11 जातलाई जनजाति : यो कुनै व्यवस्थासितको सम्झौता होइन- गिरी

‘हाम्रो मूल मुद्दा गोर्खाल्याण्ड हो। यदि अध्यक्ष बिमल गुरुङको नेतृत्वमा गोर्खा जनमुक्ति मोर्चाले यस मुद्दासँग सम्झौता गरेको भए आज पनि हामी जीटीएको कुर्सीमा नै बसिरहेको हुने थियौं होला। तर हामीले सङ्कटपूर्ण बाटोलाई रोज्यौं, गोर्खाल्याण्डको मुद्दासँग सम्झौता गरेनौं । आज हामीले गोर्खाको छुटेका एघार जनजातिको बील ल्याउने जुन प्रयास गरिरहेका छौं, यो हाम्रो जातिको रैथाने हक र अधिकारको निम्ति हो।’


दार्जीलिङ, 10 जनवरी


गोजमुमो महासचिव रोशन गिरीले सङ्कट झेलेर पनि 11 जातलाई जनजातिको मर्यादा दिलाउन लागिपरिरहेको भन्दै केन्द्रले गोर्खाहरूको मुद्दा सुन्न थालेको अवस्थामा व्यवधान खडा नगरिदिने अनुरोध गरेका छन्।

‘सबैले जातिको हीतमा आफ्नो दलगत, विचारगत सबै स्वार्थ भुलेर गोर्खाको छुटेका एघार जनजातिको बीललाई बाधा पुऱ्याउने कार्य नगरिदिनुहोला,’ गिरीले भनेका छन्,  ‘यो मुद्दाले हाम्रो जातिको भविष्यको मुक्तिको यात्रालाई धेरै सजिलो बनाउने छ।’

गिरीले विज्ञप्ती जारी गर्दै पश्चिम बङ्गाल सरकारले सृजना गरेको कृतिम कानुनी समस्याले उत्पन्न गरेको सङ्कटकालमा समेत आज विमल समूह मोर्चाका नेतृत्वले आफ्नो माटोबाट टाडा रहेर पनि जातिय उन्मुक्तिको निम्ति एउटा सङ्घर्ष गरिरहेको बताएका छन्।

‘मेरो यस विज्ञप्तिलाई लिएर राजनीति गर्ने, गाली गलौज गर्ने काम हुनै सक्छ, तर हामी ती सबै पछि लाग्ने तत्वहरूबाट माथि उठेर जातियहीतको निम्ति काम गर्ने अठोट बोकेर काम गरिरहेका छौं,’ गिरीले भनेका छन्, ‘हाम्रो मूल मुद्दा गोर्खाल्याण्ड हो। यदि अध्यक्ष बिमल गुरुङको नेतृत्वमा गोर्खा जनमुक्ति मोर्चाले यस मुद्दासँग सम्झौता गरेको भए आज पनि हामी जीटीएको कुर्सीमा नै बसिरहेको हुने थियौं होला। तर हामीले सङ्कटपूर्ण बाटोलाई रोज्यौं, गोर्खाल्याण्डको मुद्दासँग सम्झौता गरेनौं । आज हामीले गोर्खाको छुटेका एघार जनजातिको बील ल्याउने जुन प्रयास गरिरहेका छौं, यो हाम्रो जातिको रैथाने हक र अधिकारको निम्ति हो।’

11 जातलाई जनजातिको मर्यादा दिलाउने कुरा कुनै व्यवस्थासँगको सम्झौता नरहेको खुलाउँदै भनेका छन्, ‘यसले हाम्रो गोर्खाल्याण्डको मूल मुद्दालाई बिथोल्दैन बरु झनै शक्तिशाली बनाउँछ। भारत जस्तो बृहत्तम देशमा हाम्रो मुद्दाहरू छिराउनु धेरै सङ्घर्ष गर्नुपर्छ। यो सजिलो काम होइन तर नहुने काम पनि होइन। हाम्रो पार्टीले विभिन्न दैलो, विभिन्न व्यक्तिहरूलाई भेटेर यसको औचित्य बुझाउने, दबाव दिने कामहरू भएको छ। केन्द्रले पनि  अहिले हाम्रो मुद्दालाई सुन्नु थालेको अवस्था छ। हामी दिने ठाउँमा छैनौं, मागेर लिने ठाउँमा छौं।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया