विनय तामाङको बयानलाई लिएर दिपेन मालेको आपत्ति, भने, ‘जनजातिको मुद्दामा विनय तामाङले दोहोरो राजनैतिक चरित्र अप्नाइरहेका छन्’

कालेबुङ, 11 दिसम्बर: विमल गुरुङ समुहका युवा सल्लाहकार एवं पूर्व सभासद् दिपेन मालेले जनजाति विषय विनय तामाङको वयानलाई लिएर प्रतिक्रिया व्यक्त गरेका छन्। मालेले आज एउटा प्रेस विज्ञप्ति जारी गरेर जनजाति विषय विनय तामाङले दोहोरो राजनैतिक चरित्र अप्नाइरहेको आरोप लगाएका छन्।

माले अनुसार मोर्चा महासचिव रोशन गिरीले अघिबाटै प्रेस विज्ञप्ति जारी गरेर जनजातिको बेल पेश हुनअघि बाधा नपुऱ्याइदिन आग्रह गरिसकेका छन्। एकातिर विनय तामाङले भाजपाप्रति अविश्वास व्यक्त गर्दै बाधा पुऱ्याउने प्रयास गर्दैछन्। अर्कोतिर विनय तामाङले नै फिल्ड भिजिटमा आएका अधिकारीहरूसित बात मारेर विश्वास व्यक्त गरिरहेको कारण यसबाट विनय तामाङको दोहोरो राजनैतिक चरित्र प्रष्ट हुने उनले आरोप लगाएका छन्।

‘विनय तामाङले भारतीय जनता पार्टीको सरकारबाट अझै पनि विश्वास गर्नु भनेको बैली गाईले दुध दिन्छ भनेर उसको पछि हिड्नु जस्तो मात्रै हो भनेका छन्, त्यसो हो भने उनले त्यही भाजपा सरकारको प्रयासमा मन्त्रालयले लिएको निर्णय अनुरूप जनवरी ३, २०१९ को पत्र अनुसार फिल्ड भिजिटमा आएका अधिकारीहरूसँग बात मारेर विश्वास व्यक्त गर्नुको औचित्य के हो?’-मालेले प्रश्न गर्दै भनेका छन्, ‘उनलाई ज्ञात रहोस् कि यो फिल्ड भिजिटको निर्णय त्यही दिन लिइएको हो जुन दिन अध्यक्ष विमल गुरुङको आग्रहमा पार्टीले बीपी बजगाईं अनि लिला कुमार गुरुङलाई जनजाति मन्त्रीसँग भेट गरेर चाप सिर्जना गरेको थियो। उनीहरूले लगभग १ बजे भेटेका थिए भने बेलुकी पाँच बजे मन्त्रालयले यो फिल्ड भिजिटको पत्र पठाएको हो। चाप दिनलाई गरिएको भिडियोलाई स्टन्ट मान्ने अनि त्यसै चापको कारणले आएका अधिकारीहरूलाई दुईहप्ता भित्रमा रिपोर्ट बुझाउ भन्ने कुरा दोहोरो राजनैतिक चरित्र हो।’

उनले दिल्लीमा विमल गुरुङको निर्देशमा गोर्खा जनमुक्ति मोर्चाले निरन्तर कार्य गरिरहेको समस्त देशवासी गोर्खाले देखिरहेको अनि उक्त प्रयासको कारण नै आफूहरूको आशा बजेट सेसनसम्म पुगेको मालेले बताएका छन्। उनले जनजातिको मुद्दा बजेट सेसनमा पास हुने कुरा सासंद एसएस अहलुवालियाले नभनेर मन्त्री जोएल ओराम स्वयंले भनेको दावी गर्दै विनय तामाङले जनतालाई ओझेलमा पार्न विभिन्न टिप्पणीहरू गरिरहेको आरोप लगाएका छन्।

यसरी नै उनले जनजातिको मुद्दालाई विनय तामाङले स्टन्ट रहेको बताउनु हास्यस्पद रहेको अनि यस मुद्दामा तामाङ स्वयंले श्रेय लिन खोजिरहेको आरोप लगाएका छन्।

‘तामाङले एघाह्र जनजातिको मुद्दामाथि र माटोको मुद्दामाथि जसले वचन दिन्छ हामी उसैसित गठबन्धन गर्छौं भनेका छन्। यसको अर्थ आगामी लोकसभाको बजेट सत्रमा गोर्खाको एघाह्र जनजाति बील आयो भने उनले ममता ब्यानर्जीको विरुद्धमा बीजेपीको निम्ति भोट माग्न सक्छन?’-मालेले प्रश्न गर्दै भनेका छन्, ‘यो कुरा जनताअघि स्पष्ट गरेको हुनुपर्छ, माछा देख्दा दुलोमा हात अनि साँप देख्दा पाखा हात गर्नु हुँदैन।’

यसरी नै उनले विनय तामाङले दिल्लीमा 25 हजार कार्यकर्ता लगेर धर्ना दिने बचन पूरा गरिदिएको भए मुद्दालाई टेवा पुग्नेथियो भन्दै अहिले भाजपाको कार्यकालमा जनजाति हुँदैन भन्ने विनय तामाङले अहिले मन्त्री जोएल ओरमको दोस्रो भिडियो आएपछि स्वर बद्लिन शुरू गरेको पनि मालेले आरोप लगाएका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares