‘भाजपा र तृणमूलबीच गोप्य सम्झौता छ, यसै कारण घोषले ममता व्यानर्जी नै प्रधानमन्त्री हुन शुभकामना दिएका हुन्’

कलकत्ता, 7 जनवरी


बङ्गाल भाजपाका अध्यक्ष दिलिप घोषले मुख्यमन्त्री ममता व्यानर्जीबारे दिएको बयानको चर्चा चुलिएको छ। घोषले जन्मदिनको शुभकामना दिँदै भनेका थिए ‘तृणमूल काङ्ग्रेसका अध्यक्ष ममता व्यानर्जी देशको पहिलो बङ्गाली प्रधानमन्त्री बन्ने राम्रो सम्भावना छ। ज्योति बसु प्रधानमन्त्री बन्न सकेनन् तर ममता व्यानर्जी पक्कै बन्नेछिन्। उनको स्वास्थ्य राम्रो रहोस् किन भने बङ्गालको भविष्य उनको सफलतमा निर्भर छ।’

घोषको यो बयानलाई बङ्गाल काङ्ग्रेसका अध्यक्ष सोमेन मित्रले अर्कै दृष्टिले हेरेका छन्। ‘घोषको बयानबाट स्पष्ट हुन्छ, भाजपा-तृणमूलबीच गुप्त सम्झौता भइसकेको छ,’ उनले भने, ‘हामीले बारम्बार भाजपा-तृणमूलको भित्रि साँठगाँठ छ भनेकै हो, त्यो अहिले प्रमाणित भयो।’

घोषको वयान सार्वजनिक भएलगत्तै बङ्गालमा यसले रातारात चर्चा बटुलेको थियो। घोषले फेरि तुरुन्तै बयान फेर्दै भनेका थिए, ‘त्यो त मैले रेला गरेर भनेको हो।’ तर मित्रले पत्याएनन्। ‘रेला गरेको भन्नु बेतुकी कुरा हो। खासमा जनतालाई थाहा भइसकेको छ तृणमूल र भाजपाबिच कस्तो सम्झौता भइसकेको छ,’ मित्रले भने।

मित्रअनुसार भाजपालाई थाहा भइसकेको छ, यसपल्ट केन्द्रमा भाजपाको सत्ता आउँदैन। यस्तोमा भाजपाले ममता व्यानर्जीलाई समर्थन गर्नु नै उपयुक्त हुनेछ।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया