के यसरी प्रश्न गर्न अपराध होला त?

विचार 

मुद्दा त मुद्दा नै हो। त्यसबाट बचेरै राजनीति गर्नु सही निर्णय बन्थ्यो। किन भने आन्दोलनलाई रणनीति प्रदान गर्न अघि नै पार्टीमा धमिरा लागिसकेको थियो-विमलको। त्यही धमिराले पार्टी ढल्यो विमलको पार्टी पनि। विमल जङ्गल पस्दा सबैभन्दा ठूलो खतरा उनीमुनिका नेताहरूलाई नै थियो। त्यो खतरा मोल्न नसकेपछि विनय तामाङ र अनित थापाले ममता व्यानर्जीसित हात मिलाए र ज्यान जोगाए। जोगाउन त विमल गुरुङले पनि ज्यानै जागोएका हुन्, तर उनले मुट्ठी उठाएरै ज्यान जोगाए। विनय तामाङहरूले पनि ज्यानै जोगाएका हुन्, तर उनीहरूले शिर निहुराएर ज्यान जोगाए। उनीहरूको मुट्ठी उठाउनु र शिर निहुराउनु-ले सडक उत्रेका जनतालाई के दियो त? त्यो हो- अहिलेको परिवेश।


मनोज बोगटी


‘जसले गोर्खाहरूको चिन्हारी सुनिश्चित र जनजातिको मुद्दा समाधान गर्ने प्रतिबद्धता लिखितरूपमा दिन्छ, उसैलाई मोर्चाले लोकसभा चुनाउमा समर्थन गर्छ,’ विनय तामाङ भन्छन्।

के विनय तामाङको रणनीतिले यो समस्या समाधान गर्ला त?

‘पत्याउनु’ ‘नपत्याउनु’ तपाईँको ‘बुद्धि’-मा भर पर्छ।

0

विनय तामाङ ‘आन्दोलन’-लाई ‘ज्यान बचाउ फर्मुला’-कोरूपमा प्रयोग गरेर सत्ता सम्हालिरहेका निक्कै विवादित नेता हुन्। सङ्कटमा भाजपाले हात दिएन। यस्तोमा, राज्य सरकारले मुद्दा थोपेर दिएको दवाबबाट बच्ने बाटो भनेकै ‘हात मिलाउनु’ थियो। निश्चित हो, विनय तामाङले ममता व्यानर्जीसित हात नमिलाएको भए उनी पनि विमल गुरुङ झैं फरार बन्थे।

उनीहरूको पार्टीभित्रको समस्या, अनुशासनहिनता, रणनीतिहिनता र प्रतिबद्धताहिनतालाई देखाएर वा विमल गुरुङको टाउकोमा दोष खन्याएर के विनय तामाङ चोक्खिलान् त?

यो पक्का हो कि तामाङसित दुइवटै अप्सन थियो, कि आन्दोलनलाई रणनीति प्रदान गरेर अघि बढ, कि राज्य सरकारसित हात मिलाउ। फाइदा र जोखिम दुवैमा थियो। रणनीति प्रदान गरेर अघि बढ्नु, त्यो जनताको पक्षको निर्णय हुनेथ्यो, सरकारसित हात मिलाउन आफ्नो पक्षको निर्णय हुनेथ्यो।

विनय तामाङले आफूलाई बँचाए।

सबैलाई थाहा छ, यसपल्ट गोर्खाल्याण्डको होइन भाषाको निम्ति मोर्चाले ममता सरकारको नीतिको विरोधमा कार्यक्रम गरेको थियो। त्यो नितान्तै मोर्चाको नीजि कार्यक्रम थियो। तर भाषा मोर्चाको नीजि छनोटको कुरा होइन। जब भाषा सङ्कटमा पर्छ, तब मानिसले पार्टी बिर्सन्छ। यसपल्ट पनि गोर्खाहरूले पार्टी बिर्सिए।

सबै जनता सडकमा आए। सडक झरेका जनताको हातमा गोजमुमोको मात्र झण्डा थिएन। सरकारले दबाउनु खोजेको मोर्चाको विरोध प्रदर्शनलाई थियो, तर जनताले देख्यो, भाषाको सुरक्षाको लागि उठेको आवाज दबाउँदैछ।

अनि बिच्कियो जनता।

अनि बिच्किइन् ममता।

जनताको भीड र गोर्खाहरूको वैश्विक एकता देखेर ममता व्यानर्जी आत्तिइन्। र गोली चलाइन्। त्यसपछि विरोध प्रदर्शन गोर्खाल्याण्डको आन्दोलनमा रुपान्तर बन्यो।

राज्य सरकारको दमन यसपल्ट पनि जनताले देखे र यस्ता सारा दमहरूबाट मुक्ति कहीँ छ भने त्यो गोर्खाल्याण्ड राज्य नै हो, जनतालाई लाग्यो। र पार्टीहरूको नियन्त्रणबाट उम्किएर आन्दोलन र मुद्दा जनतामा गयो।

अनियन्त्रित जनतालाई रणनीतिले बाँध्ने काम दलहरूकै हो, तर यति क्षमताको कुनै दल पहाडमा देखापर्न सकेन।

यद्धपि, जनताले नेताहरूलाई मागे रणनीति। तर नेताहरूले देखाए आफ्नो असक्षमता। अहिले लोकसभा चुनाउको लागि चुरिफुरि गरिरहेका दलहरू, बुद्धिजीवीहरू, फेसबुके सेलेब्रिटीहरू कसैसित आवेगबाहेक केही थिएन। तर आन्दोलनलाई चाहिएको थियो त रणनीति थियो। त्यो कसैसित थिएन।

न विमल गुरुङसित, न विनय तामाङसित, न आरबी राईसित, न डा. हर्कबहादुर छेत्रीसित, न मुनिस तामाङसित, न मन घिसिङसित न प्रताप खाती र बन्दना राईसित।

जनताले काँधमा आन्दोलन बोकेपछि नेताहरूको दाँतबाट निस्कियो पसिना। सबै दलले आखिर आफ्नो औकात देखाएरै छाडे। सबै दलले गति छाडे। चुप बसे। मोर्चा र सरकारको पपेट बनेर दलाली गरे तर जोखिम मोलेन। कसैले पनि आन्दोलनलाई रणनीति प्रदान गर्न सकेन। कुनै बुद्धिजीवीले आन्दोलनलाई दिशा दिन सकेन। कुनै एक्टिभिष्टले नेतृत्वलाई डोहोऱ्याउन सकेन। आखिर साबित भयो, पहाडमा राजनैतिक दल, नेता, बुद्धिजीवी, एक्टिभिष्ट सबै ‘बोक्रे दम्भ’-ले जिउने प्राणी हुन्। उनीहरू कुवामा खेल्ने भ्यागुता हुन्। पैसामा बेचिने वस्तु हुन्।

जनता आवेगले उठेपछि भाजपा र मोर्चाबिचको सुझबुझ गड्बडियो। न केन्द्रले कुनै उपाय दिन सक्यो न पहाडका नेतृत्वले आन्दोलन आवेगलाई सच्याउन सक्यो।

भाजपाले पहाडमा मिडिया खन्याएर ममता व्यानर्जीलाई ‘क्रुर’ देखाउँदै सेक्न खोजेको रोटी डड्यो। ममताले भाजपाको चलखेल चाल पाइन्। क्याविनेट बैठक दार्जीलिङमा गर्ने निहूमा केन्द्रिय बल मगाइन्। क्याविनेट बैठक दार्जीलिङमा गर्नु ममताको कुटनीति थियो भन्न सक्ने बौद्धिक पहाडमा थिएनन्। र कुटनीति बुझ्ने औकातका बौद्धिकहरू पहाडमा छैनन् पनि। केही बुद्धिजीवीहरू छन्, जो ममता व्यानर्जीकै पपेट छन्।

ममताले ताकेकै ठाउँमा लाग्यो।

त्यसपछि गडबडियो माहौल। र केन्द्रिय बल खन्याएर मोर्चालाई ताकेर ममता व्यानर्जीले भाजपालाई काँड हानिन्। असन्तुलनले दुर्घटना निम्त्याउँछ। निम्त्यायो। ममता व्यानर्जीले विमल गुरुङको दादागिरीलाई कँज्याउन यही मौकालाई प्रयोग गरिन्। उनका नजिककालाई डर देखाइन् र बागी बनाइन्। पहिले हर्कबहादुर छेत्री लगिन्, त्यसपछि विनय-अनित। र लगाइन्-देश द्रोहको सोमोटो मुद्दा।

मुद्दा त मुद्दा नै हो। त्यसबाट बचेरै राजनीति गर्नु सही निर्णय बन्थ्यो। किन भने आन्दोलनलाई रणनीति प्रदान गर्न अघि नै पार्टीमा धमिरा लागिसकेको थियो-विमलको। त्यही धमिराले पार्टी ढल्यो विमलको पार्टी पनि।

विमल जङ्गल पस्दा सबैभन्दा ठूलो खतरा उनीमुनिका नेताहरूलाई नै थियो। त्यो खतरा मोल्न नसकेपछि विनय तामाङ र अनित थापाले ममता व्यानर्जीसित हात मिलाए र ज्यान जोगाए। जोगाउन त विमल गुरुङले पनि ज्यानै जागोएका हुन्, तर उनले मुट्ठी उठाएरै ज्यान जोगाए। विनय तामाङहरूले पनि ज्यानै जोगाएका हुन्, तर उनीहरूले शिर निहुराएर ज्यान जोगाए।

उनीहरूको मुट्ठी उठाउनु र शिर निहुराउनु-ले सडक उत्रेका जनतालाई के दियो त?

त्यो हो- अहिलेको परिवेश।

0

मुट्ठी उठाएर भूमिगत बनेका विमल गुरुङहरू 11 जातलाई जनजातिको मर्यादा दिलाउन भाजपासित म्याउ म्याउ गरिरहेकै छन्। शिर निहुराएर पहाडको सत्ता सम्हालेका विनय तामाङहरू विमलहरूकै भजन गाएर आत्मशान्ति गरिरहेका छन्।

आखिर किन यस्तो हुन्छ? रिभेन्जको राजनीतिबाट पहाड कैले मुक्त बन्ने? उनीहरूको आपसी मदभेदलाई बिचमा ल्याएर कहिलेसम्म जनमुद्दाको व्यापार गर्ने?

राजनीतिमा जनमुद्दा पहिलो प्राथमिकताको कुरा हो। भूमिगत बनेर होस्, विमल गुरुङसित अहिले पनि जनजातिको मुद्दा छ। केही हुन नसके पनि यति चाँही होस्, लाग्दो हो विमल खेमालाई।

तर जतिखेर दिल्लीमा जनजातिको मुद्दालाई लिएर गतिविधि गर्मियो, गोरामुमोले महेन्द्र पी. लामा, मुनिश तामाङहरू बोलाएर छैटौं अनुसूचीको प्रचार थाल्यो। किन?

गर्नुपर्ने 11 जातगोष्ठीलाई जनजातिको मर्यादा दिलाउन केन्द्रलाई चाप हुने कार्यक्रम हो, तर केन्द्रलाई दवाब हुने किसिमको कुनै पनि कार्यक्रम न गोजमुमो विनय गुटले गऱ्यो न त गोरामुमो, न त क्रामाकपाले गऱ्यो न त डा. लामाजस्ता इन्टेलेजेन्सियाहरूले।

जतिखेर जनताले आन्दोलन बोक्यो, तब पनि यी दलहरूले आफ्नो रोटी सेक्यो र जनावाजलाई  वेवास्ता गऱ्यो। कमसेकम 11 जातलाई जनजाति बनाउने सन्दर्भका पहलमा भएका चुकहरू केलाएर सामुहिकरूपमा यो मुद्दालाई सम्बोधन गर्नुपर्ने हो कि, यस्तो संवेदनशील बेला पनि आलोचना गर्ने विपक्षको धर्म निर्वाह गर्ने?

यस्तो संवेदनशील बेला केन्द्रलाई सामुहिकरूपले दवाब दिने हो कि ‘खै त बचन पुरा गरेको?’ भन्दै खिल्ली उडाउने हो? के जनजातिको मुद्दा विमल गुरुङको मात्रै मुद्दा हो त?

विमल गुरुङसितको दुश्मनी एउटा कुरा होला, तर जतिखेर जनमुद्दाको सवाल आउँछ, त्यतिखेर पनि त्यही दुश्मनीलाई हाबी बनाउनुको अर्थ के हुन्छ? जनमुद्दालाई पनि पार्टीको नियतमा अनुवाद गरेर हेर्न थालियो भने बुझ्नुपर्छ, उ जनताको होइन आफ्नो स्वार्थमा चलिरहेको छ।

यतिखेर पार्टी होइन जाति हेर्नु पर्ने होइन? तर खै पहाडका दलहरूलाई जनचिन्ता?

0

विनय तामाङले भन्दै गरेको गोर्खाहरूको समस्या जुनै पनि होस्, एउटा दलको दवाबले केही हुनेवाला छैन। जब कसैले पनि ‘हाम्रो दलले गर्छ’ भन्छ, त्यो सासर झुट हो। विनय तामाङले 11 जातको मुद्दा काँधमा नै बोके पनि जबसम्म केन्द्र संवेदनशील बन्दैन, कसैको कुनै पाखुराको बल काम लाग्दैन।

कुनै पनि पार्टीको चिन्तन सभाले जनमुद्दालाई पहिलो प्राथमिकतामा राख्छ, यसपल्ट विनय खेमाको चिन्तनसभाको निचोडमा सत्ताचिन्ता मात्र देखियो।

गोर्खाल्याण्ड माइनस, रणनीति माइनस् विनय तामाङले जतिनै विकासको ज्याकेट लगाइदिउन्, जनतालाई जाडोले छोड्ने छैन।  र कुनै पनि विकास जनमुद्दाको व्यापार गरेर सम्भव छैन।

सामुहिकताको, जनकांक्षाको, रणनीतिको र व्यवहारिकताको राजनीति गर्ने कि पार्टी बचाउ, सत्ता बचाउ र छवि बचाउको राजनीति गर्ने? के यसरी प्रश्न गर्न अपराध होला त?

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया