले एउटा कुरा भनेकी छिन्, ‘पाप, धर्म एउटा ठाउँमा होला, तर तिम्रो बोलीले, कामले अथवा कृतिले कसैलाई नदुखोस् ।’ यो कुराले मलाई छुन्छ । यदि कसैले साँचो बोल्दा अथवा गल्ती औँल्याउँदा आफूलाई सुधार्नको साटो चित्त दुखाउँछ भने म किन उसको चित्त दुखाउनु भन्ने लाग्छ । त्यसैले झुटै भए पनि बोलिदिऊँ भन्ने लाग्छ । हाम्रोमा गल्ती नस्विकार्ने प्रचलनले झुटो प्रशंसा गर्नुपर्ने अवस्था छ । झुटो बोल्नुपर्ने अवस्था छ । म पनि झुट बोल्छु ।

गुरुको आज्ञा मान्न नेपाल आएँ
कहिलेकाहीँ ‘तुलसी घिमिरे इन्डियाबाट काम नपाएर यहाँ आयो’ भन्ने सुन्छु । त्यो केही हदसम्म सही पनि हो । इन्डियाबाट आयो भन्ने कुरा सही हो । तर, काम नपाएर आएकोचाहिँ होइन । मेरो गुरुको आज्ञा पालना गर्न यहाँ आएको हुँ । म त्यसवेला बम्बईमा एडिटरको काम गर्थेँ । मलाई काम सिकाउने, लगाउने गुरु महाराष्ट्रको हुनुहुन्थ्यो । त्यसवेला नेपालबाट प्रकाश थापा दाइहरू फिल्म एडिट गर्न पुग्नुभएको थियो । ‘सिन्दुर’ भन्ने फिल्मको एउटा गीत एडिट गर्ने जिम्मा गुरुले मलाई दिनुभयो ।

त्यही क्रममा प्रकाश दाइसँग नेपालीमा कुरा गरेँ । यही क्रममा उहाँले ‘तिमीहरू कुन भाषामा कुरा गरेका हौ’ भनेर सोध्नुहुँदा मैले ‘नेपाली’ भनेँ । ‘तिमीलाई नेपाली भाषा आउँछ’ भनेर सोध्नुभयो । ‘म नेपाली नै हुँ’ भनेपछि गुरुले सोध्नुभयो, ‘नेपालीमा अहिलेसम्म कतिवटा फिल्म बनेको छ ?’ त्यसवेला त्यस्तै ६–७ वटा बनेका थिए, त्यही भनेँ । उहाँ अचम्मित हुनुभयो र सोध्नुभयो, ‘नेपाल भनेको देश होइन र ?’ मैले ‘हो’ भनेपछि उहाँले भन्नुभयो, ‘अहिलेसम्म यत्ति फिल्म बनाएर बसेका छौ ?’ म हाँसेँ मात्रै । त्यसपछि गुरुपूर्णिमाका दिन सबैलाई बोलाएर आज्ञा दिनुभयो । मलाई ‘तिमी नेपाली भाषी हौ र अब नेपाल गएर दशवटा फिल्म बनाएर आऊ’ भन्नुभयो । धेरैको बीचमा उहाँले आज्ञा दिनुभएको थियो । तत्कालका लागि मैले हुन्छ भनेँ । तर, मैले पैसा कहाँबाट ल्याउने भन्ने प्रश्न थियो । सबैका सामु भन्न पनि मन लागेन । पछि, एक्लै भएको अवसर पारेर भन्छु सोचेँ । यो कुरा राख्नुअघि नै उहाँ बित्नुभयो । त्यसपछि म बाध्य भएर नेपाल आएँ । दशवटा फिल्म बनाएर बम्बई फर्कन्छु भन्ने सोचले नेपाल आएको थिएँ । नेपाल आएर बम्बईमा फिल्म एडिट गर्दा नेपाली फिल्मकर्मीसँग बनेको सम्बन्धका आधारमा काम गर्न सुरु गरेँ । मैले अहिलेसम्म २३ वटा फिल्म बनाएँ । जसमा सफल, असफल दुवै फिल्म बनाएँ । २५ वटा बनाउने योजनाअनुसार काम गरिरहेको छु ।

ऐनाअघि उभिँदा अन्योलमा पर्छु
म आफूलाई ऐनाअघि उभिएर हेर्दा अन्योलमा पर्छु । मेरो ट्र्याक कता गयो भन्ने पनि लाग्छ । किनभने म बम्बईमा भिजुअल एडिटरको काम गर्थेँ । प्रेसिडेन्टल अवार्ड पाइसकेको एडिटर थिएँ । त्यसपछि नेपाल आएँ । यहाँ आएपछि फिल्म बनाउने ध्याउन्नमा लागेँ । नेपाली चलचित्रले धेरै उतारचढाव व्यहोर्नुप¥यो । फिल्म बनाउन धेरै आए, तर उद्योग बनाउन कोही आएनन् । अझै फिल्म उद्योग बनाउन सकिएको छैन । क्षमतावान् तथा सिर्जनात्मक भाइबहिनीहरू आएका छन्, तर उनीहरूले मौका पाएका छैनन् ।

चलचित्र विकास बोर्ड छ, तर यसले गर्नुपर्ने काम गरेको छैन । बोर्डमा राजनीतिक नियुक्तिमा आउनेहरूमा भिजन नै हुँदैन । यस्ता यस्ता कुराहरूले मलाई अन्योलग्रस्त बनाउँछ । म नेपाली फिल्म लाइनमा आएर गल्ती पो गरेँ कि ! इन्डिया नछोड्नुपथ्र्यो कि भन्ने पनि लागिरहन्छ । मैले नेतृत्व दिन मसँग नेपाली नागरिकता छैन । यो सबैले पनि म अन्योलमा छु ।

अभिनय गर्न चाहन्थेँ, निर्देशक भएँ

वास्तवमा म अभिनय गर्न चाहन्थेँ । सिनेमामा अभिनय गर्न बम्बई गएको थिएँ । बम्बई जानुभन्दा अघि नै एकजना जो सिनेमामा काम गर्थे उनले त्यहाँ मैले गर्नुपर्ने संघर्षबारे संकेत गरेका थिए । उनले भनेका थिए, ‘फिल्मका लागि आफूलाई तबाह गर्न सक्छस् भने जा । त्यहाँ फिल्ममा काम गर्न सहज छैन । जानबित्तिकै आफूले चाहेको काम गर्न पाइँदैन । सडकमा, रेलवे स्टेसनमा सुत्नपर्ने अवस्था पनि आउन सक्छ ।’

त्यसैले मैले १० वर्ष बम्बईमा मेकअप असिस्टेन्ट भएर काम गरेँ । लाइटम्यान भएँ, क्यामेरा केयर टेकर, डुप्लिकेट, एक्स्ट्रा आर्टिस्ट भएर काम गरेँ । संयोगवश एडिटिङ रुमभित्र छिरेँ । त्यसपछि मलाई एडिटर भएर काम गर्न मन लाग्यो । विनापैसा काम गरेँ । मलाई यही पाटो मन प-यो । निर्देशन गर्छु भन्ने लागेको थिएन । रहर नै अभिनय गर्छु भन्ने थियो । तर, एडिटिङमा छिरेपछि अभिनयको भूत पनि हराइसकेको थियो । मैले एडिटिङमा प्रेसिडेन्टल अवार्डसमेत पाइसकेको थिएँ । एकदम राम्रो गरिरहेको थिएँ । र, यसैमा रमाइरहेको थिएँ । तर, पछि फिल्ममा अभिनय पनि गरेँ । त्यो सबै बाध्यताले गरेको हुँ । अरूका लागि लेखेको कथामा सम्बन्धित कलाकारले समय दिन नसकेको अथवा बिरामी भएको अवस्थामा मैले अभिनय गरेको हुँ । नत्र ममा अभिनय गर्ने रहर मरिसकेको थियो । मैले सुरुका दिनमा काम गरेकै कारण कतिपय फिल्ममा निर्देशक मात्रै नभएर मेकअप आर्टिस्ट, सिनेमाटोग्राफर भएर पनि काम गरेको छु ।

सात–आठ निर्देशकसँगै छु
अहिले नेपाली चलचित्र क्षेत्रले धेरै निर्देशक पाइसकेको छ । त्यसमा कतिपय क्षमतावान्, सिर्जनात्मक, अध्ययनशील छन् । कतिपय यत्तिकै आएका छन् । मलाई लाग्छ, अहिले नेपाली फिल्ममा सात–आठजना राम्रा फिल्म निर्देशक छन् । जसले नेपाली फिल्मलाई उचाइमा पु-याउन सक्ने क्षमता राख्छन् । म आफूलाई पनि त्यही सात–आठजनाको बीचतिर पाउँछु । पछिल्लो समयमा आएका भाइहरू कोही मभन्दा अगाडि छन् र कोही पछाडि छन् । थोरै क्षमता र सोचहरूमा अगाडि–पछाडि छौँ भन्ने लाग्छ ।

नयाँ पत्रिकाबाट

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares