अनिश्चित बन्यो जीटीए चुनाउ

मोहन लामा

खबरम्यागजिन, दार्जीलिङ,  19 मई 2017


√ नगरपार्षदहरुले आधाबिचमानै आफ्नो पद त्याग्नुपर्ने अवस्था आउनसक्छ।

√ जीटीएको चुनाउ हुन पनि सक्छ, नहुन पनि सक्छ।

√ 21 मई खरसाङ, 22 मई दार्जीलिङ र 23 मई कालेबुङमा विजयोत्सव।


 

अनिश्चित बन्यो जीटीए (गोर्खाल्यान्ड टेरिटोरियल एड्मिनिस्ट्रेशन) चुनाउ। जीटीएको 5 वर्षे कार्यकाल पूर्ण हुन लगभग 2 महिना मात्रै बाँकी रहेको समय जीटीएका मुख्य कार्यपाल विमल गुरूङको एक बयानपछि जीटीएको चुनाउ निर्धारित समयमा हुने विषयमा कालो बादल मँड़ारिन थालेको छ।

उनले भने-अहिले जीटीए चुनाउको चर्चा निकै शुरू भएको छ, तर जीटीएको चुनाउ हुन पनि सक्छ, नहुन पनि सक्छ। जति सक्दो जीटीएको चुनाउ नहुन सक्छ। यो समयलेनै बताउनेछ। यसैले नगरपालिका चुनाउमा सङ्घर्ष गरेर निर्वाचित बनेका नगरपार्षदहरुले पनि आधाबिचमानै आफ्नो पद त्याग्नुपर्ने पनि अवस्था आउनसक्छ। यसको लागि सबै नगरपार्षदहरु तयार बस्नुपर्छ, फेरि म नगरपार्षद भए-भए भन्ने ढिप्पी गरिरहे, उचित हुनेछैन।

गुरूङको यस बयानपछि के आगामी अगस्त महीनामानै जीटीएको चुनाउ हुन्छ? भन्ने प्रश्न पनि टड़्कारो बनेको छ। यसैबीच, उनले यसपालीको नगरपालिका चुनाउमा पार्टीलाई धेरै गाह्रो पर्ने स्थिति आएको स्वीकार गर्दै भने-गोर्खा जनमुक्ति मोर्चालाई गाह्रो पर्ला-पर्ला जस्तो हुन्छ, तर भगवानले बँचाइहाल्छ। कलकत्ताबाट राज्यका मन्त्री इन्द्रनिल सेन दार्जीलिङमा आएर किन मलाई बक्सामा हालेर डाँड़ा कटाउँछु भन्नु अनि कालेबुङमा जनआन्दोलन पार्टीले हाम्रो पार्टीले गरिरहेको कार्यक्रमतर्फ फर्काएर किन माइक बजाउनु। यो सब भगवानकै खेल हो, भगवानलेनै यिनीहरुलाई यसो गर्न लगाएको हो। भगवानलाई साक्षी राखेर गठन भएको यस पार्टीलाई जसले पनि नराम्रो सोंच्छ, उसले सजाय भोग्नैपर्छ, यो स्पष्ट छ। कालेबुङमा लगभग दुइ महीनाअघि गोजमुमोले 5 वटा पनि आसन जित्न सक्ने अवस्था थिएन, तर टीमवर्क, पार्टी नेतृत्वहरुको तालमेल र कालेबुङवासी जनताको जातीय भावनाकै कारण आज कालेबुङमा गोजमुमोले 18 वटा आसनमा जीत हासिल गर्ने सफलता पाएको छ।

कालेबुङ नगरपालिकामा तृणमूल काङ्ग्रेस र जनआन्दोलन पार्टीले गोजमुमोलाई हराउन साम, दाम, दण्ड, भेद सबै अप्नाए, 45 वटा समाज, 17 वटा क्लबहरुलाई तृणमूल काङ्ग्रेसले गतिलै रकमको धनराशि दिएको थियो। तर कालेबुङवासी जनताले गोर्खे भावना देखाएर यस चुनाउमा गोजमुमोलाई जिताएर देखाएका छन्। यसरीनै उनले खरसाङका गोजमुमो नेतृत्ववर्गले कुनै पनि विषयमा पार्टीलाई दुःख नदिएको अनि सबैले एकदमै तालमेल मिलाएर कार्य गरेको बताउँदै यसैको फलस्वरूप पार्टीले खरसाङमा पनि जीत हासिल गरेको बताए। यसैबीच, उनले पार्टीका 45 वटै समष्टि अनि वार्ड कमिटीहरुमा फेरबदल गर्ने सङ्केत दिँदै पार्टीले आगामी 21 मई खरसाङ, 22 मई दार्जीलिङ र 23 मई कालेबुङमा विजयोत्सव पालन गर्ने योजना बनाएको जानकारी गराए। यसका साथै मिरिकमा पनि एक धन्यवाद कार्यक्रम गर्ने तय गरिएको पनि उनले बताए।

 

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया