केन्द्रले गोर्खालाई बोरामा सुताएको भनेर आरोप लगाउनेहरूले केन्द्रलाई चाप दिन के गरे ?

विचार

आज केन्द्रले गोर्खालाई बोरामा सुताएको भनेर आरोप लगाउनेहरूले यसबारे केन्द्रलाई चाप दिन के गरे र? म टेबलमा बसेर गरिने राजनीतिलाई विश्वास गर्दिनँ। बरू उनीहरूले मुद्दालाई भङ्गाल्न छैटौं अनुसूचीलाई बाटोमा तेर्स्याएर राखे।आज मुख बाउने हाम्रा धेरै नेताहरू, बुद्धिजीवीहरू मौन धारण गरेर बसे। उनीहरूको विद्वता केवल राजनीतिको सजिलो दिनहरूको निम्ति मात्रै हो भने अनि अप्ठ्यारा दिनमा ती बुद्धिजीवी ब्रेनहरू मौन बस्छन भने त्यो बुद्धिले गोर्खा सपनालाई पार लगाउन सक्दैन।


बीपी बजगाईँ


गोर्खाको एघार जातगोष्ठी मुद्दा अनि ‘माँ, माटी, मानुष

मैले आजसम्म जतिपनि राजनैतिक लेखहरू लेखें, ती सबै प्रामाणिक अनि तथ्यसङ्गत लेखें। आज पहिलो चोटी भावनात्मक कुरा लेख्न कर लाग्दैछ। म कुनै राजनेता होइन अनि मैले कुनै राजनीति गरिरहेको छुइनँ।

मलाई चुनावी राजनीतिमा चासो पनि छैन, यसैले मेरो उम्मेद्वारिता पनि छैन। मेरोमा ठिका-विघा गर्ने कन्ट्रयाकटर लाइसेन्स पनि छैन, मैले कुनै राजनैतिक दललाई सघाएर धन कमाउने सपना पनि देखेको छुइनँ। जीवनको पचासौं वर्षहरू भन्दा अधिक वर्ष पार गरिसकेको मेरो जीवनमा सर्वाधिक समय सिक्किम र दार्जीलिङको राजनीतिमा बिते तापनि मैले चुनावी राजनीतिको लालच राखिनँ अनि अचाहिँदो राजनैतिक सपना पनि देखिनँ।

किनभने जुनदिन मेरोमा यस्तो सपनाले जन्म लिन्छ त्यो दिन जातिको उन्मुक्तिको मेरो आफ्नै सपना मरेको हुन्छ भनेर मलाई थाहा थियो, छ। जातिय उन्मुक्तिको सपना अहिले पनि कोशौं टाडोमा छ अनि यसलाई हामीभित्रै उम्रिएका राजनैतिक आकांक्षाहरूले झनै कोशौं टाडा हुत्याउँदैछ।

मलाई लाग्छ, पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता व्यानर्जी बङ्गालको निम्ति, उनको जातिको निम्ति एक योद्धा हुन्। उनले जे पनि गर्दैछिन त्यो बङ्गाल र उनको जातिको निम्ति गर्दैछिन। किनभने ‘माँ, माटी, मानुष’ अर्थात् आमा, माटो अनि मान्छेको नारा भनेको उनले बङ्गालको निम्ति देखेको सपना हो। हामी बसेको भूभाग दार्जीलिङ, तराई अनि डुवर्स बङ्गालको हिस्सा होइन, यो हाम्रो किपट हो, यसको अलग राजनैतिक इतिहास छ।

यसैले हामीले पनि त्यहि ‘माँ, माटी, मानुष’ को नारा हाम्रो जातिय स्वार्थको निम्ति दिइरहेका छौं भने हामीले के गल्ति गऱ्यौं? मेरो लडाई भनेको त्यही माँ, माटी अनि मानुषको निम्ति हो, फरक यति हो त्यो गोर्खाको माँ, माटी अनि मानुष हो। आज पहाडमा भएका ममतापन्थीहरूले माँ, माटी अनि मानुषको परिभाषा गोर्खा जातिको पक्षमा बुझेका छन् जस्तो मलाई लाग्दैन।

स्टन्ट मान्नेहरूलाई

गोर्खाको एघार जात गोष्ठीलाई जनजाति मान्यता सन्दर्भमा जब ३ जनवरीको दिन सोसियल मिडिया लगायत न्यूज च्यानलहरूमा ओरामसँगको हाम्रो तर्का-तर्की जारी भयो, तब यस भिडियोलाई राजनैतिक स्टन्ट मान्नेहरू पनि देखापरे।

गोर्खा जातिभित्र यो भन्दा घटिया सोच मैले जीवनमा अर्को देखेको थिइनँ। किनभने हामीले त आशा मरिसकेको कुरामा अन्तिम समयसम्म tooth and nail fight गरिरहेका छौं। अस्पतालमा लगिएको धेरै बिरामीहरू घर फर्कदैनन्। तर उ बाँच्छ भनेर नै अस्पताल लागिएको हुन्छ।

हामीले केन्द्रले भनेको कुरा पत्याएर स्टन्ट गरेको होइन अथवा कसैले भनेर यो भिडियो खिचेको होइन। केन्द्रको अडान हाम्रो गोर्खा समाजले छर्लंगै देखुन भन्ने ध्येयले मैले अनि लीलाकुमार गुरुङले उक्त भिडियो जबर्जस्ती खिचेको हो।

हामीले जनता समक्ष सत्य कुरा राख्दा यदि कसैलाई पच्दैन भने त्यो चाहीं स्टन्ट हो। भोलि यो माग पास भएन भने पनि हामीले ढाँटेको थिएनौं, अन्तिम समयसम्म यसको पछि लागिपरेका थियौं भन्ने प्रमाण हो यो। हाम्रो इमान्दारितालाई लिएर अरूले राजनीतिको रोटी पकाएर खान्छन भने खाउन्, सायद उनीहरू भोकाएका होलान्।

बुद्धिजीवीहरू किन मौन?

तर सत्य के हो भने आज केन्द्रले गोर्खालाई बोरामा सुताएको भनेर आरोप लगाउनेहरूले यसबारे केन्द्रलाई चाप दिन के गरे र? म टेबलमा बसेर गरिने राजनीतिलाई विश्वास गर्दिनँ। बरू उनीहरूले मुद्दालाई भङ्गाल्न छैटौं अनुसूचीलाई बाटोमा तेर्स्याएर राखे।

आज मुख बाउने हाम्रा धेरै नेताहरू, बुद्धिजीवीहरू मौन धारण गरेर बसे। उनीहरूको विद्वता केवल राजनीतिको सजिलो दिनहरूको निम्ति मात्रै हो भने अनि अप्ठ्यारा दिनमा ती बुद्धिजीवी ब्रेनहरू मौन बस्छन भने त्यो बुद्धिले गोर्खा सपनालाई पार लगाउन सक्दैन।

बाङ्ग्लादेशी अनुप्रवेशले पहाड, तराई अनि डुवर्सको हाम्रो ऐतिहासिक पुर्ख्यौली भूभागको राजनैतिक जनसांख्यिकी (Political Demography) -लाई नै प्रभावित पारेको समय हो यो। यस खतराबाट गोर्खा जातिलाई जोगाउन अनि राष्ट्रिय स्तरमा गोर्खालाई एक खुड्किलो न्याय दिने प्रयासमा गोर्खा जनमुक्ति मोर्चाले बिमल गुरुङको मार्गनिर्देशनमा एघार जात गोष्ठीको कुरा उठाएको बेला हाम्रा तथाकथित बुद्धिजीवी भनाउँदा केही व्यक्तिहरू मुद्दा बिथोल्न छैटौं अनुसूचीको राग अलाप्न दार्जीलिङ पुगे।

केन्द्रले दिन्छ कि दिँदैन भन्ने कुरा मेरो निम्ति मुख्य कुरा होइन, हाम्रो जाति यस्तो समयमा एक हुन किन सकेनन् भन्ने कुरामा मलाई अधिक चासो छ।

विमल गुरुङ र सपना

विमल गुरुङ जीटीएको कुर्सीमा हुँदा म बी. पी. बजगाईंले एकैदिन पनि उनलाई भेट्न गएको रिकर्ड छैन। मैले मेरो जीवनमा उनलाई भेटेको भनेको सिब्सुमा तीनजना शहीद भएको पर्सीपल्ट हो। यसदिन मैले वर्ल्ड ह्युमन राइट फोरम अनि एम्नेष्टी इन्टरनेश्नलमा सिब्सु घटना रिकर्ड गराएर त्यसको दस्तावेज दिन सिक्किमका पत्रकार साथीहरूसँग सिब्सु गएको थिएँ।

उहाँसँगको मेरो त्यो भेट मेरो स्वार्थमा नभएर जातिको स्वार्थमा थियो। यसैले उहाँ कस्तो आचरणको मानिस हो भन्ने मलाई थाहा छैन। तर मलाई एउटा कुरा थाहा छ, उहाँ गोर्खा जातिप्रति समर्पित व्यक्ति हुन्। विमल गुरुङको सय गल्ती होलान तर जाति उन्मुक्तिको निम्ति उहाँले देखेको सपना झुटो सपना होइन।

उहाँले अरूले जस्तो सुविधावादी टेबल राजनीति गरेनन्, मैदानमा सदैव डटेर बसे, आन्दोलन ड्रप गरेनन्। बस त्यति परिचय मेरो निम्ति धेरै हो जस कारणले उनको पार्टीको टोलीमा मलाई आग्रह आउँदा स्वतन्त्र परिचय राखेर म गएको हो।

आज यसलाई स्टन्ट ठान्नेहरूले पनि यस्तो कार्यमा मलाई बोलाएको भए म जानें थिएँ। तर उनीहरूमा जातिय उन्मुक्तिको कार्य गर्ने साहस छैन। बस् छ त केवल निजी राजनैतिक स्वार्थ। हुनसक्छ, गोर्खा समाजको स्वार्थी भाँडाहरू मिलेर त्यसमा विमल गुरुङको सपना उसिनेर त्यस तातो पानीले उनीहरू नुहाउलान।

विमल गुरुङको राजनीति समाप्त गर्लान। तर उनले लेखेको जातिको स्वाभिमानको एउटा सानो इतिहास जहिल्यै मिरजाफरहरूको अँध्यारो कोठामा एक्लै बलिरहेको हुनेछ, यसमा दुइमत छैन। म बिमल गुरुङको कार्यकर्ता होइन, तर जे सत्य हो त्यो लेख्न मन लागेर लेखें।

म जन्मिएको कोखलाई धोका दिने चरित्र मसँग छैन, हाम्रा केही राजनैतिक नेताहरू अनि बुद्धिजीवीहरूले आमा (माटो) -लाई वृद्धाश्रममा लगेर राखेका छन्। म ‘माँ, माटी, मानुष’ भनिरहन्छु, उनीहरूले मलाई जेसुकै भन्दै गरून्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares