गोजमुमोले आफै हटाउन थाल्यो पोस्टर

खबरम्यागजिन खबरदाता

दार्जीलिङ, 19 मई/2017


पोस्टर हटाउँदै वार्ड नम्बर 14-की निर्वाचित नगरपार्षदिका/फोटोः खबरम्यागजिन

गोर्खा जनमुक्ति मोर्चाले नगरपालिका चुनाउको समय लगाएका पोस्टरहरू आजदेखि आफै हटाएर वरिपरिको क्षेत्रलाई सफा बनाउने पहल शुरू गरेको छ। आज दार्जीलिङको वार्ड नम्बर 14-की विजयी उम्मेद्वार महिमा राणाको पहलमा यसको शुरूआत भएको छ। दार्जीलिङ शहरी क्षेत्रलाई सफा राख्ने कार्य आफै गर्नुपर्छ अनि पहाड़की रानी दार्जीलिङको गरिमालाई फर्काउनुपर्छ भन्ने उदाहरणस्वरूप शुरू भएको यस पहललाई अन्य राजनैतिक पार्टीहरुले पनि सिको गर्नुपर्ने दार्जीलिङका आम जनताको चाहना छ। स्मरण गराइन्छ, दार्जीलिङ नगरपालिका चुनाउ अवधि दार्जीलिङका विभिन्न राजनैतिक पार्टीहरुले आ-आफ्ना उम्मेद्वारहरुको पक्षमा व्यापक पोस्टर लगाएका थिए, जसले दार्जीलिङको सुन्दरतामा नकारात्मक असर परेको सम्बन्धमा प्रश्‍न उठाइएको थियो।

उक्त प्रश्नको उत्तरमा विशेष गोर्खा जनमुक्ति मोर्चा, तृणमूल काङ्ग्रेस, जनआन्दोलन पार्टी, गोर्खा राष्ट्रिय मुक्ति मोर्चा आदिका शीर्ष नेतृत्वहरुले चुनाउ सकिएपछि आफूले शहरका भित्ता, देवालहरुमा लगाएका पोस्टरहरु आफै हटाएर दार्जीलिङलाई सफा देख्ने बनाउने वचन दिएका थिए।

अब नगरपालिका चुनाउ सकियो, यसको परिणामको पनि घोषणा भइसक्यो, यसैले आफ्नो वचनलाई पूरा गर्ने समय आएको छ। यसको प्रयासमा सबैभन्दा अघि गोजमुमोनै भएको छ। यसबारे नगरपालिका चुनाउमा दार्जीलिङको वार्ड नम्बर 14 बाट निर्वाचित बनेकी महिमा राणासित सोध्दा उनले भनिन्-दार्जीलिङ हाम्रो हो, यसलाई राम्रो बनाउने दायित्व पनि हाम्रै हो।

दार्जीलिङ राम्रो छ भनेरनै देश-विदेशका पर्यटकहरु यहाँ घुम्न आउँछन्, जसको माध्यमबाट दार्जीलिङका धेरै मानिसहरुको गुजारा पनि भइरहेको छ। यसैले दार्जीलिङलाई केही हदसम्म सफा देख्ने बनाउनको लागिनै आजदेखि हामीले वार्ड नम्बर 14 र छेउछाउका इलाकामा हामी आफैले टाँसेका पोस्टरहरू हटाउन शुरू गरेका हौं। तर यसमा हामी अन्य कुनै पनि पार्टीको पोस्टरमा हात लगाउने छैनौं। किनभने, अरूको पोस्टर पनि हामीले हटायौं भने उक्त पार्टीहरुले आपत्ति जनाउन सक्छन्, तर उनीहरुले पनि आ-आफ्नो पोस्टरहरु हटाएर दार्जीलिङका सम्पूर्ण भित्ता अनि देवालहरुलाई सफा देख्ने बनाउन आवश्यक छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन