2800.83 लाखमा 202 वटा युनिट भएका घर

रम्फू, 10 जनवरी


रम्फूको माझीगाउँमा शहरी क्षेत्रका गरीबहरूको निम्ति निर्माण गरिएको 202 वटा युनिट भएका घरहरूको उद्घाटन शहरी विकास तथा आवास विभागका मन्त्री एनके सुब्बाले बुधवार गरेका छन्। 2800.83 लाख रुपियाँको लागतमा निर्माण गरिएको यी घरहरूको निम्ति केन्द्र सरकारले 2177.56 लाख रुपियाँ प्रदान गरेको थियो भने राज्य सरकारबाट 623.27 लाख रुपियाँ खर्च गरिएको छ।

उद्घाटन कार्यक्रममा मन्त्री सुब्बाले पाँच परिवार क्रमैले फूलमाया शेर्पा, पूर्णमाया बराइली, फूलमाया माझी, गणेश दर्जी र माया तामाङलाई युनिटको चाबी प्रदान गरेर गृहप्रवेश गराए भने रहल लाभार्थीहरूलाई विभागको तर्फबाट चाँड़ै चाबी प्रदान गरिने भएको छ। शहरी क्षेत्रका गरीबहरूलाई निःशुल्क रूपमा यी युनिटहरू प्रदान गरिएको छ।

यसै अवसरमा मन्त्री सुब्बाले रम्फू बजारदेखि अस्पतालसम्म निर्माण गरिएको फुट ओभरब्रिजको पनि उद्घाटन गरे। राज्य सरकारले 168.89 लाख रुपियाँको लागतमा यो फुट ओभरब्रिजको निर्माण गरेको हो। यस अवसरमा क्षेत्र विधायक गोपाल बराइली, एसडीएफ पार्टीका नेता केके ठटाल, रम्फू नगर पञ्चायतकी सभापति माया सिञ्चुरीलगायत अन्यको उपस्थिति रहेको थियो।

गरीबहरूको निम्ति निर्माण गरिएको घरको उद्घाटन गरेपछि सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री सुब्बाले भने, “सिक्किम झोपड़ीमुक्त राज्य योजनाअन्तर्गत शहरी क्षेत्रका गरीबहरूको निम्ति पनि घर उपलब्ध गराइएको हो। शहरी क्षेत्रमा पनि अब एउटा पनि झोपड़ी रहनेछैन। रम्फूलगायत अन्य शहरी क्षेत्रमा पनि गरीबहरूलाई ससाना युनिटहरू प्रदान गरिने काम भइरहेको छ।”

उनले अझ भने, “सरकारबाट उपलब्ध गराइएका पूर्वाधारहरूको रखरखाउको जिम्मेवारी लाभार्थीहरूको हो। सरकारले सधैं यसरी घर उपलब्ध गराउन सक्दैन। एकचोटि पाएपछि यसलाई लाभार्थीहरूले राम्रोसँग रखरखाउ गर्नुपर्छ।” शहरी क्षेत्रमा रहेको वन विभागको जमिनमा बस्ने मानिसहरूको समस्यामाथि बोल्दै उनले भने, “शहरी क्षेत्रमा प्रायः 2000 परिवारहरू वन विभागको जमिनमा बस्दै आइरहेका छन्। राज्य सरकारले 20 वर्षदेखि बस्दै आएका मानिसहरूको जमिनलाई स्थायी गर्ने पहिला निर्णय लिएको थियो, तर अहिले यसलाई घटाएर 10 वर्ष बनाइएको छ।

अब शहरी विकास तथा आवास विभागले वन विभागलाई एकमुष्ठ रूपमा क्षतिपूर्ति प्रदान गरेर सबै जमिन स्थायी गर्नेछ। यसको निम्ति प्रक्रिया शुरु भइसकेको छ। जति पनि 10 वर्षदेखि यस्तो जमिनमा बस्दै आइरहेका छन्, उनीहरूले प्रमाणसहित विभागमा आवेदन गरेर आफ्नो जमिनलाई स्थायी गर्न सक्नेछन्। विशेष गरेर यस्तो क्षेत्र गान्तोक वरिपरिका ठाउँहरू रहेका छन्।”

यसै क्रममा मन्त्री सुब्बाले राज्यको राजनीतिमा बोल्दै भने, “आगामी चुनाउ भनेको एउटा औपचारिकता मात्र हो। पाँच वर्षपछि चुनाउ गर्नुपर्छ भन्ने नियम छ। त्यही नियमको मात्र पालन हुँदैछ। सरकार एसडीएफकै हुनेछ। यसमा कसैले शङ्का गर्नुपर्ने ठाउँ नै छैन। एसडीएफ पार्टीले आगामी चुनाउमा 32 मा 32 सीट जित्नेछ।”

कार्यक्रमलाई क्षेत्र विधायक गोपाल बराइलीले सम्बोधन गर्दै एसडीएफ सरकारले रम्फू क्षेत्रको विकासका निम्ति गरेका कामहरूमाथि प्रकाश पारे। कार्यक्रमको सञ्चालन रम्फू नगर पञ्चायतका कार्यकारी अधिकारी हिम्मत राईले गरेका थिए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares