नगराध्यक्ष रवि प्रधानमाथि आक्रमण गर्ने नगरपार्षद कुणाल प्रधानलाई मोर्चाले पठायो सोकज नोटिस : रवि प्रधानले न्याय नपाए हाट बजार सङ्गठन सडक उत्रने

‘हामीले पार्टीलाई भनेकै थियौं, रवि प्रधान हाम्रो सङ्गठनका सचिव पनि हुन्। उनलाई न्याय नभए बजार बन्द गर्नेछौं,’ एनडी मुस्ताकले भने, ‘तर पार्टीले न्याय दिलाउने भनेपछि हामीले अहिले नै कुनै विरोधको कार्यक्रम गरिहाल्नेबारे निर्णय गरेका छैनौं। तर न्याय नपाए वा दोषीलाई पक्राउ नगरे हामी सडकमा उत्रने नै छौं।’


कालेबुङ, 8 जनवरी


केहीदिनअघि कालेबुङ नगरपालिकाका अध्यक्ष रवि प्रधान अनि नगरपार्षद कुणाल प्रधानबीच नगरपालिकाको आन्तरिक मामिला केन्द्रित हातापाई भएको थियो। बताइएअनुसार रवि प्रधान अनि कुणाल प्रधानबीच नगरपालिकाको एउटा आन्तरिक मामिलालाई लिएर भनाभन वा भुलबुझाबुझ चलिरहेको थियो। यस्तैमा रवि प्रधानमाथि कुणाल प्रधानले प्राणघातक हमला गरेको भन्दै  कालेबुङ थानामा प्राथमिकी दर्ता गरिएको थियो।

डम्बर चौकमा अचानक नगराध्यक्ष रवि प्रधानले आफूमाथि कुणाल प्रधानले हमला गरेको तर उनले आफ्नो बचाउ गर्दा अङ्गरक्षकलाई लागेर घाइते बनेको बताएका थिए। घाइते अङ्गरक्षकले नै कालेबुङ थानामा प्राथमिकी दर्ता पनि गरेका हुन्।

कालेबुङ नगरलाई सुन्दरिकरण गर्नेक्रममा मेनरोडका भवनहरूमा एकैप्रकारका रङ्गपचेरा गर्नका निम्ति श्यामादेवी भवनमा डाकेको सभापछि आफुहरू फर्कने क्रममा अचानक हमला भएको रवि प्रधानको वयान थियो।

‘राती श्यामादेवी भवनमा सभा सकेर निस्केका थियौँ। मेनरोडका बिल्डिङहरूमा रङ्गपचेरा गर्ने सन्दर्भमा सभा भएको थियो। त्यहाँ फर्कनेक्रममा म अनि मेरा गार्ड सँगै थियौँ,’ प्रधानले भनेका थिए, ‘त्यसैबेला डम्बरचौक नजिक आइपुग्दा कुणालले अचानक आएर हमला गरे। त्यस हमलामा मेरा सुरक्षागार्ड घाइते बनेका छन्। उनले नै कालेबुङ थानामा प्राथमिकी दर्ता समेत गरिसकेका छन्।’

तर उनीहरूबीच कुन विषयलाई लिएर तनाव बढिरहेको थियो, हमला गर्नुको खास आन्तरिक कारण के के थियो, त्यो भने रवि प्रधानले त्यसबेला केही बताएका थिएनन्। यसै घटनालाई लिएर गोजमुमो विनय खेमाको एउटा बैठक भएको छ। बैठकपछि नै आज हमलाका आरोपी नगरपार्षद् कुणाल प्रधानलाई गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) -ले शोकज नोटिस पठाएको गोजमुमो कालेबुङ जिल्ला कमिटीका अध्यक्ष सञ्चवीर सुब्बाले बताएका छन्।

सुब्बाका अनुसार यो विषयलाई लिएर सोमवार स्थानीय डेलोमा गोजमुमो कालेबुङ जिल्ला कमिटी र केन्द्रिय समिति महासचिव अनित थापाबीच एक सभा बसिएको थियो। यसै सभामा आरोपी नगरपार्षद् प्रधानविरुद्ध शोकज पठाउने निर्णय गरिएको हो।

‘हिजो बसिएको बैठकमा लिएको निर्णयअनुसार आज हामीले कुणाल प्रधानलाई शोकज नोटिस पठाएका छौं’, सञ्चवीर सुब्बाले भने, ‘हामीले उनलाई आफ्नो पक्ष राख्ने तीन दिनको समय दिएका छौं। आगामी 11 जनवरीभित्र यो मामिलाबारे आफ्नो पक्ष राख्न सक्नेछन्।’

उनका अनुसार पार्टीका कुनै पनि पदका व्यक्तिद्वारा गरिने गैरकानुनी कार्यलाई पार्टीले सहन नगर्ने निर्णय पनि सभामा लिइएको छ। सुब्बाले भने, “साधारण जनता र नेतृत्व सबैलाई सन्देश छ, उनीहरूले अगणतान्त्रिक र पार्टीको नियमबाहिर काम गर्न पाउनेछैनन्। अनि यस्ता कामहरूलाई पार्टीले सहन पनि गर्नेछैन। यस्ता काम गर्ने व्यक्तिहरूलाई पार्टीले राख्दैन पनि, महत्त्व पनि दिनेछैन। यो सबैलाई सन्देश हो।”

आगामी 11 जनवरीभित्र आरोपी कुणाल प्रधानले लिखित रूपमा आफ्नो पक्ष राखेपछि पार्टीले यसबारे आगामी निर्णय लिने पनि सञ्चवीर सुब्बाले बताएका छन्।

अर्कोतिर आज कालेबुङ नगरपालिकाका नगरपार्षद्हरूले सुरक्षाको प्रत्याभूति हुनुपर्ने माग गर्दै थानाका आईसी सुवाशिष चाकीलाई एक ज्ञापन चढ़ाएका छन्। आईसीलाई ज्ञापन चढ़ाएपछि स्थानीय संवाद माध्यमहरूसँग कुराकानी गर्दै उनीहरूले गत 4 जनवरीको राति नगरपार्षद् रवि प्रधानमाथि भएको हमलाले आफूहरूलाई असुरक्षित महसुस भएकोले सुरक्षा हुनुपर्ने माग गर्दै आज ज्ञापन चढ़ाएको बताए।  उनीहरूले नगरपालिका अध्यक्षमाथि भएको हमलाको पनि विरोध गरेका छन्।

‘कालेबुङ शान्त थियो, विकास कार्य धेरै राम्रो चलिरहेको थियो तर अध्यक्षमाथि नै आक्रमण हुँदा हामीले असुरक्षा अनुभव गरेकोले ज्ञापन चढाएका हौं,’ नगरपर्षद भीम अग्रवालले भने। यता हाट बजार सङ्गठनका अध्यक्ष एनडी मुस्ताकले धेरैवर्षदेखि रवि प्रधानले हाटबजारलाई सङ्गालेर राखेको अनि उनीमाथि हातापाई हँदा व्यापारीहरू दुखित बनेको बताए।

उनीहरूले पनि रवि प्रधानको पक्षमा अनि कुणाल प्रधानलाई पक्राउ गर्न थानामा निवेदन गरेको पनि बताए। ‘हामीले पार्टीलाई भनेकै थियौं, रवि प्रधान हाम्रो सङ्गठनका सचिव पनि हुन्। उनलाई न्याय नभए बजार बन्द गर्नेछौं,’ एनडी मुस्ताकले भने, ‘तर पार्टीले न्याय दिलाउने भनेपछि हामीले अहिले नै कुनै विरोधको कार्यक्रम गरिहाल्नेबारे निर्णय गरेका छैनौं। तर न्याय नपाए वा दोषीलाई पक्राउ नगरे हामी सडकमा उत्रने नै छौं।’

यता नगराध्यक्ष रवि प्रधानले आफूलाई अभद्र शब्दसमेत बोलेर आक्रमण गरेपनि आफूले भने थानामा प्राथमिकी दर्ता नगरेको भन्दै पार्टीलाई नै यसबारे छानबिन गर्ने वा न्याय गरिदिने जिम्मेवारी सुम्पिएको बताए।

‘म जुन हिसाबले शान्तसित विकास गरिरहेको छु, यसमा बाधा नहोस्। मैले राम्रै काम गरिरहेको छु तर यसप्रकारको आक्रमण हुन थाल्यो भने म काम गर्न सक्दिन,’ उनले भने, ‘जनताले बन्द डाक्ने भन्दैछन्। मैले त्यसो नगरिदिने अनुरोध गरेर रोकें। कुणालजी मेरो धेरै नजिकका हुन्। मैले अहिलेसम्म उनीसित कुनै गलत गरेको छैन। मैले गल्ती गरेको छ उनले भनुन्। उनलाई कसैले उक्साउँदै होला। कसैले पनि कालेबुङको शान्ति भङ्ग नगरिदिउन्।’

रवि प्रधानले आफू अशान्ति नचाहने अनि अशान्ति र असुरक्षाबीच आफू विकासको कुनै काम गर्न पनि नसक्ने बताए। ‘कालेबुङमा, सौहार्द परिवेशको निर्माण गरौं र कालेबुङलाई सुन्दर बनाऔं,’ उनले भने।

अघि पनि विभिन्न बेला भीम अग्रवाल, इन्द्र गजमेर र आफूसित यसप्रकारको आक्रमण भइसकेकोले नरपार्षदहरूले असुरक्षा अनुभव गरेको पनि उनले बताए। ‘पार्टीकै सुझावमा नगरपार्षदहरूको सुरक्षाको लागि नै आज थानामा जेनरल डाइरी पनि गरेका छौं,’ उनले भने।

 

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया