यसपल्ट अहलुवालियालाई होइन भूमिपुत्रलाई सांसद पठाइनुपर्छ : भाजपा दार्जीलिङ

‘चारजना भूमिपुत्र उम्मेदवारको नाम हामीसित छ,’ देवानले भने, ‘त्यो नाम हामी हाइकमानलाई सुम्पिनेछौं। केन्द्रमा भाजपाको सरकार रहे पनि पठाइएका सांसदहरूले कुनै काम गर्न नसकेको पहाडबासी ठान्छन्। यसै कारण यसपल्ट भूमिपुत्र उम्मेदवार नै सांसदमा पठाउने हामीले ठानेका छौं।’


दार्जीलिङ, 30 दिसम्बर


भाजपा दार्जीलिङ जिल्ला कमिटी आउँदो लोकसभा चुनाउमा दार्जीलिङ संसदीय क्षेत्रबाट केन्द्रिय राज्य मन्त्री एसएस अहलुवालियालाई टिकट दिने पक्षमा छैन। कमिटीले कोही एकजना भूमिपुत्रलाई उम्मेदवार बनाउने माग गरेको छ।

2019 को लोकसभा चुनाउबारे विमर्श गर्न कलकत्तामा दुइ दिवसीय बैठक बोलाइएको छ। जसमा पार्टीका राष्ट्रीय अध्यक्ष अमित शाह सहित केही केन्द्रीय नेता उपस्थित हुने भाजपा दार्जीलिङ हिल जिल्लाध्यक्ष मनोज देवानले बताएका छन्।

‘11 र 12 जनवरी विमर्श हुनेछ। बैठकमा हामी भूमिपुत्र उम्मेदवारको माग गर्नेछौं,’ देवानले भने, ‘पहाडका जनताले भूमिपुत्र उम्मेदवार नै चाहेका छन्। यसबारे प्रदेश अध्यक्ष दिलिप घोषलाई बताइसकेका छौं। 22 दिसम्बरको दिन राष्ट्रीय अध्यक्ष अमित शाह अनि राष्ट्रीय महामन्त्री कैलाश विजयवर्गीयलाई पनि जनाइसकेका छौं।’

22 दिसम्बर देवानकै नेतृत्वमा एक टोलीले दिल्ली पुगेर राष्ट्रीय अध्यक्ष अमित शाहलाई भेटेको थियो। टोलीले पहाडवासी भूमिपुत्र उम्मेदवार चाहने कुरा पनि बताइसकेको हो। शाहले यसबारे विचार गर्ने आश्वासन समेत दिएका हुन्। सोही दिन टोलीले राष्ट्रीय महामन्त्री कैलाश विजयवर्गीयलाई पनि भेटेको थियो। उनले पनि उस्तै आश्वासन दिएका थिए।

‘चारजना भूमिपुत्र उम्मेदवारको नाम हामीसित छ,’ देवानले भने, ‘त्यो नाम हामी हाइकमानलाई सुम्पिनेछौं। केन्द्रमा भाजपाको सरकार रहे पनि पठाइएका सांसदहरूले कुनै काम गर्न नसकेको पहाडबासी ठान्छन्। यसै कारण यसपल्ट भूमिपुत्र उम्मेदवार नै सांसदमा पठाउने हामीले ठानेका छौं।’

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया