एसडिएफको शक्ति

गान्तोक, 10 जनवरी


सत्तारूढ़ एसडीएफ पार्टीले बुधवार गान्तोकमा शक्ति प्रदर्शन गरेको छ। गान्तोक समष्टिस्तरीय पार्टी कार्यालय उद्घाटनको अवसर पारेर सत्तारूढ़ पार्टीले गान्तोक वरिपरिका समष्टिबाट हजारौंको सङ्ख्यामा पार्टीका युवा र चेली कार्यकर्ताहरू भेला गर्‍यो। तिब्बत पथमा बिहानदेखि नै पार्टी कार्यकर्ताहरू भेला भएका थिए। उनीहरूले एसडीएफ र पार्टी अध्यक्ष पवन चामलिङको पक्षमा गगनभेदी नारा लगाए। एसडीएफ समर्थकहरूको भीड़ले धेरै समयसम्म राजधानीमा ट्राफिक समस्या उत्पन्न भएको थियो।

तिब्बत पथमा गान्तोक समष्टिका विधायक पिन्चो छोपेल लेप्चाले पार्टी कार्यालयको उद्घाटन गरे भने यस अवसरमा आरिथाङ समष्टिका विधायक श्याम प्रधान, अप्पर बुर्तुकका विधायक डीआर थापा, अप्पर तादोङका विधायक तिमोथी विलियम बस्नेत, छुजाचेन समष्टिका विधायक विक्रम प्रधान, पार्टीका पूर्व जिल्ला प्रभारी डीबी थापा, पार्टीका युवा नेता आशिष राईलगायत पार्टीका अन्य विशिष्ट नेतृत्वहरूको उपस्थिति रहेको थियो।

यस अवसरमा विपक्षी राजनीतिक दल एसकेएमबाट 1021 जना युवा तथा चेली कार्यकर्ताहरू एसडीएफ पार्टीमा सामेल भएको दाबी गरिएको छ। युवा सम्पर्क नाम गरेर तिब्बत पथमा पार्टी कार्यालय खोलिएको छ भने युवाहरूलाई पार्टीसँग सोझै सम्पर्क बनाउन सजिलोको निम्ति पार्टी कार्यालय खोलिएको बताइएको छ। पार्टी कार्यालयको उद्घाटनपछि पार्टीका वरिष्ठ उपाध्यक्ष तथा पूर्व मन्त्री डीबी थापाले पत्रकारहरूसँग कुराकानी गर्दै भने, “एसडीएफ पार्टीले युवाहरूलाई सधैं नै प्राथमिकता दिँदै आएको छ।

पार्टीमा धेरै युवा नेतृत्वहरू जोड़िएका छन्। अहिले पार्टीका धेरै साङ्गठनिक गतिविधिमा युवाहरू जोड़िएका छन्। धेरै सङ्ख्यामा पञ्चायतहरू अहिले युवा छन्। आगामी चुनाउमा पनि युवाहरूले अवश्य नै टिकट पाउनेछन्। युवाहरूको सजिलोको निम्ति राजधानीमा पार्टी कार्यालय खोलिएको हो। 2014 को चुनाउमा गान्तोक तथा वरिपरिका समष्टिबाट एसडीएफ पार्टीले हारको सामना गरे तापनि 2019 को चुनाउमा यी सबै समष्टिबाट जित्नेछ। अहिले पूर्व जिल्लामा पार्टीको साङ्गठनिक कार्यक्रमहरू धेरै राम्रो भएर गएका छन्।”

कार्यक्रमलाई सम्बोधन गर्दै गान्तोक समष्टिका विधायक लेप्चाले 90 प्रतिशत जनता एसडीएफ पार्टीमा रहेको ठोकुवा गरे। उनले केवल 10 प्रतिशत जनता अन्य पार्टीमा रहे तापनि उक्त 10 प्रतिशत एसडीएफको निम्ति कुनै चुनौती नरहेको बताए। सिक्किमका जनताले यसपालि एसडीएफलाई 32 मा 32 सीट दिने निर्णय गरिसकेको दाबी पनि उनले आफ्नो सम्बोधनमा गरे। उनले आज उद्घाटन गरिएको यो कार्यालय विशेष रूपमा युवाहरूलाई ध्यानमा राखेर गरिएको जानकारी दिए। कार्यक्रमलाई आरिथाङका विधायक श्याम प्रधानलगायत अन्यले पनि सम्बोधन गरे।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया