घर खाक : अनित थापाले दिए नयाँ घर बनाइदिने आश्वासन

खरसाङ, 10 जनवरी


तीनधारे महानदी समष्टी अन्तर्गत गिताङ्गे चियाबारीमा आगलागी भएर एक घर खरानी भएको छ। गिताङ्गे निवासी शमशेर राईको दुई कोठा भएको घर जलेर पूर्णरूपमा खरानीमा परिणत भएको छ। उनीहरूले जीउमा लगाएको लुगाबाहेक केही निकाल्न पाएनन्।

गोजमुमो सिविटार गिताङ्गे खण्ड समितिको  सचिव एंव तीनधारे महानदी समष्टीको उप सभापति राजीव थापाले बताए अनुसार गिताङ्गे चियाबारीमा अस्थायी रूपमा कार्यरत् कर्मचारी शमशेर राई र तिनको पाँचजनाको परिवारका सदस्याहरू घरदेखि बाहिर रहेको बेला अचानक घरमा आगलागी हुँदा घरभित्र रहेका भाँड़ाकुड़ा, लुगाफाटा र केही नगद रूपियाँ गरेर जम्मा 60-70 हजारको नोक्सानी भएको बताएका छन्।

परिवारका सबैजना बेकारी नै भएकोले सबै काम गर्न बाहिर गएको समय घरमा आगलागी भएर पूर्णरूपमा घर नष्ट भएको छ। यो आगलागीको घटना बुधबार साँझ 5.30 तिर भएको जानकारी प्राप्त भएको छ। घर जलेर खरानी भएपछि शमशेर राईको परिवार बेघर भएका छन्।

तिनको परिवारलाई छिमेकीकै घरमा आश्रय दिइएको छ। अब गाउँलेहरूद्वारा अस्थायी रूपमा बाँसको घर निर्माण गरिदिने भएको पनि जानकारी प्राप्त भएको छ। घर आगलागी भएर खरानीमा परिणत भएकोले खरासाङ खण्ड विकास कार्यालयबाट राहत सामग्रीहरू जस्तै चामल, दाल, तेल, लुगाहरू , तारपोलिन, ओढ़ने लुगाहरू पनि राहतको रूपमा प्रदान गरिएको छ।

खरसाङ खण्डको रिलिफ कमिटीको इन्द्र शर्मा र कर्मचारीहरू उपस्थित थिए। महानदी ग्राम पञ्चायतको तर्फबाट सचिव सिमला लामाको नेतृत्त्वमा कर्मचारीहरू उपस्थित भएर राहत सामाग्रीहरू वितरण गरिएको छ। शमशेर राई मूलत: बेकारी नै रहेकोले टोकरी, थुन्चे बुन्ने काम गरेर जीवन गुजारा गरिरहेका छन्। तर आफ्नो भएको सानो घर पनि जलेर खरानी भएपछि अब घर निर्माण गर्न निक्कै गाह्रो पर्ने भएको छ।

घर जलेको घटना भएपछि गोजमुमो सिविटार गिताङ्गे खण्ड समितिद्वारा जीटीए बीओए उपाध्यक्ष अनित थापालाई पनि जानकारी गराइएको छ अनि बीओए उपाध्यक्षद्वारा  तिनको घर निर्माण गरिदिने आश्वासन दिएको जानकारी सचिव राजीव थापाले दिएका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया