एसडीएफले कम्तीमा जनताको बुनियादी आवश्यकता पुरा गरिदिएको छः मुख्यमन्त्री चामलिङ

नाम्ची, 3 जनवरी ।


“सिक्किममा अहिले जति पनि विपक्षी पार्टी छन्, उनीहरूले सकारात्मक कुरा गर्दैनन्। ‘यो भएन, त्यो भएन’ मात्र भन्ने गर्छन्। उनीहरू सरकारमा आएमा के गर्ने भन्नेबारे उनीहरूसँग कुनै कार्यक्रम छैन। एसडीएफ सरकारले केही काम गर्‍यो भने यो त केन्द्रले दिएको हो भन्नेबाहेक अरू कुनै मुद्दा नै उनीहरूसँग छैन”, नाम्चीको घुर्पिसेस्थित निजी निवासमा आफ्ना शुभेच्छुक तथा पार्टी कार्यकर्ताहरूसँग कुराकानी गर्दै मुख्यमन्त्री पवन चामलिङले यस्तो बयान दिएका हुन्।

यसअवसरमा उनले थप भने, “सिक्किममा युवा पिँढ़ीलाई नयाँ बाटोमा लिएर जानु अत्यावश्यक छ। चुनावी समयमा त अझ सीमित स्वार्थ भएका राजनीतिक दलहरूले युवाहरूलाई दिग्भ्रमित बनाउने गर्छन्। युवाहरूलाई गलत दिशामा दोहोर्‍याउन आतुर त्यस्ता शक्तिहरूबाट युवा पिँढ़ी जोगाउन जरूरी हुन्छ।” देशको स्थितिमा बोल्दै मुख्यमन्त्रीले भने, “अहिले पनि देशका धेरै राज्यमा जनतालाई बुनियादी सुविधा उपलब्ध गराउन सरकारहरू विफल बनिरहेका छन्। भारतमा अहिले विकासको कुरै हुन छोड़ेको छ। जात र धर्मको मात्र कुरा गरेर विकासको मूल मुद्दादेखि जनताको भड़्काउने काम भइरहेको छ। यो देशका लागि शुभ सङ्केत होइन। अहिलेसम्म देशबाट किन गरिबी हटेन, त्यसको कुनै चिन्तन नै हुँदैन। केवल यहाँ धर्म र जातको कुरा हुने गर्छ।”

उनले सिक्किमको विकासबारे पनि आफ्ना कुरा अघि राखे। चामलिङले यसबारे भने, “एसडीएफ सरकारले कम्तीमा जनतालाई बुनियादी सुविधा उपलब्ध गराउन सकेको छ। आज सिक्किममा यस्तो एउटा ग्राम पञ्चायत वार्ड छैन, जहाँ सड़क नपुगेको होस्। सबै घरमा बिजुली बत्ती पुगेको छ, तर देशका अन्य भागमा यस्तो छैन। हामी उत्तरपूर्वीय परिषद्मा सबैभन्दा पछि गाभिएका हौं, तर आज उत्तरपूर्वका सातवटा राज्यभन्दा सिक्किम धेरै अघि छ।”

एसडीएफ सरकारको सबैभन्दा ठूलो उपलब्धि के हो भनेर मलाई कसैले सोधेमा सिक्किममा ‘शान्ति र सुरक्षा’ भन्ने आफ्नो उत्तर हुने पनि मुख्यमन्त्रीले बताएका छन्। प्रत्येक ग्राम पञ्चायत एकाइमा विभिन्न प्रकारका सहकारी संस्थाहरू खोलिनुपर्ने आवश्यकता रहेको कुरा पनि उनले जोड़ दिए। “सिक्किममा सहकारी संस्था खोलेर संयुक्त रूपमा काम गरे धेरै उपलब्धि प्राप्त गर्न सकिन्छ। विशेष गरी दूध उत्पादन, जैविक कृषि आदि सम्बन्धमा सहकारी संस्थामार्फत् काम गरे सफल भइनेछ। यसबारे ग्रामीणस्तरका मानिसहरूलाई जागरूक बनाउन आवश्यक छ।”

सिक्किममा अहिले पनि ग्रामीणस्तरमा आठ हजार घर बनाउन आवश्यक रहेको मुख्यमन्त्री बताए। उनका अनुसार यसमध्ये तीन हजार घर निर्माणकार्यका लागि स्वीकृति प्रदान गरिसकेको छ। राज्यमा अहिले चर्चाको विषय रहेको परिवर्तनसम्बन्धी बोल्दै उनले भने, “रचनात्मक परिवर्तन दिगो हुन्छ, तर अहिले राज्यमा जुन परिवर्तनको कुरा हुँदैछ, त्यो घृणा, निराशा र आतङ्कको परिवर्तन हो। यस्तो परिवर्तन क्षणिक हुन्छ। विनाश विध्वंसका लागि गरिने परिवर्तनले कसैलाई लाभ पुग्दैन। उल्टो सबैलाई हानि हुन्छ। यस्तो परिवर्तनको विरुद्धमा आवाज उठाउन जरुरी छ।”

राज्यमा चर्चामा रहेको ‘एण्टी इनकन्भेन्सी’-बारे बोल्दै चामलिङले भने, “राज्यमा ‘एण्टी इनकन्भेन्सी’ मुख्यमन्त्रीविरुद्ध छैन। यदि राज्यमा एण्टी इनकन्भेन्सी छ भने त्यो पार्टी कार्यकर्ता, पञ्चायत, विधायक, मन्त्री, नोकरशाह र सरकारी कर्मचारीविरुद्ध छ। सबैले ‘मुख्यमन्त्री त सही छन्’ भन्ने गर्छन्।”

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया