देशभरि 20 करोड कर्मचारी हडतालमा सामेल बन्ने : सरकारले हड्ताल रोक्ने गऱ्यो तयारी

कलकत्ता, 8 जनवरी


देशभरिका श्रमिक सङ्गठनहरूले 8 र 9 जनवरी राष्ट्रव्यापी हड्ताल गर्ने भएको छ। तर बङ्गाल सरकारले हड्तालको विरोध गर्ने भएको छ।  हड्ताल विफल बनाउन सरकार कुनै पनि हदसम्म जाने बताइएको छ। हड्तालकारीहरूलाई कार्वाही गर्ने भएको छ। राज्य परिवहन विभागले विज्ञप्ती जारी गरेर आज र भोलि धेरै संख्यामा बसहरू चलाउने बताइएको छ। बरू चालकहरूलाई खानासमेत उपलब्ध गराइनेछ।

राज्यभरि 2261 वटा सरकारी बस चल्छ। त्यसमा 500 वटा अरु थप्ने भएको छ। हड्तालको बेला चलाउने निजी वाहन मालिकहरूलाई बीमा उपलब्ध गराउने भएको छ। यदि कहीँ पनि वाहन तोड्फोड भो भने उनीहरूले 24 घन्टाभित्र थानामा प्राथमिकी दर्ता गर्नुपर्नेछ।

72 घन्टाभित्र डब्ल्यूबीटीआइडीसीएललाई सूचित गरिएपछि बीमा राशी दिइनेछ। यसको लागि हरेक परिवहन कक्षमा कन्ट्रोलरु खोलिएको छ।

कुनै चालकलाई असुविधा भएमा  परिवहन विभागको 8902017191 नम्बरमा वाट्सएप गर्न सकिनेछ।

केन्द्र सरकारको एकतर्फी श्रम सुधार र कथित श्रमिक-विरोधी नीतिको विरोधमा केन्द्रिय श्रमिक सङ्घहरूले दुइदिने हडताल डाकेको हो। सङ्घहरूले 20 करोड़ कर्मचारी हड़तालमा सामेल हुने भनेको छ।

बताइएअनुसार दूरसञ्चार, स्वास्थ्य, शिक्षा, कोइला, इस्पात, बिजली, ब्याङ्किङ, बीमा र परिवहन क्षेत्रका कर्मचारीहरू पनि हडतालमा सामेल बन्नेछन्।

यता सिलगढी, पहाड र डुवर्समा पनि बन्दको आंशिक प्रभाव हुनसक्ने सम्भावना छ।

यता 8 र 9 जनवरी भारत बन्दले दार्जीलिङको जोइण्ट फोरमंमा नै विभाजन सृजना भएको स्पष्ट भएको छ। फोरमका संयोजक र प्रवक्ताको अलग-अलग बयानले फोरमभित्र फाटो नै आएको प्रमाणित भएको छ। जोइण्ट फोरमका संयोजक वा गोरामुमोको श्रमिक संगठनका कार्यकारी अध्यक्ष जेबी तामाङले 8 र 9 जनवरी भारत बन्द अवधि पहाडका सम्पूर्ण चियाबगान खुल्ला रहने घोषणा गरे भने यसको केही समयपछि माकपा कार्यालयमा जोइण्ट फोरमका प्रवक्ता सुनिल राईले एक पत्रकार सम्मेलनको आयोजना गरेर चियाबगान खुल्ला राख्ने निर्णय जोइण्ट फोरमको होइन भनेका छन्।

यसबारे फोरमका संयोजक जेबी तामाङले भने-यसको साटो जोइण्ट फोरमले दार्जीलिङमा टी बोर्ड र (पीएफ) भविष्यनिधि कोष कार्यालय घेराउ गर्ने निर्णय लिएको छ। आज यसैको जानकारी गराउँदै जोइण्ट फोरम दार्जीलिङ हिल सब्-कमिटीका संयोजक जेबी तामाङले भने-त्यसै पनि दार्जीलिङ पहाडका चियाश्रमिकहरूले पहाड बन्दको कारण धेरै समस्या खप्न परेका छन्। यसमाथि अझै चियाबगान बन्द गर्दा चियाश्रमिकहरूमाथि नै फेरि समस्या थुप्रिनेछ। यसैले चियाबगानका श्रमिक संगठन एकाईहरूको परामर्शअनुसार नै जोइण्ट फोरमले पहाडका चियाबगानहरू खुल्ला राख्ने घोषणा गरेको हो।

उनले भने-चियाश्रमिकदेखि देशभऱिका खटिखाने मजदूरवर्गको हितमा देशका विभिन्न श्रमिक संगठनहरूले आगामी 8 र 9 जनवरी भारत बन्दको घोषणा गरेको छ। जसलाई जोइण्ट फोरमले नैतिक समर्थन जनाएको छ। तरै पनि पहाडका चियाबगान अनि श्रमिकहरूको समस्यालाई ध्यानमा राखेर जोइण्ट फोरमले यस्तो निर्णय लिएको हो।जोइण्ट फोरमले भनेअनुसार, भारत बन्दको आह्वान गर्ने राष्ट्रिय श्रमिक संगठनहरूले चियाश्रमिकहरूका समस्या समाधानको लागि पनि आवाज उठाएको छ। चियाश्रमिकहरूको लागि लागू बोनसको सिलिङ 20 प्रतिशतलाई हटाउऩुपर्ने, हालसम्म चियाश्रमिकहरूले पाउने 1,000 रूपियाँ बोनसलाई मासिक 6,000 रूपियाँ बनाउनुपर्ने, न्यूनत्तम रोजी 18,000 रूपियाँ बनाउनुपर्ने साथै अन्य मागहरू सामेल छन्। यसैलाई समर्थन जनाउँदै जोइण्ट फोरमले यस दुइ दिवसीय भारत बन्दको घोषणालाई नैतिक समर्थन जनाएको हो। तरै पनि दार्जीलिङ पहाडका चियाबगानहरूलाई खुल्ला राखेर भविष्यनिधि कोष कार्यालय अनि टी बोर्ड कार्यालयमा घेराउ गर्ने साथै ज्ञापन पेश गर्ने कार्यक्रम बनाइएको हो, तामाङले थपे।

उनले भने-दार्जीलिङ पहाडका धेरैवटा चियाबगान मालिकहरूले चियाश्रमिकहरूको भविष्यनिधि कोष जमा गरेकै छैन। जुन रकम करोडौं पुगिसकेको छ। यसैले चियाबगान मालिकहरूमाथि भविष्यनिधि कोष जमा गराउन चाप सृजना गरोस् भन्ने उद्देश्यले नै फोरमले भविष्यनिधि कोष कार्यालय घेराउ गर्ने कार्यक्रम बनाएको हो। यता गोर्खा जनमुक्ति मोर्चाले यस भारत बन्दलाई समर्थन पनि छैन, विरोध पनि छैन भन्ने जनाउँदै पार्टीले अघिबाटै बन्द नगर्ने निर्णय लिएको बताएको छ। पार्टी प्रवक्ता सुरज शर्माले भने-गोजमुमो अध्यक्ष विनय तामाङले अघिबाटै दार्जीलिङ पहाडमा कुनै बन्द वा हड्ताल नहुने वा दार्जीलिङ पहाडलाई बन्दमुक्त राख्ने घोषणा गरिसकेका छन्। यसैले भारत बन्दमा पनि पार्टीको अडान स्पष्ट छ। किनभने, दार्जीलिङ पहाड बन्दबाट दार्जीलिङ पहाडका जनताले केवल नोक्सान खप्न परेका छन्। यसैले पहाडमा कुनै बन्द हुँदैन। यसरी नै दार्जीलिङको हिमालयन ट्रान्सपोर्ट को-अर्डिनेशन कमिटीले पनि 8 र 9 जनवरी पहाडको यातायात सेवा पूर्णरूपले खुल्ला रहने घोषणा गरेको छ। यसैबीच, राज्य सरकारले पनि एक अधिसूचना जारी गरेर 8 र 9 जनवरीका दिन कार्यालय नआउने कर्मचारीहरूको वेतन काटिदिने चेताउनी दिएको जानकारी पाइएको छ।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया