टोटो गाउँको सेरोफेरो

टोटो गाउँ छवटा मसिना गाउँमा विभाजित छ- मण्डल गाउँ, सुब्बा गाउँ, मित्राङ्ग गाउँ, पुजा गाउँ, पञ्चायत गाउँ, दुमची गाउँ। सुब्बागाउँ नामले नै लिम्बुहरूको गाउँ भनेर चिनिन्छ । पुजा गाउँमा सामुहिक पुजा गर्ने दुईवटा रङ्गमञ्चजस्ता भवन छन् । टोटोबिको देम्सा (नाच घर) र गारा नि सेञ्जा लेखिएको पुजा स्थललाई चारै दिशाबाट घेरिएको छ । मुख्य पुजारीको घर बजारको अलिकति माथि छ। प्रकृतिपूजक टोटोहरूले मुख्य पुजारीमाथि अगाध श्रद्धा राख्दा रहेछन् ।


अबीर खालिङ


२०१८ को अन्तिम दिन।
सोचेँ, वर्षको यो अन्तिम दिनलाई कसरी कैद गरिराखौँ ?अनि लुङालाई फोन लगाएँ,-‘हौ लुङा, टोटो गाउँ जाने घुम्न?’
उताबाट झन जोसिलो जवाब आयो,-‘मेरो पुरानो साथी छ, त्यहीं बसेर मदारीहाट सरेको । उसलाई पनि लिएर जाऊँ।‘
कुरा मिलेपछि म तयार भएर निस्केँ आफ्नो डेराबाट। दस मिनटपछि लुङासँग भेट भयो मेरो । लुङा अर्थात् आशबहादुर लिम्बु ।

हेमिल्टनगञ्जबाट हाँसीमारासम्म अटोमा, त्यहाँदेखि मदारीहाटसम्म बसमा । बजारदेखि अलिक वर नै देब्रेतिर घर्मप्रसाद शर्माको घरमा पुग्यौँ। लुङाको पुराना मित्रको घर। सर्प जस्तो हिउँदे घाम ताप्दै उहाँहरू सपरिवार बाहिर बसिरहनु भएको रहेछ।

शान्तअवस्थामा राखिएको फोनको घण्टी नसुनिएको रहेछ। हामीलाई साथ दिन उहाँ राजी हुनुभयो। फोन नउठाउँदा र कुनै टुङ्गो नलाग्दा अतालिएर मैले कवि किरण उपाध्यायलाई पनि कसरी जाने, केमा जाने बारे सोधेँ। उहाँले बाइक लानु भयो भने मेरो लगेर जानुहोस् भन्नु भयो औ गाडीको समय बताईदिनु भयो।

एकैक्षणमा खाना तयार भएछ, इस्कुशको जरा, डल्ले खोर्सानी, घिऊ , दालभात टन्न खायौँ। अब हाम्रो यात्रा टोटो गाउँतिर थियो।
एउटा बलेरो गाडी बाह्र सयमा मिलायौँ। कुद्न थाल्यो बलेरो मनको हतारसँग ।

भोट-बर्मेली भाषिक परिवारमा टोटोका भाषा पर्छ भनेर ग्रियर्सन र हजसन साहेबले उल्लेख गरेका छन्। थेप्चो नाक, साना आँखा, ठूलो निधार,मोटो ओंठ, कान केही लामा, गहुँ गोरो वर्णका टोटोहरू मङ्गोलीय जातिका हुन्। इसपा (देव) र चिमा( देवी)का पुजक टोटोहरू हिन्दू धर्मावलम्बी हुन्।

चासको दसकमा बिलुप्ताउन लागेका थिए यी जाति। सरकारी सजगता, संरक्षण र सहुलियत पाएर जनसङ्ख्या केही वृद्धि हुँदै गएको यी आदिम जाति कहाँबाट बसाईं सरेर यहाँ आए ? समाज विज्ञानी र नृतत्वशास्त्रीले सठिक अनुमान लाउन सकेका छैनन्। मदारीहाटबाट करिब २५ किलोमिटर टाडा भूटानको दक्षिण सीमान्त क्षेत्रमा बाङ्गरी , तीति र हाउडी नदीको लामो बगर काटेर पुग्नु पर्छ टोटो गाउँ। पहाडको काखमा बसेको बेँसी, सम्म नबसेर उकाली र ओह्राली मिसिएर बनेको ठुलो गाउँ।

करिब एक घण्टाको रोमाञ्चक अप्डे-खब्डे बाटोको यात्रापछि हामी पुग्यौँ टोटो गाउँ। बङ्गाली नामाकरण भएर सबैको मुखमा झुन्डिएको टोटोपाडा। टोटोपाडा पुग्न अघि हाउडी खोलाको केहीमाथि नेपालीहरूको ससानो बस्ती भेटिन्छ ।

बल्लालगुड़ी पुग्नभन्दा अघि भेटिने यी भाटधुरा, बाह्रहले नेपाली गाउँको मुख्य खेती धान रहेछ। लामो तन्किएको खेतको गह्रा देख्दा बाँझो खेत जोत्न बाह्र हल गोरू लागेकैले बाह्रहले नाम बसेको अनुमान लगाउन सकिन्छ।

हातीले खेती नष्ट नगरे राम्रै अन्न उप्जनी हुने अन्दाज मैले लगाएँ। यही गाउँमा एक जना भीम टोटोको घर पनि रहेछ, उनी भारतीय सेनामा कार्यरत रहेछन्। बल्लालगुड़ी छोडेर हामी टोटो गाउँ भित्र प्रवेश गरिसकेछौं, हाम्रा पथप्रदर्शक घर्मप्रसादजीले जानकारी दिनुभो।

घर्मप्रसाद मेरो लुङाको लुङा, मेरो महालुङा । हामी सहजतामा ओर्ल्हेर कुरा गर्न थालेका थियौँ। उहाँलाई अघि लाएर हामी पछि पछि गाउँको कुना काप्चा चहार्न थाल्यौँ। मलाई टोटोहरूको त्यही पारम्परिक पुरानो घर हेर्ने भोक थियो, सोध्दै-खोज्दै हिँड्यौँ तर अब सभ्यता र सम्पन्नताको खुड्किलो चढ्न सुरू गरिसकेको जातिले आफ्नो आदिम पारम्पारिक त्यो घरलाई समयको खाल्डोमा पुरिसकेका रहेछन् ।

त्यो घर, जुन घर बाँसको भाटाले बनिएको हुन्थ्यो, खरको छानो, दुई तल्ले र आफू माथिल्लो तला बस्यो अनि मुनिल्लो तलामा आफ्नो पाल्तु सुँगुर, बाख्रा, कुखुरा राख्ने चलन थियो। टोटोहरूमा भुईँमा बस्नु हुँदैन, सुत्नु हुँदैन भन्ने जनविस्वास थियो। अब सभ्यताको उज्यालोमा ती सबै विलाए।

टोटो गाउँ छवटा मसिना गाउँमा विभाजित छ- मण्डल गाउँ, सुब्बा गाउँ, मित्राङ्ग गाउँ, पुजा गाउँ, पञ्चायत गाउँ, दुमची गाउँ। सुब्बागाउँ नामले नै लिम्बुहरूको गाउँ भनेर चिनिन्छ । पुजा गाउँमा सामुहिक पुजा गर्ने दुईवटा रङ्गमञ्चजस्ता भवन छन् । टोटोबिको देम्सा (नाच घर) र गारा नि सेञ्जा लेखिएको पुजा स्थललाई चारै दिशाबाट घेरिएको छ । मुख्य पुजारीको घर बजारको अलिकति माथि छ। प्रकृतिपूजक टोटोहरूले मुख्य पुजारीमाथि अगाध श्रद्धा राख्दा रहेछन् ।

हामी घुम्दै रीता टोटोको घर पुग्यौँ। पहिलो टोटो नारी, जसले स्नातक डिग्री हासिल गरिन्। हेर्दा हाम्रै गोर्खाली चेली जस्तो लाग्ने,अलिअलि मेचेनी लाग्ने। फर्स्याइली, गहुँ गोरो वर्ण, ओठमा हाँसो। फोटो खिँच्न हामी सँगै उभ्यौँ। म त्यो नारीसँग उभिरहेको थिएँ, जो यो धर्तिमा उसको जाति र वंशमा स्नातक तहको अध्ययन गर्ने पहिलो नारी थिइन्।

मैले सगरमाथा आरोहण गरेको थिइनँ, म तर तेनजिङको सुख-भोग गरिरहेको थिएँ। त्यहीँ पिल्पिले टोटो त्यहाँकी ग्राम पञ्चायत उप-प्रधानसँग पनि भेटयौँ । सुन्दरी औ शालिन व्यक्तित्व, चिया पिएर जाने आग्रह गरिन्।

त्यही अन्तरालमा रुपचन्द टोटोसँग बात गर्ने मौका पायौँ। लुई चेङ्ग जन्मको नाम तर बंगाली माध्यमको स्कुलले रुपचन्द बनाएको कुरो उनी आफैले हामीलाई बताए। उनका बाजे मण्डल थिए पहिला, टोटो गाउँको विधिविधान उनैको थुतुरी वेदले चल्थ्यो।

रुपचन्द बोली- वचन, मन, रूप र धन, सबैले धनी छन्। रीतासँग दाजुबैनीको साइनो पर्छ। शिक्षित भएपछि सजग र सचेत छन् उनी, लिपि उनको मोबाइलमा रहेछ। धनीराम टोटोले लिपिको निर्माण गरेका रहेछन्। वाक्य संरचना र गठन प्रक्रियाको व्याकरणिक कार्य थाँतीमा रहेछ।

टोटबिक येडी उनीहरूको लिपिको नाम रहेछ। लिपिको आविष्कारपछि त्रैभाषिक शब्दकोष टोटबिक येडी-बङ्गला-अङ्ग्रेज़ी बनिँदै रहेछ।
एउटा बंगलाभाषा माध्यमको छात्रावाससहितको उच्च विद्यालय, एउटा स्वास्थ्यकेन्द्र, केन्द्रीय वैँक, व्याकवर्ड वेल्फेयर कार्यालय, पञ्चायत कार्यालय सबै टोटोपाडामा निर्माण गरिएका छन्।

अशोक टोटो झैँ गण्यमान्य व्यक्तिको नेतृत्वमा टोटोपाडाले नयाँ रूप र अवतार लिइरहेको कुरा त्यहाँ घुम्दा थाह पाइयो। सुपारीको ठुल्ठुला बगान देख्दा वार्षिक आय पनि त्यहाँको मानिसको राम्रै अनुमान लगाएँ मैले। एकपल्ट विलुप्तिको सङ्घारमा पुगेको यो जातिको जनसंख्या अहिले १६०४ (आजसम्म) पुगेको छ, जसमा ८३३ जना मरद र ७७१ स्त्री छन्।
३१ दिसम्बर २०१८ को घामको आयु सकिइसकेको थियो। सभ्यताले पाइला टेक्दै गरेको त्यो आदिम गाउँबाट हाम्रो फिर्ति यात्रा सुरू भयो ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares