बियोङ-पकाङ चर्चको पञ्चम रजत महोत्सव सम्पन्न

कालेबुङ, 29 दिसम्बर: सन् 1893 मा स्थापित गितडाब्लिङ क्षेत्रकै पुरानो चर्चहरूमध्ये एक बियोङ-पकाङ यूसीएनई चर्च स्थापनाको 125 औँ वर्षगाठ पूर्ण भएको छ। यस अवसरमा बियोङ-पकाङ चर्च मण्डलीद्वारा एउटा भव्य समारोहको आयोजना गरी चर्चको पञ्चम रजत महोत्सव पालन गरियो। रेन. जेपी सादाद्वारा प्रार्थनापछि आरम्भ भएको कार्यक्रममा ईएचसीसी, यूसीएनआईका मोडरेटर रेभ. सुदान छिरिङ लेप्चा मुख्य अतिथिका रूपमा उपस्थित थिए। स्थानीय युवा झुण्डद्वारा स्वागत गीत राखिएको कार्यक्रममा स्तुति, प्रार्थना गीत, बाईबल पठन, बचन अनि प्रार्थना आदि कार्यक्रम सम्पन्न भएको थियो। यस अवसरमा पकाङ कर्क सेसनका सचिव ए. स्टिफन लेप्चाले मण्डलीको इतिहासबारे जानकारी दिएका थिए भने यसै कार्यक्रममाझ पञ्चम रजत स्मारिका पनि सार्वजनिक गर्दै ईएचसीसी मोडरेटरलाई समर्पण गरिएको थियो।

कार्यक्रममा रेभ. पीएस तिङ्बोले वचन अनि प्रार्थना राखेका थिए भने समारोह समितिका सभापति रेभ. सिल्भानास लेप्चाले धन्यवाद ज्ञापन राखेका थिए।

अर्कोतिर चर्चका सचिव स्टिफन लेप्चाले 125 औँ वर्षगाँठ सफलतापूर्वक पालन गर्न सकेकोमा चर्चका सबै पदाधिकारी एवं सदस्यहरू,  सबै चर्चका पास्टरहरू, सम्पूर्ण मण्डली साथै परमेश्वरप्रति आभार प्रकट गरेका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया