के विमल गुरुङ गलत छन्?

प्रश्न

विमल गुरुङ मैदानमा हुँदा संसद घेराउ गर्ने पहाडको राजनैतिक दलले विमल भूमिगत हुनुपरेपछि कतिपल्ट संसद घेराउ गरे? उनीहरूले आन्दोलनलाई किन निरन्तरता दिएनन? दिल्लीमा गोजमुमोलाई झण्डा लगाउन नदिनेहरूले विमल भूमिगत भएपछि किन आन्दोलनलाई जारी राखेनन्?


दावा लेप्चा


2०१७ मा पहाड़मा विमल गुरुङको नेतृत्वमा गोर्खाल्याण्डको आन्दोलन चल्दा त्यहाँ भएका अन्य राजनैतिक दलहरू पनि आन्दोलनमा उत्रिए। सबैले भने गोर्खाल्याण्डको बाधा जीटीए हो, विमल गुरुङले जीटीए त्याग्नु पर्छ,  उनले सबैको कुरा सुने अनि जीटीए त्यागे। दार्जीलिङमा अन्याय भएको देखेर, पुलिसको गोलीले आफ्नो दाजु-भाई शहीद बनेको देखेर यसलाई राष्ट्रिय स्तरमा विरोध गर्नुपर्छ भनेर विमल गुरुङको निर्देशमा दिल्लीमा गोजमुमोको दिल्ली शाखालाई जन्तर-मन्तरमा धर्ना गर्न लगाइयो।

त्यसबेला दिल्लीमा गैर गोजमुमो अन्यहरू पनि आन्दोलनमा उत्रिए अनि गोजमुमोलाई ‘अहिले झण्डाको राजनीति गर्ने समय होइन, यो जनान्दोलन हो भन्दै झण्डा त्यागेर राजनीति गर्नुपर्छ’ भने। विमल गुरुङले त्यो पनि माने, दिल्लीमा पार्टीले झन्डा निकालेनन्।

पहाड़मा सबै राजनैतिक दलहरूले ‘गोर्खाल्याण्ड गोजमुमोको पेवा माग होइन, पहाडको सबै दलको हो’ भने, उनले त्यो कुरा पनि माने अनि जीएमसीसीको गठन भयो। पार्टीभित्र मिरजाफर र विभिषण जन्मिसकेको थिएछ,  हामीले कल्याण देवान अनि पी. अर्जुनलाई पठाएका थियौं, तर विमल गुरुङलाई ‘तपाईं बाँचेमात्र आन्दोलन बाँच्छ’ भनेर बाहिर निस्कन नदिएर विनय तामाङ जीएमसीसीमाथि हावी भए।

विमल गुरुङले जातिको हित हुन्छ भनेर विनयको कुरा मानेर नै बसे। तर पहाडका राजनैतिक दलहरूले विनयको विरोध पटक्कै गरेनन। विनयहरूले अध्यक्षलाई ‘तपाईं बाँचेमात्र आन्दोलन बाँच्छ’ भनेर पिठ्यूँमा छुरा हानेका थिएछन, तर जाति र माटोको निम्ति मरिमेट्ने उनको स्वभावले विनयहरूको त्यो षडयन्त्र  थाहा पाएनन।

हुनसक्छ एउटा सबल नेतृत्वको निम्ति यो गलत पक्ष होला, तर जातिको सपनालाई मर्न नदिन उनले लिएका उपरोक्त सबै निर्णय कदाचित गलत हुन् सक्दैन। ममताको षडयन्त्रमा आन्दोलन तुहाएर विनय र अनित बिके।

विमललाई प्रशासन लगाएर झुटो मुद्दा लगाएर मैदानबाट बाहिर निकालियो। यी कुराहरू विश्वभरी छरिएर बसेका गोर्खालाई थाहा छ। तर आज मौनता तोडेर मनमा लागेका केही कुराहरू मलाई सोध्न मन लागेको छ।

विनय तामाङले धोका दिइसकेपछि पनि पहाडमा गोजमुमो बाहेक तमाम राजनैतिक दलहरू जसले ‘गोर्खाल्याण्ड गोजमुमोको पेवा माग होइन, पहाडको सबै दलको हो’ भन्दथे, उनीहरूले जीएमसीसीलाई किन निरन्तरता दिएनन्?

के विमल गुरुङले मुद्दा उठाउँदा मात्र अरूले गोर्खाल्याण्ड भन्ने? दिल्लीमा ‘झण्डाको राजनीति नगरौं’ भन्ने त्यतिबेलै जन्मिएका नेताहरू विनयले धोका दिएपछि अचानक कहाँ हराए?

के विमल गुरुङले उनीहरूलाई अब आन्दोलन नगर्नु भने र?  त्यति बेला गोर्खाल्याण्डलाई धोका नदिने अनि अरूलाई पनि धोका दिन नदिने कसम खाइएको एफिडेभिट समेत देखापरेको थियो होइन र?

आन्दोलनलाई धोका दिनेको विरुद्ध त्यो एफिडेभिट कति काम लाग्यो अनि उनीहरूले आन्दोलनको स्वर कति माथिसम्म उचाले? पहाडमा झण्डा  थन्क्याएर ‘हामी राजनीतिमा उत्रेका छौं’ भनेर झन्डा बाकसमा हाल्ने नाटक गर्ने अनि संसद  घेराउ गर्नु त्यतिबेला दिल्ली आउँदा झण्डा बाकसबाट फेरी निकालेर आउनेहरू विनय-ममताको सम्झौता पछि कता हराएका थिए?

विमल गुरुङ मैदानमा हुँदा संसद घेराउ गर्ने पहाडको राजनैतिक दलले विमल भूमिगत हुनुपरेपछि कतिपल्ट संसद घेराउ गरे? उनीहरूले आन्दोलनलाई किन निरन्तरता दिएनन? दिल्लीमा गोजमुमोलाई झण्डा लगाउन नदिनेहरूले विमल भूमिगत भएपछि किन आन्दोलनलाई जारी राखेनन्?

कहाँ गयो उनीहरूको झन्डाविहीन आन्दोलन? हिजो विमल गुरुङ सत्तामा हुँदा विमल ठीक हो भन्ने वुद्धिजिवीहरूले अहिले किन विमल बेठीक हुन्, आन्दोलन उनले बिगारेको हो भन्दैछन?

अहिले चुनावको मुखमा सबै फेरि बौराएर किन गोर्खाल्याण्ड भन्दै बौरिएर उठ्न खोज्दैछन?

विमल नहुँदा अरूले गोर्खाल्याण्ड आन्दोलनलाई  निरन्तरता  नदिएको कारण के हो?

के उनीहरूले ‘गोर्खाल्याण्ड आन्दोलन हाम्रो हो’ भन्नु केवल विमललाई सत्ताबाट निकालेर फ्याँक्नुको निम्ति मात्रै थियो त?

यदि त्यसो हो भने ममता व्यानर्जी दोषी कि पहाडका राजनैतिक नेताहरू दोषी?

२०१७ को आन्दोलन विमल गुरुङलाई जीटीएको कुर्सीबाट फ्याँकेर बिनय तामाङलाई त्यही कुर्सीमा राख्नको निम्ति मात्रै थियो त?

यसै कारणले मात्र पहाडका सबै राजनैतिक दलहरू एक भएका थिए? होइन भने आन्दोलनलाई उनीहरूले किन निरन्तरता दिएनन्?

विनयले आन्दोलन सम्झौता गर्दा मुखमा ताला लगाएर बस्ने नेताहरूले अब चुनावको मुखमा गोर्खाल्याण्ड भन्ने? अनि जनताले सुन्नुपर्ने?

विनय-अनितले धोका दिइसकेपछि पहाडमा अगणतान्त्रिक प्रकारले गोर्खाल्याण्ड पन्थीहरूलाई पक्राउ गर्दा, घर कुड्की गर्दा, पुलिस राज चल्दा, जनसभा गर्नु समेत नपाउँदा लुकेर बस्नेहरू के चुनावमा बाहिर निस्कने?

कसको भोट काट्नु निस्कने अनि आफु चुनावमा उठेर कसलाई जिताउन निस्कने? के विमल गुरुङ छैन भने पहाडमा गोर्खाल्याण्डको आन्दोलन हुँदैन? कसले रोकेको छ?

सायद यस्ता प्रश्नहरू गरेर म थाक्छु होला, तर आज यस्ता हजारौं प्रश्नहरूले  जनतालाई थिचेको छ, यी प्रश्नहरूको जवाब कसले दिने?

विमल गुरुङले भूमिगत बस्दा पनि जातिको हित सोचे, पहाड़-तराई-डुवर्सको जनतालाई माया गरे, भारत भरिका गोर्खालाई सम्वाधानिक स्टाटस दिन चाहे अनि गोर्खाल्याण्डको मानचित्रलाई बलियो बनाएर भविष्यमा गरिने आन्दोलनलाई बलियो बनाउन केन्द्रसँग गोर्खाको एघार समुदायलाई अनुसूचित जनजाति बनाउने मागलाई अघि बढाए।

उनले यस सम्बन्धमा गर्नुपर्ने काम सबै गरे, बुद्धिजीवीहरू डराएर घरभित्र बसेको बेला केही निस्वार्थ अराजनैतिक व्यक्तिहरूलाई आग्रह गरेर यस मुद्दालाई अन्तिमसम्म अघि बढाई रहे। केन्द्रले शीतकालीन सत्रमा दिन्छु भनेको थियो, दिएन।

किन बील सदनमा आएन त्यो बीजेपीलाई थाहा होला, तर यसमा विमल गुरुङको के कसुर छ? तर आज उनलाई दोष दिनेहरूले आफैले चैं यस विषयमा के गरे?

एउटा सिन्को नभाँच्नेहरूले दोष दिनु कतिसम्म सुहाउँछ?

यस शीतकालिन सत्रमा बील नआए तापनि उनले अझै पनि यस बारेमा आफ्नो प्रयास छोडेका छैनन। यो उनको राजनैतिक इमान्दारिता हो। तर पहाडमा आफूले पनि नगर्ने अनि गर्ने प्रयास गर्नेलाई दोष दिएर राजनीति गर्ने नाटकबाज नेताहरूको झूट जनताले कतिसम्म सुन्नुपर्ने?

एघार जात गोष्ठीलाई जनजाति बनाउनु भनेको कुनै व्यवस्थासँग को सम्झौता होइन। यो माग पास हुँदा कुनै नयाँ व्यवस्था बनिँदैन । यसले त केवल गोर्खालाई रैथाने मान्यता दिन्छ अनि हाम्रो भूमिको सुरक्षा दिन्छ। यसैले यो माग विमलले कुर्सीको निम्ति गरेका थिएनन्। तर उनले सङ्कटकालमा गरेको यस निस्वार्थ जाति सेवालाई पनि पहाड़मा राजनीतीको  टुँडिखेल बनाइयो।

हामी यदी यसरी नै राजनीति गर्छौं भने हामीले भविष्यमा मेचीको बगरमा पनि स्थान पाउने छैनौ। सायद गोर्खाको शब्दकोशबाट  इमान्दारिता भन्ने शब्द  मेटिएर पो जाने हो कि भन्ने चिन्ताले मलाई सताउन थालेको छ।

ईश्वरसँग प्रार्थना गर्छु, गोर्खाको भाग्यमा लागेको पूर्ण ग्रहण मेटाई दिनुहोस।  आज म प्रार्थना सिवांय केही गर्नसक्ने स्थितिमा छुइनँ । मैले चिनेको विमल गुरुङले  आज पनि जातिको सुरक्षाको निम्ति एउटा अघोषित युद्ध लड्दैछन् ।

यी कुराहरू लेख्न मलाई मेरो दिमागले अह्राएको होइन, मनमा लागेको कुराहरू लेखेको हो। जनताले छातीमा हात राखेर यी कुराहरू सोच्नुहुनेछ भन्ने मेरो विश्वास छ।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया