14 बुँदे कसममा बाँधिए नगरपार्षदहरूः विमल गुरूङले भने- नगराध्यक्ष-उपाध्यक्षको लागि नो लबी

खबरम्यागजिन खबरदाता

दार्जीलिङ,  19 मई 2017


शपथ ग्रहण गर्दै मोर्चाका नगरपालिका पार्षद-पार्षदिकाहरू/ फोटोः खबरम्यागजिन

गोर्खा जनमुक्ति मोर्चाले आफ्ना सम्पूर्ण निर्वाचित नगरपार्षदहरुलाई 14 बुँदे कसमको डोरीले बाँध्यो। यदि पार्टीको आचार संहिता, संविधान अनि नगरपालिका बोर्डको विरोधमा कसैले पनि जाने दुस्साहस गरे उनीहरुलाई पार्टीबाटै बहिष्कार गर्ने पनि पार्टीले चेताउनी दिएको छ। गोजमुमोले दार्जीलिङ पहाड़का चारैवटा नगरपालिका चुनाउमा विजय हुने अनि नहुने पार्टीका सम्पूर्ण उम्मेद्वारहरुलाई लिएर एक शपथ ग्रहण समारोहको आयोजना गरेको थियो, जसमा विशेष यस चुनाउमा निर्वाचित बनेका पार्टीका 69 जना नगरपार्षदहरुलाई 14 बुँदे शपथ पत्रमा हस्ताक्षर गर्न लगाएर पार्टीको संविधान र आचार संहिताको उल्लङ्घन नगर्ने आदेश दिइएको छ।

निर्वाचित नगरपार्षदहरुलाई कसम ख्वाउनको लागि आयोजना गरिएको यसै कार्यक्रमलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष विमल गुरूङले नगरपालिकाका अध्यक्ष र उपाध्यक्ष बन्नको लागि लबी नगर्ने पनि चेताउनी दिए। उनले भने-जसले नगरपालिका अध्यक्ष र उपाध्यक्ष बन्नको लागि लबी गर्नेछन्, उनी नगरपार्षदहरुको सूचीमा पछाड़िनेछन्। म आफै आगामी केही दिनभित्र नगरपालिकाका अध्यक्ष र उपाध्यक्षको नाम लिफामा बन्द गरेर दिनेछु। यद्यपि, उनले दार्जीलिङ नगरपालिकाका अध्यक्ष पदको लागि अघिबाटै नामको घोषणा गरिसकेको छु भन्ने पनि बताए।

ज्ञात रहोस्, गोजमुमो अध्यक्ष विमल गुरूङले अघिबाटै दार्जीलिङ नगरपालिकामा अध्यक्षको पद नगरपालिकाका पूर्व अध्यक्ष एवं पूर्व विधायक डीके प्रधानलाई दिने घोषणा गरेका थिए। यसका साथै निर्वाचित नगरपार्षदहरुलाई अहम त्याग्ने, दार्जीलिङ पहाड़का चारैवटा नगरपालिका क्षेत्रलाई विकासको मार्गमा अघि बढ़ाउने कठोर मेहनत गर्ने अनि प्रत्येक बिहीबार स्वच्छ भारत अभियानअन्तर्गत प्रत्येक नगर क्षेत्रमा सफाईको कार्य गर्ने पनि उनले अपील गरे।

उनले भने-मिरिकमा यसपाली हाम्रो हार भएको छ, तर यो हार हाम्रो लागि गल्ती सुधार्ने मौका पनि हो। हामीमा अनुशासन नहुँदा, पार्टी नेतृत्ववर्गमा ठीकसित तालमेल नहुँदा अनि उनीहरुले ठीकसित नीति निर्धारण नगर्दानै मिरिक नगरपालिकामा पार्टीको हार भएको छ। यसबाट पार्टीले पाठ पनि सिक्नुपर्छ। तरै पनि मिरिकवासी जनता सुर्ताउनु पर्दैन, बङ्गाल सरकारले मिरिकलाई विकासमा अघि बढ़ाउन सहयोग गरोस्-नगरोस्, जीटीएले केन्द्र सरकारको माध्यमबाट अवश्यै सहयोग प्रदान गर्नेछ। यसअघिका नगरपालिका बोर्डहरुका लागि पनि जीटीएले केन्द्र सरकारको शहरी विकास विभागबाट आवश्यक सहयोग ल्याएर दिने कार्य गरेकै हो। यसैबीच, उनले आज लिइएको शपथ ग्रहण पत्रलाई सम्पूर्ण नगरपार्षदहरुले समय-समयमा हेर्नुपर्छ भन्दै पहाड़का नगरपालिकाहरु विगतमा जस्तोप्रकारले नचल्ने पनि बताए।

उनले भने-यसपाली निर्वाचित बनेका नगरपार्षदहरुले नगरपालिका हिजो जस्तै चल्छ भन्ने नसोंच्नु। प्रत्येक वार्डमा 9 सदस्यीय वार्ड कमिटीको गठन हुनेछ अनि प्रत्येक विकासको कार्य यसै वार्ड कमिटीको सिफारिशमा हुनेछ। यसैले निर्वाचित नगरपार्षदहरुले विभाग पाउनैपर्छ भन्ने ढिप्पीपन पनि नगर्नु, पार्टीले तपाईंहरुलाई इज्जत दिएको छ।

यदि यस्तो हुँदा बाङ्गो बाटो अप्नाए डा. हर्कबहादुर छेत्रीको जस्तो अवस्था हुनेछ। पार्टीले जसलाई इज्जत दिएर सम्मानजनक ओहोदामा पुर्यायो, उनीहरुलेनै पार्टी र जातिलाई धोका दिने कार्य गरेका छन्। यसैले सम्पूर्ण निर्वाचित सदस्यहरुलाई पार्टीको संविधान र आचार संहितामा बाँध्नको लागिनै आज शपथ पत्रमा हस्ताक्षर गर्न लगाइएको हो।

उनले निर्वाचित नगरपार्षदहरुलाई नीति परिवर्तन गरेर पहाड़का नगरपालिका क्षेत्रमा विकासको कार्य गरेर देखाउने आह्वान गर्दै भने-मिरिकमा हाम्रो हार हाम्रै अनि आफ्नै सन्तानको कारण भएको हो, यो हाम्रो लागि एउटा पाठ पनि हो। अब काम गरेर देखाउनुपर्छ। मेहनत गरेर यस चुनाउमा निर्वाचित भएका सबै नगरपार्षदहरुले अझै मेहनत र कसरत गरेर विकासको कार्य गर्नुपर्छ अनि दार्जीलिङलाई सफा-सुन्दर बनाउने दिशामा पनि पहल गर्नुपर्छ।

यति मात्रै होइन, उनले नगरपार्षदहरुलाई भाइ-भतिजावादको नीति पटक्कै नअप्नाउने कठोर निर्देश दिंदै यस्तो भएको खण्डमा आवश्यक कार्वाही गर्ने चेताउनी दिए। यसका साथै उनले यस नगरपालिका चुनाउमा पराजित भएका पार्टीका उम्मेद्वारहरुलाई पनि साथमा लिएर सम्बन्धित वार्डहरुमा विकासका कार्यहरु गर्ने पनि निर्देश दिए।

 

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया