तामाङ बोर्डले गऱ्यो विकासको घोषणा

रिमल मोक्तान, पेशोक, ५ जनवरी


तामाङ जनजातिहरूको सर्वाङ्गीन विकासको पथमा अग्रणी रही कार्य गर्न पश्चिम बङ्गाल तामाङ विकास एवं संस्कृतिक बोर्ड लागि परेको छ। समग्र तामाङ समुदायको संस्कार संस्कृति, भाषा, भेष भुषा आदिको सही व्यवहार अनि संस्कृतिको जगेरा गर्ने बोर्डको उद्देश्य हो।

आज दवाईपानी वस्तीको गुम्बास्थित सहकारी समितिको भवनमा टीवाईए दवाईपानी शाखाको साङ्गाठानिक सभा सम्पन्न भयो। तामाङ युथ एसोसिएसन दवाईपानी शखाको आयोजनामा सम्पन्न उक्त साङ्गाठानिक सभामा रङ्गली रङ्गलीयट खण्ड अन्तर्गत रहेका टीवाईएका पेशोक चियाबारी, रङ्गली, ग्लेनबर्न, नामरिङ, सोरेङ लगायत विभिन्न शाखा पदाधिकारीवर्गको उपस्थिति थियो।

टीवाईए दवाईपानी शाखा सचिव बुद्धकुमार तामाङद्वारा स्वागत सम्भाण राखिएको सभामा प०बं० तामाङ विकास एवं संस्कृतिक बोर्डका चेयरमेन सञ्जय मोक्तान मुख्य अतिथिको रूपमा उपस्थित थिए। टीवाईए केन्द्रीय समिति अनि दार्जीलिङ, कालेबुङ जिल्ला समितिका पदाधिकारीवर्ग क्रमैले सोनाम वाङ्दी लामा (सिसि मेम्बर), टीवाईए दार्जीलिङ जिल्ला सभापति अमृत मोक्तान, टीवाईए कालेबुङ जिल्ला सभापति दोर्जी लामा, तामाङ वेलफेयर अर्गानाइजेसनका सभापति सचिव पेम्बा रूम्बा अनि धिरेन्द्र घिसिङ, टीवाईए कालेबुङ जिल्ला उपाध्यक्ष निमा बल लगायत टिवाईए  रङ्गली रङ्गलियट खण्ड सभापति गौतम घिसिङ आदिको पनि उपस्थिति थियो।

सभामा शरण लामाद्वारा शाखा समितिको प्रतिवेदन पेश गरिए पश्चात् दवाईपानी शाखामा टीवाईएद्वारा गरिएको विकास कार्यहरूको समीक्षा गर्दै बोर्ड गठन भए यता मात्र दुईवटा घर निर्माण कार्य भएको शरण लामाले बताए।

सभामा गुनासोहरू पनि पेश गरियो । कुल ६० तामाङ परिवार रहेको दवाईपानी क्षेत्रमा तामाङ समुदायको सांस्कृतिक विकासको खाँचो रहेको स्थानीय वक्ताहरूले आफ्नो सम्बोधनमा भने। सभालाई टीवाईए दार्जीलिङ जिल्ला सभापति अमृत मोक्तानले सम्बोधन गर्दै शाखा वा आफ्नो क्षेत्रहरूमा विकासको लागि सामुदायिक समाञ्जस्य हुनुपर्ने बताए। अर्का वक्ता तामाङ वेलफेयर अर्गानाईजेसनका सचिव धिरेन्द्र घिसिङले पनि टीवाईएसँग आवद्ध भइ सहकार्य गरेर तामाङ समुदायको कल्याणार्थ काम गर्ने बताए। यसरी नै मुख्य अतिथि प० बं० तामाङ विकास एवं सांस्कृतिक बोर्डका चेयरमेन सञ्जय मोक्तानले सम्बोधन गर्दै एकतामा आउने आह्वान गरे । एकार्काको दोष निकाल्ने काम नगरेर एकार्कामा सहयोगको हात बढाएर एक जुट हुने अपिल गरे ।

जीटीएको तक्दाह-ग्लेनबर्न समष्टि अधीन पर्ने टीवाईए दवाईपानी शाखालाई सम्बोधन गर्दै टीवाईए अस्तित्वमा आउनुको औचित्यबारे अवगत गराए भने तामाङ समुदायको जातीय संस्कार संस्कृतिको जगेरा गर्न सबै तामाङ समुदाय सचेत बन्नु पर्ने बताए।

चेयरमेन मोक्तानले त्यहाँ निर्माण हुँदै गरेको तामाङ गुम्बाको पनि भ्रमण गरे भने गुम्बाको थाँतीमा रहेको निर्माण कार्यको लागि बोर्डद्वारा पहल गरिदिने आश्वासन दिए। फेन्सिङको निम्ति साँढे चार लाख दिने वचन दिए।

आफ्नो सम्बोधनमा मोक्तानले 25 लाख रूपियाको लागतमा सामुदायिक भवन निर्माण अनि तामाङ भाषाको पठन पाठनको लागि तामाङ भाषाको विद्यालय पनि निर्माण गर्ने घोषणा गरे।

दवाईपानीका बेरोजगार  युवाहरूको निम्ति पाँचवटा होम स्टेको स्वीकृति दिए भने ती असक्षम परिवारको लागि पाँचवटा र्‍याङ्ला धीमको घोषणा पनि चेयरमेन मोक्तानले गरे। सभापछि विभिन्न शाखाबाट आएका पदाधिकारीहरूले ज्ञापन पत्र पनि चढाए भने चेयरमेन अनि अन्य पदाधिकारीवर्गसँग साङ्गाठानिक बिषयमा भलाकुसारी गरे। यसबाहेक पनि बोर्डद्वारा कालेबुङमा कलेज स्टुडेन्टको लागि होस्टल बनाउने, पचासजना नानीहरूलाई पचास हजार गरेर वार्षिक छात्रवृत्ति दिइने पनि घोषणा गरे।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares